यस वर्षको मनसुन याममा गत वर्षभन्दा पाँच गुणाले मानवीय क्षति भयो।
यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो भने असोज २६ गते बाहिरियो।
सरदरभन्दा छिटो भित्रिएको र ढिला बाहिरिएको मनसुनले यस वर्ष ठूलै विपद निम्त्यायो।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालि गत वर्षको तुलनामा ५ सय ३७ प्रतिशतले बढी मानवीय क्षति भयो।
गत जेठ २८ देखि असोज २६ गतेसम्मको अवधिमा ४ सय ९४ जनाको मृत्यु भएको थियो। ६६ जना बेपत्ता, ५ सय ३२ जना घाइते भएको प्राधिकरणले जानकारी दिएको छ।
यसबीचमा २ हजार १ सय ३६ मनसुनजन्य घटना भएका थिए। यसबाट ५ हजार ९ सय ३७ परिवार प्रभावित बनेको प्राधिकरले बताएको छ।
गत वर्ष जेठ ३१ देखि असोज २८ सम्मको अवधिमा ८ सय ९१ वटा मनसुनजन्य घटना भएका थिए। जसमा ९२ जनाको मृत्यु, ३० जना बेपत्ता, १ सय ६८ जना घाइते भएका थिए। प्रभावित परिवारको संख्या भने ६ हजार १ सय २८ थियो।
यस वर्ष ३ सय ९७ स्थानमा बाढीले क्षति पुर्यायो। जसमा ९० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता र ४५ जना घाइते भएका थिए।
जसबाट २ हजार २ सय २७ परिवार प्रभावित भएको तथ्यांक छ।
यस वर्षको मनसुन अवधिमा ९ सय ४३ स्थानमा पहिरोका घटना भएका थिए। जसबाट ३ सय ४३ जनाको मृत्यु, ४८ जना बेपत्ता, २ सय ७६ जना घाइते र १ हजार ५ सय ६१ परिवार प्रत्यक्ष प्रभावित बनेको प्राधिकरणको तथ्यांक छ।
यस वर्ष भारी वर्षाको पनि उल्लेख्य घटना भयो। यसपालि ५ सय ३८ स्थानमा भारी वर्षा भएको तथ्यांक छ। जसबाट ९ जनाको मृत्यु भयो भने ३८ जना घाइते भएका थिए। भारी वर्षाबाट १ हजार ८ सय १४ परिवार प्रभावित भएको प्राधिकरणले बताएको छ।
यस वर्षको मनसुन याममा चट्याङका पनि उल्लेख्य घटना भए। मनसुन याममा २ सय ५८ वटा चट्याङ भएकामा जसबाट ५२ जनाको मृत्यु, १ सय ६४ जना घाइते र ३ सय ३५ परिवार प्रभावित बनेको प्राधिकरणले उल्लेख गरेको छ।
गत वर्ष जेठ ३१ देखि असोज २८ गतेसम्म चार महिनाको अवधिमा १ सय ४२ वटा बाढीका घटना भएका थिए। जसबाट १६ जनाको मृत्यु, २१ बेपत्ता, ७ घाइते, ३ हजार ७ सय २६ परिवार प्रभावित थिए। पहिरोका घटना ४ सय ५९ वटा थियो। जसबाट ४५ जनाको मृत्यु, ९ बेपत्ता, ५० जना घाइते थिए। १ हजार ९ सय ४८ परिवार प्रभावित भएका थिए। गत वर्ष भारी वर्षाको घटना १ सय ६८ थियो। जसबाट २ जनाको मृत्यु, १२ जना घाइते, २ सय ६३ परिवार प्रभावित थिए।
गत वर्ष चट्याङका घटना १ सय २२ वटा थियो। जसबाट २९ जनाको मृत्यु, ९९ जना घाइते र १ सय ९१ परिवार प्रभावित थिए।
७७ वर्षयताकै उच्च वर्षा
यस वर्ष औसतभन्दा बढी वर्षा भयो। जसको पूर्वानुमान मौसम विज्ञागले यसअघि नै गरेको थियो। गत वैशाखको अन्तिम साता मौसम विश्लेषण गर्दै विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतसम्म रहेको आकलन गरेको थियो।
जेठ २८ देखि असोज २६ गतेसम्मको अवधिमा १ हजार ६९१.३ मिलिमिटर वर्षा भयो। जबकि यस अवधिमा १ हजार ४९४.४ मिलिमिटर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विगत ३० वर्षको वर्षाको स्थिति हेरेर विभागले औसत वर्षा निकाल्ने गर्छ।
यसपालिको मनसुन याममा सरदरको तुलनामा १६ प्रतिशतले बढी वर्षा भएको विभागले जानकारी दिएको छ।
त्यसका अतिरिक्त यस वर्ष कञ्चनपुरको दोधारा वर्षा केन्द्रमा ७७ वर्ष यताकै एकै दिनमा धेरै पानी पर्यो।
गत असार २४ गते बिहान मापन गरिएको तथ्यांकअनुसार कञ्चनपुरको दोधारा केन्द्रमा २४ घन्टा (असार २३ र २४ गतेको) को अवधिमा ६२४ मिलिमिटर वर्षा भएको थियो। कञ्चनपुरकै हनुमाननगर वर्षा केन्द्रमा ५३७.६, सुन्दरपुर केन्द्रमा ५५५.८ मिलिमिटर वर्षा भएको थियो। यी दुई केन्द्रको पनि २४ घन्टाको अवधिमा रेकर्ड भएको वर्षा हो।
एक घन्टामा सय मिलिमिटर वर्षा भएकाले कञ्चनपुरको रेकर्ड ब्रेक वर्षालाई विभागले ‘तराई क्लाउडब्रस्ट’ समेत भनेको थियो।
मनसुनको उत्तरार्द्ध, असोज १०, ११ र १२ गते कोशीदेखि लुम्बिनी प्रदेशसम्म भीषणा वर्षा भयो। त्यतिबेला काठमाडौंको पाँच स्थानसहित देशका २५ स्थानमा 'रेकर्डब्रेक' वर्षा भयो।
काठमाडौंको पानीपोखरीमा २०२८ सालयताकै ठूलो वर्षा मापन गरियो। त्यहाँ २०२८ जेठ ३१ गते १९८.० मिलिमिटर वर्षा मापन गरिएकामा गत असोज १० देखि १२ गतेसम्मको अवधिमा २०६.६ मिलिमिटर वर्षा भयो।
काठमाडौंको पानीपोखरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बूढानीलकण्ठ, जितपुरफेदी, नागार्जुनमा रेकर्ड ब्रेक वर्षा भयो। ललितपुरको गोदावरी, खुमलटार, टिकाथली, खोकना, चापागाउँमा पनि यसअघिका रेकर्ड ब्रेक भयो।
मकवानपुरको दामनमा असोज १० देखि १२ गतेसम्मको अवधिमा ४१० मिलिमिटर वर्षा मापन भयो। यसअघि त्यहाँ सन् १९९३ को २३ जुलाइमा ३७३.२ मिलिमिटर वर्षा मापन भएको थियो विभागसँग तथ्यांक छ। काभ्रेपलाञ्चोकको खोपासीमा असोज १० देखि १२ गते नै ३३१.६ मिलिमिटर वर्षा भयो। त्यहाँ २०१५ को सेप्टेम्बर ३ मा २७६.९ मिलिमिटर पानी परेको विभागसँग तथ्यांक छ।
असोजे झरीले काभ्रेको रोशी नदी किनार क्षेत्र, सुनकोशी नदी किनार क्षेत्र तहसनहस बनायो। काठमाडौं उपत्यकाका नदी किनारसहित दक्षिण ललितपुरका गोदावरी नगरपालिका, कोञ्ज्योसोम, बामगती र महांकाल गाउँपालिकामा सर्वाधिक क्षति पुर्यायो।
सरकारले २० जिल्लाका ७१ वटा स्थानीय तहलाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।
कुन प्रदेशमा कति क्षति?
यसपटकको मनसुनजन्य गतिविधिबाट बागमती प्रदेशमै धेरै क्षति भयो। विपत्तिका घटना कोशी प्रदेशमा ६७८ भए पनि बागमती प्रदेशमा २७६ जनाको मृत्यु भयो। असोज १० देखि १२ गतेसम्मको वर्षाले नै बागमती प्रदेशमा बढी क्षति गरायो।
मनसुनजन्य घटनाबाट कोशीमा ५५, मधेसमा १६, बागमतीमा २७६, गण्डकीमा ५७, लुम्बिनीमा ४५, कर्णालीमा २२, सुदूरपश्चिम प्रदेशमा २३ जनाको मृत्यु भएको तथ्यांक छ।
चार महिनाको मनसुनको अवधिमा १७ सरकारी कार्यालय ९६ विद्यालय, ११ स्वास्थ्य चौकी, १०९ वटा झोलुंगे पुलमा क्षति पुगेको तथ्यांक गृह मन्त्रालयसँग छ। त्यस्तै, ४२ वटा पक्की, बेलिब्रिज पुल, २७ जलविद्युत आयोजनामा क्षति पुगेको छ।
निजी आवासतर्फ २ हजार ९०२ घर पूर्णरूपमा क्षतिग्रस्त र ७ हजार ८६६ घरहरूमा आंशिक क्षति पुगेको मन्त्रालयको तथ्यांक छ।
विपदमा कहाँ चुक्यो सरकार?
विपद व्यवस्थापनमा यसपटक पनि अघिल्लो वर्षको कमजोरी दोहोरिएको विज्ञहरूको बुझाइ छ। असोज १० देखि १२ गतेसम्म देशभर मनसनी वायु सक्रिय नै रहेको र बंगालको खाडी आसपास विकास भएको पानी पार्ने अर्को प्रणाली नेपालतिर सरेकाले विपद निम्त्याउन सक्ने आकलन महाशाखाले गरेको थियो।
त्यसबेला अरब सागरबाट पनि अर्को पानी पार्ने प्रणाली नेपालतिर घँचेटिइरहेको भन्दै विषम मौसमी घटना हुने प्रक्षेपण महाशाखाको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तदनुसार तयारी गर्न सकेन। दुरदराजमा होइन, काठमाडौं उपत्यकाका नख्खुमा भेलले तीन जना नागरिक बगाउँदा पनि उद्धार हुन सकेन।
काठमाडौं उपत्यकाका नदी किनारका क्षेत्र जलमय हुनपुगे।
असोज १० अगावै नदी किनार खाली गराउन सक्ने अवस्था हुँदाहुँदै सरकारका निकायले उदासीनता देखाएको कतिपय विज्ञको बुझाइ छ।
जल तथा मौसम विज्ञान विभाग मातहत रहेको मौसम पूर्वानुमान महाशाखाले मनसुन प्रणाली कस्तो बन्दैछ कहाँकहाँ पानी पर्छ भनेर भन्नसक्ने क्षमताको विकास गरेको छ।
यसको पूर्वानुमानमा शंका गर्नुपर्ने ठाउँ अब देखिएन।
गत असार २३, २४ को रेकर्ड ब्रेक वर्षाको पूर्वानुमान महाशाखाले गरेको थियो। सरकारी निकाय ‘अलर्ट’ पनि भएका थिए। असोज १० देखि १२ गतेसम्म कोशीदेखि लुम्बिनीसम्म घनघोर वर्षा हुने प्रक्षेपण भएकै थियो।
महाशाखाले कुन–कुन ठाउँमा पानी पर्छ भनेर भन्ने सक्ने पूर्वानुमान प्रणालीको विकास गरे पनि त्यहाँ केकस्तो प्रभाव पर्छ भनेर भन्नसक्ने अवस्था नरहेको इन्जिनियरिङ अध्ययन संस्थान, विपद अध्ययन केन्द्रमा निर्देशक बसन्तराज अधिकारी बताउँछन्।
‘जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कहाँ कति पानी पर्छ भनेर भन्न सक्ने भयो। तर त्यसको प्रभाव कहाँ के कस्तो पर्छ भनेर भन्न सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘प्रभावमा आधारित मौसम पूर्वानुमान गर्न स्थलगत अध्ययनको जरूरी पर्छ। मनसुनजन्य गतिविधि हुँदा कहाँ के असर पुर्याउँछ भनेर भन्न नसक्दा पनि यसपालि बढी क्षति भयो।’
उनले नागरिक तथा राज्यका निकायले नै सूचनाको बेवास्ता गरेको औंल्याए।
मौसम पूर्वानुमान महाशाखाले ‘रेड अलर्ट’ लगाउँदा लगाउँदै नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी चलाउँदा असार २८ गते सिमलतालमा दुइटा यात्रुवाहक बस बगेको घटना उनले सम्झिए।
त्यसदिन भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालनजिकैको सिन्दुरेखोल्सामा आएको भेलबाढीले काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस बगाएको थियो। जसमा परी ६२ यात्रु बेपत्ता भएका थिए। ३ जना पौडिएर बाँचेका थिए। ६२ मध्ये २४ जनाको मात्रै शव फेला परेको थियो।
त्यस्तै प्रकृतिको घटना काठमाडौंको नागढुंगा चेकपोस्टनजिकै झ्याप्ले खोलामा भयो। त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङ, धुनिबेसी नगरपालिका–९ को झ्याप्ले खोलामा ३ वटा यात्रुवाहक बस पुरिएको थियो। जसमा परी ३५ जनाको मृत्यु भएको थियो।
‘मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेकै थियो।
‘रेड अलर्ट’ पनि लगाएको थियो। सरकारका निकायले त्यो बाटो भएर राति यात्रा नगर्न भनेकै थिए। तर सरकारकै अर्को निकाय (धादिङ, चितवन जिल्ला प्रशासन कार्यालय, स्थानीय तह) ले त्यसको पालना गरेको पाइएन। जसले ठूलो मानवीय क्षति भयो,’ उनले भने।
यसका साथै महाशाखाको सूचना पछ्याउँदै विपद व्यवस्थापनका लागि आवश्यक तयारी गर्न तीनै तहका सरकार चुकेको पनि अधिकारीले बताए।
असोज १० देखि १२ गतेसम्मको वर्षाले रोशी र काठमाडौं उपत्यकाका नदी किनारमा बढी क्षति पुर्याउनुमा चाहिँ मानवीय कारण पनि जिम्मेवार रहेको उनले औंल्याए।
रोशीको उद्गम थलो महाभारत लेकआसपास अवैधरूपमा सञ्चालित क्रसर, ढुंगाखानीले रोशीको भूमेडाँडा, मल्पीलगायत तल्लो तटीय क्षेत्रमा विध्वंश मच्चिएको उनले बताए।
जथाभावी खनिएका ग्रामीण सडक, सडक निर्माण गर्दा निस्किएको माटो–ढुंगा जथाभावी फाल्दा त्यसले डेब्रिज फ्लो (गेग्रान बहाव) निम्त्यायो। यसपालि गेग्रान बहावले खेतीयोग्य जमिन र बस्ती नै कटान गर्यो।
त्यसका अतिरिक्त जोखिम संवेदनशील भू–उपयोग योजना तर्जुमा र कार्यान्वयन अपरिहार्य बनिसकेको उनले बताए।
कहाँ, कस्तो घर बनाउने भन्ने नीति बनाएर कार्यान्वयन गर्न नसक्दा बर्सेनि यस्तै प्रकृतिको क्षतिको लेखाजोखा गर्नुबाहेक हामीसँग अरू विकल्प नहुने उनको बुझाइ छ।
‘घर बनाउन आफ्नो नाममा जग्गा हुनुपर्यो। नक्सा बन्नुपर्यो। त्यसबाहेक अरू हेर्ने चलन नै छैन। कहाँ घर बनाउने? घर बनाउँदा पहिरो, बाढी, अरू प्रकृतिको जोखिमको अवस्था छ कि छैन भनेर हेर्दै हेरिँदैन। घर बनाउन अनुमति दिने स्थानीय तहको ध्यान त्यता पुगेकै छैन। अबचाहिँ जोखिम संवेदनशील भू–उपयोग योजना बनाएर लागू गर्नुपर्यो,’ उनले भने।
यो पनि:
राजनीति र प्रशासनको आडमा चलाएको अवैध क्रसर-ढुंगा खानीले निम्त्यायो रोशीमा विध्वंश