मकवानपुर र सर्लाहीमा पछिल्लो ६ घन्टामा धेरै भारी वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घन्टामा मकवानपुरको सिलिंगेमा ११२.२ मिलिमिटर र सर्लाहीको पूर्वी पथारकोटमा ११४.४ मिलिमिटर वर्षा मापन भएको छ।
पछिल्लो तीन घन्टामा सिलिंगेमा ६९.४ मिलिमिटर र पथारकोटमा ३३.४ मिलिमिटर वर्षा मापन भएको छ।
सिलिंगे र पथारकोटमा अहिले पनि पानी परिरहेको छ।
विभागका अनुसार सिलिंगेमा एक घन्टामा ४.६ मिलिमिटर र पथारकोटमा २१ मिलिमिटर वर्षा मापन भएको छ।
१० मिलिमिटरसम्म हल्का वर्ष त्यसपछि मध्यम र ५० मिलिमिटर भन्दा बढी मापन भए भारी र १०० मिलिमिटरभन्दा माथि वर्षा भए धेरै भारी वर्षा भनिन्छ।
![449015158_1546173899295255_3537555058892283629_n-1719544390.png](https://www.setopati.com/uploads/posts/449015158_1546173899295255_3537555058892283629_n-1719544390.png)
मनसुनको न्यूनचापीय रेखा उत्तरतर्फ नेपाल नजिक रहेकाले शुक्रबारदेखि बढी पानी पर्ने आकलन विभागको छ।
आज गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी दिएको छ।