साढे २ वर्षीया ती बालिकाकी आमाले महोत्तरीको बर्दिबासमा फेन्सी पसल चलाएर बसेकी थिइन् छिमेकी आएर बालिकासँग खेलिरहेका थिए। उनी अरू दिन पनि आउने र बालिकासँग खेल्ने गर्थे। करिब १० मिनेटपछि ती मान्छेले नानीलाई लिएर गए। आमाले यता उता हेरिन् तर देखिनन्। भोलिपल्ट दिउँसोसम्म पनि बालिका भेटिइनन्। साँझतिर बल्ल बालिकालाई प्रहरीले पसलभन्दा २ किलोमिटर परको झाडीमा भेट्यो। प्रहरीले उनलाई भेट्न त भेट्यो तर मृत अवस्थामा।
२०७६ साल पुस ६ गतेको घटना हो यो।
गीता केसी दर्नाल ललितपुरस्थित इमाडोलको आफ्नै घरमा साढे २ वर्षका छोरासँग बसिरहेकी थिइन्। आफ्नै छोराको उमेर समानकी बालिकाको बलात्कारपछि हत्या भएको घटनाले उनलाई नराम्ररी निमोठ्यो।
भोलिपल्ट पनि गीताले ती आमाले आफ्नी छोरीलाई अंगालो हालेर रोइरहेको भिडियो हेरिन्। त्यो समाचार निकै समयसम्म आइरह्यो बालिकाबारे आएको समाचार गीताले नछुटाइ हेरिन्।
लगातार तीन/चार दिनसम्म आइरहेको एउटै समाचारले गीतालाई उद्वेलित बनायो। ‘आफू पनि आमा भएकाले होला सायद म त्यतिखेर साह्रै डिस्टर्ब भएँ,’ गीताले भनिन्।
२०७६ साल माघ १ गते रूपन्देही तिलोत्तमामा पाँच वर्षीया बालिकामाथि बलात्कार भयो। ती नानीका बुवासँगै काम गर्ने मानिसले फकाएर लगेपछि बलात्कार गरेका थिए।
बलात्कारमा परेपछि बालिका बेहोस भइन्। पीडकले उनलाई त्यहीँ छोडेर खाल्डो खनेर पुर्न भनेर कोदाली खोज्न गए। त्यही बेला बालिकालाई खोज्दै गएका अभिभावकले भेटे र तत्काल अस्पताल पुर्याए।
त्यहाँबाट ती बालिकालाई रातारात काठमाडौंको टिचिङ अस्पताल ल्याइयो। गीता माघ २ गते उनलाई भेट्न टिचिङ अस्पताल पुगेकी थिइन। तर त्यसदिन भेट्न पाइनन्। १५ दिनपछि उनी फेरि गइन्।
त्यस दिन भने बालिका बोल्न सक्ने अवस्थामा त थिइन् तर उनको पाठेघर ड्यामेज भएकाले निकालेर फालिएको थियो। उनी पिसाब फेर्दा अचाक्ली दुखेर रून्थिन्। बालिकासँगै रोइन् गीता पनि।
त्यतिबेलासम्म बालिकाको उपचारमा परिवारको डेढ लाख खर्च भइसकेको थियो। तर सरकारले सहयोग गरेको थिएन। मजदुरी गरेर जिविका चलाइरहेका उनीहरूका लागि डेढ लाखको जोहो गर्नु आफैमा कठिन काम थियो।
‘यस्तो बेला सरकारले सहयोग गर्न पर्ने हो तर केही पनि छैन। ती बालिकाका बुवाले अहिलेसम्म कसैले सहयोग गरेको छैन भन्नुभयो,’ गीताले भनिन्, ‘मैले दुई चार जनालाई भनेर ६० हजारजति पैसा संकलन गरेर उहाँलाई बुझाएँ। त्यसपछि मलाई अब त केहि गर्नु पर्छ भन्ने लाग्यो।’
त्यसअघि पनि उनी व्यक्तिगत रूपमै विभिन्न सामाजिक काममा सक्रिय थिइन्। कहिले विपन्न बालबालिकालाई लत्ताकपडा र किताब बोकेर काभ्रेको चौरीदेउराली पुग्थिन्, कहिले मधेसका देहाततिर।
तर यी दुई घटनाले भने उनलाई अब केही गर्नुपर्छ भन्ने लाग्यो। बालिकाहरूका लागि अब त केही गर्नुपर्छ भनेर सोच्दा सोच्दै कोभिडले छपक्कै छोपिहाल्यो। कोही पनि बाहिर निस्किन सक्ने अवस्था रहेन,गीता पनि घरभित्रै भइरहिन्।
‘आफ्नो बच्चा भएपछि मन झन् पोल्दो रहेछ। मैले राति सपनामा पनि ती नानीहरूलाई देखेँ। मेरो दिमाग नै घुम्यो,’ गीताले भनिन्, ‘भोलिपल्ट त्यही घटना दिमागमा आउँछ, पर्सीपल्ट त्यस्तै घटना आउँछ, ती घटनाहरूले मलाई साह्रै गाह्रो भयो।’
यो पनिः बुवा, काका, मामा, शिक्षक र छिमेकीबाट बलात्कृत १४ बालिका
त्यसपछि उनी जघन्य यौन हिंसामा परेका बालिकाहरूका लागि के गर्न सकिन्छ भनेर खोजी गर्न थालिन्।
‘यी दुई घटना प्रतिनिधिमात्रै थिए। यस्ता बच्चा त कति छन् कति छन् भन्ने लाग्यो। साथी, ओरेकजस्ता संस्था छन्। ती संस्थाहरूले महिला केन्द्रित भएरमात्रै काम गर्छन् तर बालिका केन्द्रित भएर काम भएको छैन,’ उनले भनिन्, ‘सरकारको डाटा अनुसार पनि दिनमा यौन हिंसामा पर्ने ७ जना महिलामा ५ जना त बालिका नै हुन्छन्। त्यसैले केही गर्नपर्छ भन्ने नै लाग्यो।’
त्यसपछि उनले अब बालिकाहरूका लागि गर्न सकिने संभावित काम बारे अध्ययन सुरू गरिन्। २०७८ पुस ७ गते उनले साझा सहयात्री नामको संस्था दर्ता गरिन्।
२०७९ वैशाखदेखि उनले संस्थामा बालत्कारमा परेर गाउँ छोड्न बाध्य भएका नानीहरूलाई राख्न थालिन्। सुरूमा ९ जना बालिका राखेर सुरू गरेको उनको संस्थामा अहिले १४ जना बालिका छन्।
उनले बालिकाहरू राख्नका लागि आफ्नै घरका कोठाहरू प्रयोग गरेकी छन्। यो दुई वर्षमा सरकारी तथा गैरसरकारी संस्थाबाट सहयोग पाएकी छैनन्।
‘भएभरका गहना बेचेँ। ऋण काडेँ। बालिका राख्न आफ्नै घर प्रयोग गरेँ,’ उनले भनिन्, ‘मनकारीहरूले कहिलेकाँही खाद्यान्नमा सहयोग गर्नुभएको छ। तर त्यसले कति नै पुग्छ र!’
१४ जना बालिकाहरूको शिक्षा, खाना, मानसिक परामर्शलगायतको खर्च मासिक ८० हजारसम्म हुने गीताले बताइन्।
उनले बालिकहरूको समस्या र आफूले गरिरहेको कामबारे महालक्ष्मी नगरपालिका र संघीय सरकारको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण मन्त्रालयलाई जानकारी पनि गराएकी छन्।
तर अहिलेसम्म सकारात्मक प्रतिक्रिया भने कतैबाट पाएकी छैनन्।
‘हामीले नगरपालिका र मन्त्रालयमा पनि जानकारी गराएका छौं। तर सरकारी तवरबाट सहयोग पाएका छैनौं,’ गीताले भनिन्, ‘अहिले पनि मासिक ८० हजार खर्च भेट्छ। सानोतिनो खर्च त गणना नै हुँदैन। हामीले खानामा कम्प्रमाइज् गरेका छैनौं। स्कुल लन्च, ट्रान्सपोर्टेसन गरेर एकजनाको शिक्षामा मात्रै ४ हजार जति खर्च आउँछ।’
धन्न नानीहरू अहिलेसम्म ठूलो बिरामी परेका छैनन्। त्यसैले औषधी उपचारमा ठूलो खर्च गर्न परेको छैन। यत्ति कुराले पनि गीतालाई खुसी नै बनाउँछ।
उनी खुसी हुने अर्को कुरा पनि छ, नानीहरूको मेहनत र लगन। पढाइमा सबैजना एक से एक छन्। परीक्षामा सबैले ए प्लस ल्याउँछन्। अतिरिक्त क्रियाकलापमा पनि अब्बल छन् उनीहरू। घरको भित्ता नानीहरूले जितेको प्रमाणपत्रहरूले ढपक्कै ढाकिएको छ।
चलिरहेको संस्था अहिले त्यही बसिरहेका नानीहरूले सञ्चालन गरून् र उनीहरूले आफूजस्तै पीडित बालिकाका लागि काम गरून् भन्ने एउटै सपना छ गीताको।
यस्ता बालिका राखिदिन पर्यो भनेर उनलाई दिनकै फोन आउँछ। उनलाई अरू बालिका पनि राख्न त मन छ तर पैसाको अभावले सकेकी छैनन्। उनको घरमा जति कोठाहरू छन् ती सबै भरिभराउ छन्।
‘तर मुख्य त आर्थिक पाटो नै आउँछ। चार आनामा बनेको घर छ। स्पेस त यतिमात्रै हो नि। उनीहरूको भविष्य बेटर होला भनेर गरेको हो। सबैले एउटा न एउटामा राम्रो गरिरहेका छन्। त्यो पनि प्लस पोइन्ट हो नि त, यिनै १४ जनाले पछि यही संस्था लिड गर्ने हो,’ उनले संवादको बिट मारिन्, ‘विभिन्न ठाउँमा पर्पोजल बुझाएका छौं सहयोग आयो भने सजिलो पनि हुन्थ्यो।’
सबै तस्बिरः बिनु सुवेदी/सेतोपाटी।