सिधा कुरा डटकमले 'द डार्क फाइल' शृंखलाका समाचारहरू स्थगित गरेको छ।
अदालतका न्यायाधीश, केही वरिष्ठ वकिल र मिडिया सञ्चालकहरूलाई मुद्दा मिलाएको आरोप लगाउँदै बनाएका समाचार सामग्री प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार प्रकाशन/प्रसारण स्थगन गरिएको सिधा कुराले आफ्नो वेबसाइटमा लेखेको छ।
'सिधा कुरामा प्रकाशित द डार्क फाइल शृंखलाका समाचारको सम्बन्धमा प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढेका कारण हाललाई सो शृंखलाका प्रकाशित सामग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको छ,' उसले भनेको छ।
सोमबारै सर्वोच्च अदालतले उक्त शृंखलामा प्रकाशित/प्रसारित 'चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन' लगायत शीर्षकमा सिधा कुराले लेखेका समाचार २४ घण्टाभित्र हटाउन आदेश दिएको थियो। त्यस्तै 'फलोअप' नगर्न पनि आदेश दिएको थियो।
अदालतले ती आदेश हटाउन लगाउन प्रेस काउन्सिल र पत्रकार महासंघलाई पनि भनेको थियो।
सर्वोच्चले सिधा कुराका ती समाचारमाथि विस्तृत अनुसन्धान गरी फौजदारी कानुन उल्लंघन गरेको देखिए कारबाही अघि बढाउन प्रहरीलाई समेत आदेश गरेको छ।
'पेस भएका श्रव्यदृश्यमा उठाइएका विषयवस्तुका सत्यतथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लंघन गरेको देखिएमा कानुन बमोजिम कारबाही समेत अगाडि बढाउनू र सोको प्रतिवेदन सहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् यस अदालतमा पेस गर्न प्रहरी महानिरीक्षकलाई लेखी पठाउनू,' अदालतको आदेशमा उल्लेख छ।
समाचारमा उल्लिखित सामग्री भ्रामक र अदालतको जनआस्थामा असर पुर्याउने खालका भएको भन्दै सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले उठाएको प्रतिवेदनमा न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यस्तो आदेश दिएको हो।