बुढानीलकण्ठमाथिको डाँडाबाट काठमाडौं उपत्यकाको दृश्य हेर्दै हरियालीमा घुम्दा अवश्य पनि आनन्द आउँछ।
यही आनन्द दिने उद्देश्यले खुलेको हो 'ग्रीन भ्याली रिसोर्ट'।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–५, डाँडागाउँमा छ यो रिसोर्ट। बुढानीलकण्ठ मन्दिरबाट साढे पाँच किलोमिटर माथि शिवपुरी राष्ट्रिय निकुञ्जको बाटो हुँदै पुग्न सकिन्छ। कालोपत्रे सडक भएकाले यात्रा सहजै हुन्छ। रिसोर्टले सशुल्क यातायातको व्यवस्था पनि गरेको छ।
'प्रकृतिको मनोरम दृश्य नियाल्दै रिसोर्टको मजा लिन पाउनु यसको मुख्य विशेषता हो,' रिसोर्टका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले भने।
यहाँ विशेष गरी सार्वजनिक बिदाका दिन आगन्तुकहरूको घुइँचो हुन्छ। यस्तो दिनमा बुकिङ गरेर मात्रै आउन उनी आग्रह गर्छन्।
यो रिसोर्टको क्षेत्रफल करिब २० रोपनी छ। ४० प्रतिशत भाग हरियालीले ढाकेको छ। फराकिलो ठाउँको हरियाली र आतिथ्यले ग्राहकको मन लोभ्याउने गणेश बताउँछन्।
ग्राहकले इनडोर (भित्री) र आउटडोर (बाहिरी) संरचनामा बसेर खान पाउने सुविधा छ। ढुंगा बिच्छ्याइको बाटाको दुबैतिर कतै ढकमक्क फूल फुलेको छ त दुबोको हरियाली छ।
यो रिसोर्ट खास गरी रात बिताउने ग्राहकका लागि लक्षित हो। दिउँसो घुम्ने, खाने र फर्किने पनि हुन्छन्। बिहे, ब्रतबन्ध, जन्मोत्सव, वनभोज, कार्यालयका बैठक, सेमिनारका लागि पनि सुविधा छ।
गणेशका अनुसार छोटो दुरीको पदयात्रा गर्न चाहनेका लागि पनि यो रिसोर्ट उपयुक्त हुन सक्छ। यहाँबाट नागार्जुन जंगल, शिवपुरी राष्ट्रिय निकुञ्ज, बाघद्वार र विष्णुद्वार हाइकिङ जान सकिन्छ।
रिसोर्टमा हाल सात वटा ब्लक छन्। चार वटा ब्लकमा चार-चार वटाका दरले १६ वटा डिलक्स कोठा छन्। अर्को एउटा ब्लकमा १२ वटा कोठा छन्। अन्य ब्लकमा साना-ठूला मिटिङ हल र रेस्टुरेन्ट छन्। एउटा ब्लकमा स्विमिङ पुल छ।
सानो मिटिङ हलमा २५ जना र ठूलोमा सय जना अटाउने क्षमता छ। रिसोर्टले एक पटकमा आठ सय जनालाई सेवा दिन सक्छ।
यहाँ थुप्रै परिकार पाइन्छ। मुख्य भने 'सिग्नेचर डिश' हो। यसमा मुस्ताङ आलु र टिमुर चिकेन पर्छ। त्यस्तै इटालियन बेसमा पिज्जा पाइन्छ।
'यहाँको पिज्जा ग्राहकको रोजाइमा परेको छ,' उनले भने।
रिसोर्टले रात बिताउने गरी आउने ग्राहकका लागि प्याकेज बनाएको छ। त्यसमा स्न्याक्स, रातको खाना, कोठा र भोलिपल्टको ब्रेकफास्ट पर्छ। मूल्य भने प्याकेज अनुसार फरक हुन्छ।
रिसोर्टमा आफ्नै उत्पादनको तरकारी र मासु प्रयोग हुने गणेश बताउँछन्।
'हामीले केही तरकारी लगाएका छौं। लोकल कुखुरा पालेका छौं। नपुगेको स्थानीयबासीसँग किन्छौं,' उनले भने।
ग्रीन भ्याली रिसोर्ट खुलेको करिब दस वर्ष भयो। ग्राहकको आउजाउ बढेको चाहिँ २०७४ सालपछि हो। रिसोर्टका सञ्चालक भोलाविक्रम थापा हुन्। उनको मुख्य व्यवसाय टुर्स एन्ड ट्राभल्स हो। सात वर्षदेखि व्यवस्थापनको सबै काम गणेशको जिम्मामा छ।
'म प्रायः कुनै पनि व्यवसाय आफै हेर्दिनँ। सबै जिम्मा लगाएको छु,' भोलाविक्रमले भने, 'रिटायर्ड लाइफ (सेवानिवृत्त जीवन) बिताइरहेको छु भन्दा पनि हुन्छ। कहिलेकाहीँ कार्यालय जान्छु।'
उनले करिब बीस वर्षअघि डाँडाँगाउँमा पाँच रोपनी जग्गा किनेका थिए। जग्गा किन्नुको खास प्रयोजन थिएन। रिसोर्ट चलाउने त सोचेका पनि थिएनन्। व्यवसायको कामबाट थोरै फुर्सद निकालेर पारिवारिक जमघट गर्ने र कहिलेकाहीँ पाहुना घुमाउन लैजाने ठाउँ बनाएका थिए।
जमिन किन्दा चार कोठाको घर पनि थियो। रेखदेखका लागि सहयोगी राखेका थिए। आफू जाँदा तिनैले पकाएर खुवाउँथे। एक-दुई रात बसेर फर्किन्थे।
'छोराछोरी पनि घुम्न मनपराउने, पाहुनालाई पनि घुमाउन हुन्छ भनेर त्यहाँ जग्गा किनेको थिएँ,' भोलाविक्रमले भने, 'साँझमा डाँडाबाट काठमाडौंको दृश्य रमाइलो देखिन्थ्यो।'
त्यहाँ जग्गा किनेको थाहा पाएपछि साथीहरूले उनलाई होटल खोल्न सुझाएका थिए। तर उनी चासो दिँदैन थिए। उनले अलिअलि गर्दै जग्गा थपे। साथीहरूले रिसोर्टको कुरा गर्न छाडेनन्।
अन्ततः उनले पनि जमिन खाली राख्नुभन्दा आम्दानीको केही काम गर्नु उचित ठाने।
जग्गा किनेको पाँच वर्ष बितेपछि भोलाविक्रमले बाँसको दुईतले टहरो बनाए। बाँस नै प्रयोग गरेर चार वटा टेन्ट पनि हाले। पकाउने काम पुरानो घरमा हुन्थ्यो। टहरामा बसेर खाँदै काठमाडौंको दृश्य हेर्ने प्रबन्ध मिलाए।
'म त टुर्स एन्ड ट्राभलको मान्छे, होटल (रिसोर्ट) खोल्ने रूचि थिएन,' उनले भने, 'जग्गाको सदुपयोग होओस्, लगानी गरेपछि आम्दानी पनि होओस् भन्ने सोचेर काम सुरू गरेँ।'
टहरा बनाउँदा लागेको खर्च भोलाविक्रमलाई सम्झना छैन। पकाउन अलग्गै भान्से पनि राखेनन्। घर हेर्ने सहयोगीले नै पकाउने र खुवाउने गरी सानो व्यवस्थापनमा होटलको काम अघि बढाए।
रिसोर्ट चलाउन ग्रीन भ्याली गेट वे नामको कम्पनी दर्ता गरे। सुरूआतमै होटलको नाम 'ग्रीन भ्याली रिसोर्ट' राखेका थिए।
प्रारम्भिक दिनमा यहाँ घरायसी परिकार मात्र पाक्थ्यो। खानामा दालभात, तरकारी, अचार माछा-मासु हुन्थ्यो। खाजामा तरकारी-चिउरा, रोटी र यस्तै केही हुन्थ्यो। ग्राहकहरू यिनैमध्येबाट रोजेर मगाउँथे।
'ती दिनका ग्राहकहरू आसपासका बासिन्दा, साथीहरू र चिनजानका मान्छे हुन्थे। महिनामा एक-डेढ लाख रूपैयाँको व्यापार हुन्थ्यो,' भोलाविक्रमले भने।
उनले जग्गा थप्ने क्रम जारी राखे। करिब दस वर्ष यस्तै साधारण होटल चलाइरहे।
बिस्तारै बुढानीलकण्ठ क्षेत्रमा विकासको गति तीव्र हुँदै गयो। सुविधायुक्त होटल खुल्न थाले। उनको होटलमा पनि ग्राहकको संख्या बढ्दै गयो।
'ग्राहक बढ्न थालेपछि रिसोर्ट राम्रो बनाउने र खानेकुरा थप्ने विचार आयो,' उनले भने।
उनले २०७४ सालमा संरचना थपे। टहरा हटाएर सुविधायुक्त भवन बनाए। एकैपटक १६ वटा कोठा तयार गरे। कर्मचारी पनि राखे। खानाका परिकार बढाए। बलियो व्यवस्थापकीय संरचना बनाएर दक्ष कर्मचारीलाई जिम्मा दिए।
अहिले रिसोर्टमा ६० जना कर्मचारी छन्।
हालै मात्र यहाँ एउटा सेमिनार हल, १२ वटा बेडरूम र स्विमिङ पुल थपिएको छ। रिसोर्टमा जमिनबाहेक हालसम्म दस करोड रूपैयाँ लगानी भएको भोलाविक्रमले जानकारी दिए। सबै लगानी बैंक ऋण हो। रिसोर्टले कमाएर ऋण चुक्ता गर्नेमा उनी ढुक्क छन्।
'हाम्रो रिसोर्ट सुविधा सम्पन्न छ। महँगो छैन। राम्ररी चलेको छ। कमाइले ऋण तिर्ने पुगेन भने जग्गा बेचेर पनि तिर्छु,' भोलाविक्रमले भने।
ग्रीन भ्याली खुलेपछि आसपासका बासिन्दाले रिसोर्टलाई सहयोग पुग्ने व्यवसाय गरेका छन्। कसैले तरकारी खेती गरेका छन् त कसैले कुखुरा पालेका छन्। स-साना होटल र रेस्टुरेन्ट पनि चलाएका छन्।
आगामी वर्ष धुलिखेलमा एउटा रिसोर्ट खोल्ने योजना रहेको उनले बताए।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी