भरतपुर महानगरपालिकाले विपन्न समुदायका किसानलाई प्रोत्साहन गर्न बाख्रा र हाँसका चल्ला वितरण गरेको छ।
निर्वाहमुखी पशुपालन कार्यक्रमअन्तर्गत वडा नम्बर २२ स्थित नवमहिला कृषक समूहमा आवद्ध किसान परिवारलाई सहयोग गरिएको हो।
१९ जना किसानलाई ५० वटा दरले हाँस र २० जनालाई दुइटाका दरले बाख्रा र दुइटा बोका वितरण गरिएको हो।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताइन्।
यो कार्यक्रममार्फत बाख्रा, बंगुर, कुखुरा र हाँस वितरण गरिने उनले बताइन्।
महानगरले राम्रो प्रतिफल दिने किसानलाई पुरस्कृत पनि गर्नेछ।
भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले स्थानीय सरकारको सहयोग व्यावसायिक कृषि गर्नेले मात्रै सहयोग पाउन नहुने बताए।
उनले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने गरेको अवस्थामा निर्वाहमुखी कृषिकर्म गर्दै आएका किसानलाई सहयोग गरिएको बताए।
बाख्रा र हाँस पाएपछि कृषकहरुले जीविकोपार्जनमा सहयोगी हुने बताए।
नवमहिला कृषक समूहका अध्यक्ष कष्णकुमारी महतोले हाँसबाट भएको कमाइ छोराछोरीको पढाइमा खर्च गर्ने बताइन्।
उनले यो सहयोगले विपन्न किसानको जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास गरेकी छन्।