बुटवल उपमहानगरपालिकाले जिल्लामै पहिलोपटक विभिन्न भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ। कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि मंगलबारदेखि यो बडापत्र सञ्चालनमा ल्याइएको हो।
बुटवल उपमहानगरमा बसोबास गर्ने बहुसंख्यक समुदायलाई समेट्नका लागि सबै भाषामा नागरिक बडापत्र तयार गरी सार्वजनिक गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको सचिवालयका अनुसार बुटवलले यसअघि प्रयोगमा रहँदै आएको नेपाली भाषाको नागरिक बडापत्रको अलावा नेवारी (नेपाल भाषा), मगर भाषा र थारू भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको हो।
बसोबासको अनुपातका आधारमा हाललाई ४ वटा भाषामा नागरिक बडापत्र बनाइएको र क्रमशः यसलाई सबैभाषा भाषीलाई सम्वोधन हुनेगरी समेटीने उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जनसंख्याको आधारमा बडापत्र राखिएको बताए। राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८ नेपाल भाषा बोल्ने ३ र थारू भाषा बोल्ने ४.९ प्रतिशत जनसंख्या रहेको छ।
बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्नेछन्। आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ। सो कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिने छ। कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी नागरिक बडापत्र राख्नुपर्ने ऐनको व्यवस्था छ।