पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिम नेपालका केही स्थानमा वर्षा भएको छ।
पछिल्लो तीन घन्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
महाशाखाकाअनुसार पछिल्लो तीन घन्टामा कास्कीको चोम्रोङमा ४.८ मिलिमिटर वर्षा भएको छ। मनाङको तालमा २.४ मिलिमिटर वर्षा भएको छ। मनाङकै तिल्चेमै ०.६ मिलिमिटर वर्षा भएको छ।
गोरखाको बारपाकमा १.८ मिलिमिटर वर्षा भएको छ। त्यस्तै डडेलधुराको एक–दुई केन्द्रमा वर्षा भएको रेकर्ड भएको छ। त्यस्तै कोशी प्रदेशका केही स्थानमा पनि वर्षा भएको छ। लुक्ला विमानस्थलमा ०.७ मिलिमिटर वर्षा भएको छ।
देशका पश्चिमी र पूर्वका केही स्थानमा वर्षा भए पनि काठमाडौंमा वर्षाको सम्भावना न्यून रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए।
‘पश्चिमी वायुको प्रभाव हिजो (शुक्रबार) रातिदेखि नेपालमा परेको छ,’ उनले भने, ‘पश्चिम नेपालदेखि गण्डकीसम्म वर्षा हुने सम्भावना राम्रै छ। तर काठमाडौंमा भने वर्षाको सम्भावना थोरै छ।’
उनले यो प्रणालीले हिमाली भेगमा हिउँ पार्ने सम्भावना देखाएको पनि बताए।
मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझदेखि आइतबार बिहानसम्म देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताएको छ।
लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।