टोखामा २५ करोड पैसा बरामद भएको मुद्दामा भरिया कुसाङ लामालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।
न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले बुधबार लामालाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
उनलाई बुधबार नै थुनामा पठाइएको छ।
'बरामद बिगो, प्रतिवादीउपरको अभियोग दाबी, चोरी पैठारी मुद्दामा पहिले पनि सजाय भुक्तान गरेका लगायतका आधारहरू देखाएर पछि प्रमाणअनुसार हुनेगरी अहिले थुनामा राख्नु भन्ने आदेश भएको छ,' उनले भने।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ४ गते काठमाडौंको टोखा नगरपालिका-२ झोरबाट उक्त ट्रक नियन्त्रणमा लिएको थियो।
उक्त टोलीले जाँच गर्दा ट्रकभित्र २५ करोड बराबरको विदेशी मुद्रा बरामद भएको थियो। उक्त घटनामा कुसाङ लामा पक्राउ परेका थिए।
२५ करोड बराबरको विदेशी मुद्रा बरामद भएको घटनामा २५ करोडका मालिकलाई पक्राउ नगरी राजस्व अनुसन्धान विभागले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
कुसाङ भरिया हुन् भने नारायण २५ करोडका मालिक हुन्। उनीहरूविरूद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत मुद्दा दायर भएको थियो।
'फरार रहेका व्यक्ति पक्राउ परेपछि बाँकी प्रक्रिया सुरू हुनेगरी तत्कालका लागि पक्राउ परेकालाई थुनामा पठाउने आदेश भएको हो,' सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।