काठमाडौंको धुम्बाराही बस्ने संगीता तामाङले केही महिना अघि सामाजिक सञ्जाल फेसबुकमा एउटा कन्सल्टेन्सीको विज्ञापन देखिन्।
नियोनी एडुकेसन प्रालि नामको फेसबुकबाट जापानमा रहेको इन्टरनेशनल युनिभर्सिटी हेल्थ एण्ड वेलफेयरले विद्यार्थी माग गरेको भन्ने विज्ञापन थियो।
जापान पढ्न जाने अवसर ठानेर तामाङले घर परिवारसँग सल्लाह गरेर नियोनी एडुकेशन प्रालिमा सम्पर्क गरिन्। कन्सल्टेन्सी कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर २९ पुतलीसडकमा रहेको थाहा पाइन्।
जापान जान भाषा अनिवार्य छैन भनिएकोले पनि तामाङले यसलाई सहज हुन्छ कि भन्ने सोचिन्। उनले प्रक्रिया अघि बढाइन्।
सुरूमा उनले नारायणबहादुर राई भन्ने व्यक्तिलाई एक लाख रुपैयाँ बुझाइन्। बाँकी रकम भने सर्टिफिकेट अफ इलिजिबिलिटी (सिओई) लेटर आएपछि बुझाउने भनिएको थियो।
प्रक्रिया थालेको केही दिनपछि सिओई पनि प्राप्त भयो। उनले बानेश्वरको सानिमा बैंकमा रहेको राईको खातामा थप दुई लाख जम्मा गरिदिइन्।
रकम जम्मा गरेको केही समयपछि राईले फोन उठाउन छाडे, एकाएक सम्पर्कविहीन भएका थिए।
‘मैले फोन गर्दा नउठाएपछि ठगिएँ कि क्या हो भन्ने लाग्यो। तारन्तार फोन गरेपछि एक पटक उठाएको थियो। म जग्गा बेचेर भए पनि पैसा फिर्ता गर्छु भनेर भनेका थिए तर त्यसपछि सम्पर्कविहीन भए,’ उनले भनिन्।
उनी आफ्नो पैसा फिर्ता लिन भन्दै पुतलीसडकमा रहेको कार्यालयमै धाइन्। त्यहाँ उनीजस्तै ८० जनाभन्दा बढी पीडितसँग भेट भयो। राईले धेरै मानिसलाई ठगेको थाहा पाएपछि उनीहरू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेर जाहेरी दिए।
प्रहरीले यस घटनामा अनुसन्धान अघि बढायो। पीडितहरूले दुई व्यक्तिको नाममा दुई बैंकमा रकम जम्मा गरेका थिए। नारायणबहादुर राई र अर्का पर्वराज पाण्डेको नाममा बैंक खातामा पैसा जम्मा गरिएको थियो।
राईको नाममा सानिमा बैंकमा र पाण्डेको नाममा कामना विकास बैंकमा खाता थियो। वैदेशिक रोजगार विभागमा उनीहरूविरूद्ध थुप्रै उजुरी परेका थिए। उनीहरूविरूद्ध २ करोड ६८ लाख रुपैयाँ ठगी गरेको भन्दै एक सय जनाले उजुरी दिएका थिए।
उजुरी परेपछि विभागले बाजुराका पर्वराज पाण्डेलाई पक्राउ गर्यो। विभागले उनलाई पक्राउ गरी एक दिन हिरासतमा राख्यो। पछि ठग्ने पर्वराज भन्ने व्यक्ति उनी नभएको खुलेपछि प्रहरीले छाड्यो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षकद्वय रोशन खड्का र गोविन्द पन्थीको टोलीले यस घटनामा अनुसन्धान गरेका थिए। अनुसन्धानका क्रममा राई र पर्वराज दुवैको नागरिकता कुनै समय हराएको भन्ने खुल्यो। राईको १५/१६ वर्ष अघि नै नागरिकता हराएर प्रतिलिपि लिइसकेका छन्। पर्वराजको पनि केही वर्षअघि नै नागरिकता हराएको थियो।
त्यसपछि प्रहरीले प्राविधिक अनुसन्धान अघि बढायो। नारायणबहादुर भनिएका व्यक्ति रामेछापका राजन श्रेष्ठ र पर्वराज भनिएका व्यक्ति झापाका ईश्वरी पाण्डे रहेको खुल्यो। नारायणबहादुर र पर्वराजको हराएको नागरिकता उनीहरूले फेला पारेका थिए।
जसबाट उनीहरूले बैंकमा खाता र कन्सल्टेन्सी खोलेका थिए। नागरिकतामा भएको फोटो निकालेर आफ्नो टाँस्दै दुरूपयोग गरेका थिए।
‘दुवैको नागरिकता हराएको रहेछ। त्यही नागरिकता राजन र ईश्वरीले फेला पारेर दुरूपयोग गरे,’ कार्यालयका प्रमुख एवं एसएसपी सानुराम भट्टराईले भने, ‘बैंकमा खाता खोल्दा पनि त्यही नागरिकताको प्रयोग गरे, केवाइसी भर्दा दुवैको आ-आफ्नो फोटो हालेको पायौं।’
यसमा बैंकले भेरिफाइ गर्दा कमजोरी गरेको देखिएको उनले बताए।
उनकाअनुसार यस घटनापछि बैंकले आन्तरिक छानबिन थालेको छ। राजन र ईश्वरीले दुई सयभन्दा बढी व्यक्तिलाई यसरी नै ठगी गरेको प्रहरीको भनाइ छ।
‘एक सय जना विभागबाटै आएका छन्। अन्य ३० जनाभन्दा बढी हाम्रो सम्पर्कमा छन्। उनीहरूबाट ३ करोड बढी ठगी भएको छ,’ उनले भने, ‘पीडितहरू थपिन सक्छन्।’
उनीहरूबाट प्रहरीले विभिन्न व्यक्तिहरूको पासपोर्ट, चेक बुक लगायत कागजात बरामद गरेको छ।