त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजंग बरालबारे अहिले विश्वविद्यालय सुधार्ने अनेक उपाय र योजना सुनाइरहेका छन्।
शैक्षिक क्यालेण्डरअनुसार चलाउने र परीक्षा समयमै प्रकाशित गर्ने अनि विश्वविद्यायलको पाठ्यक्रम समय अनुकूल बनाउने उनले सुनाएमध्येका योजना हुन्।
विश्वविद्यालय सुधारका गफमात्र गरेका हुन् कि काम पनि गर्छन् हेर्न बाँकी नै छ। आउँदा दिनमा उनले गर्ने निर्णय र गतिविधिले तिनको छनक देलान् नै!
तर उनको विगत कस्तो थियो? यसअघि पोखरा विश्वविद्यालयमा उपकुलपति हुँदा कस्तो ट्र्याक रेकर्ड छोडेका छन् भन्ने धेरैलाई चासो छ।
उपकुलपति बराल सन् १९५७ सेप्टेम्बर २ मा पाल्पाको पिपलडाँडाको एक मगर परिवारमा जन्मिएका थिए। प्रारम्भिक शिक्षादेखि उच्च शिक्षासम्म उनले पाल्पामै लिए। उनले तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरेका थिए।
व्यवसाय प्रशासन र वाणिज्यमा स्नातकोत्तर गरेपछि उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गर्न थालेका थिए। त्यहाँ उनले अर्थशास्त्र पढाए। पृथ्वीनारायण क्याम्पसमा पढाउँदा पढाउँदै उनी प्राध्यापकमा बढुवा भए। उनले भारतको दिल्ली विश्वविद्यालयबाट सन् १९९७ मा अर्थशास्त्रमा पिएचडी गरेका थिए।
प्रध्यापनबाहेक उनले विभिन्न संस्थामा परामर्शदाता भएर काम गरेको उनको बायोडाटामा उल्लेख छ।
अमेरिकी वित्त संघको सदस्य बनेका बराल एसियाली विकास बैंकको परामर्शदाता भएर काम गरेका थिए। एसियाली विकास बैंकको सहयोगमा पोखरा वातावरण सुधार परियोजनाको वित्तीय सल्लाहकार थिए। बरालले राष्ट्रिय योजना आयोगको क्षेत्रीय योजना कार्यालय पोखरामा सल्लाहकारका रूपमा काम गरेका थिए।
नेपाल सरकारले गठन गरेको पाठ्यक्रम विकास उपसमितिको संयोजक र नेपाल खुला विश्वविद्यालयको रणनीति योजना तर्जुमा उपसमितिको सदस्य पनि उनी भएका थिए।
त्रिविको व्यवस्थापन संकायको अनुसन्धान विभाग प्रमुख भएका बराल विश्वविद्यालयले प्रकाशन गरेको ‘जर्नल अफ नेपाल बिजनेस स्टडिज’को कार्यकारी सम्पादकका रूपमा पनि काम गरेका थिए ।
अमेरिकाको क्लाउड युनिभर्सिटीको हर्बर्गर बिजनेस स्कुलमा सन् २०१२ मा भिजिटिङ प्राध्यापक बने। चीनको स्कुल अफ इकोनोमिक्स एण्ड म्यानेजमेन्ट, सिन्यु युनिभर्सिटीको पनि भिजिटिङ प्राध्यापक भएर अध्यापन गरेका थिए।
बराल २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपति बनेका थिए। त्यतिबेला पनि उनलाई माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपकुलपति नियुक्त गरेका थिए।
त्रिविमा प्राध्यापक रहेका बराल पोखरा विश्वविद्यालयको उपकुलपति भएर आएपछि केही सुधार गरे। उनका कतिपय योजना भने अपूरा रहे। तर उनले विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा गरेको र प्राध्यापकसँग प्रतिशोध साँधेको पोखरा विश्वविद्यालयका पदाधिकारी एवं प्राध्यापकहरू बताउँछन्।
बराल उपकुलपति भएर आएपछि पोखरा विश्वविद्यालयमा उनले गरेका सुधार के-के थिए भन्ने बाट सुरू गरौँ।
उपकुलपतिका रूपमा बरालले २०६४ देखि ०६८ सम्मको चारवर्षे कार्यकालमा दुइटा महत्त्वपूर्ण निर्णय लिए। जसले विश्वविद्यालयलाई अहिलेको स्थानमा ल्याउन सघाउ पुर्याएको डिन अमर नागिला बताउँछन्। उनी त्यतिबेला प्राध्यापक थिए।
उनकाअनुसार पोखरा विश्वविद्यालय पोखराको नयाँ बजार र सिमलचौरमा भाडाका घरमा सञ्चालित थियो। बरालले पोखराकै खुदीस्थित विश्वविद्यालयको आफ्नै भवनमा सारे।
पोखरा बजारबाट केही टाढा भए पनि उनले त्यतिबेला लिएको निर्णयअनुसार विश्वविद्यालय अहिले आधुनिक भवनमा सञ्चालित छ। खुदीमा विश्वविद्यालय सरेपछि थप संरचनाहरू निर्माण भएको नागिला बताउँछन्।
बरालले योभन्दा महत्त्वपूर्ण अर्को निर्णय गरेका थिए, जुन विद्यार्थीका लागि ‘बरदान’ सावित भएको नागिलाको भनाइ छ। त्यो निर्णय हो- विद्यार्थीलाई छात्रवृत्ति दिने।
बराल उपकुलपति हुनुभन्दा अघि पोखरा विश्वविद्यालयले विद्यार्थीलाई छात्रवृत्ति दिँदैनथ्यो। उनकै निर्णयअनुसार अहिले पोखरा विश्वविद्यालयबाट झण्डै १२ सय जना विद्यार्थी छात्रवृत्तिमा पढ्न पाएका छन्।
छात्रवृत्ति र पैसा तिरेर पढ्ने दुवैथरी विद्यार्थीले प्रवेश परिक्षा दिनुपर्ने निर्णय पनि उनले गरेका थिए।
‘बराल सरले विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गर्नुभयो, त्यो ब्युटिफुल प्रोग्राम थियो,’ नागिलाले भने, ‘उहाँले नै पोखरा विश्वविद्यालयमा नर्सिङ, फार्मेसी र इञ्जिनियरिङ विषयमा स्नातक सुरू गर्नुभएको हो।’
शिक्षण अस्पताल खोल्ने कार्ययोजना पनि बरालले बनाएका थिए।
‘त्यतिबेला पोखरा विश्वविद्यालयको कुलपति रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई ल्याएर शिक्षण अस्पताल बनाउँछु भन्नुभएको थियो, तर सक्नुभएन,’ उनले भने, ‘अहिले भने सोही कार्ययोजनाअनुसार पियुले शिक्षण अस्पताल सञ्चालन तयारी गरेको छ।’
पोखरा विश्वविद्यालयमा अहिले व्यवस्थापन, मानविकी, स्वास्थ्य विज्ञान र विज्ञान तथा प्रविधि संकाय छन्। विश्वविद्यालयका योजना महाशाखा प्रमुख दीपक पौडेलका अनुसार बरालले विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा स्कुल अफ इञ्जिनियरिङ र स्कुल अफ मेडिकल साइन्स सञ्चालन गर्ने योजना बनाएका थिए।
इञ्जिनियरिङतर्फ आंगिक क्याम्पस संचालनमा आइसकेको छ। स्कुल अफ मेडिकल साइन्स संचालनमा ल्याउन खर्चिलो र विभिन्न व्यवधान भएको पौडेल बताउँछन्।
बरालले पोखरा विश्वविद्यालय आएपछि सबैभन्दा धेरै क्याम्पसलाई सम्बन्धन दिएको देखिन्छ। उनी उपकुलपति हुनुअघि पोखरा विश्वविद्यालयले २३ वटा क्याम्पसलाई मात्र सम्बन्धन दिएको थियो। उपकुलपति बरालले २६ वटा नयाँ क्याम्पसलाई सम्बन्धन दिएर ४९ वटा पुर्याए।
विश्वविद्यालयका योजना महाशाखा प्रमुख पौडेलले पर्याप्त विद्यार्थी भएका र सम्पूर्ण मापदण्ड पुगेका क्याम्पसलाई मात्र त्यतिबेला सम्बन्धन दिएको दाबी गरे।
‘विद्यार्थी राम्रो भर्ना भएका कलेजलाई मात्र उहाँले सम्बन्धन दिनुभएको थियो, त्यतिबेला कलेजको आकर्षण पनि थियो, उनले भने, उहाँ (उपकुलपति बराल) ले ‘मार्केट क्याच’ गर्न सक्नुभयो,’ उनले भने।
विश्वविद्यालयका डिन नागिलाले उपकुलपति बराललाई आफ्ना कुरामा अडान लिन सक्ने व्यक्तिका रूपमा बुझेका छन्। पोखरा विश्वविद्यालयलाई अघि बढाउन केही राम्रा काम गरे पनि उनले राजनीतिक हस्तक्षेपमुक्त बनाउन भने सकेनन्।
माओवादी शान्ति प्रक्रियामा आएपछि नै विश्वविद्यालयमा भागबन्डा सुरू भएको थियो। तत्कालीन ठूलो पार्टी र सरकारको नेतृत्व गरिरहेको माओवादी अध्यक्ष प्रचण्डले नियुक्त गरेका बरालले पोखरा विश्वविद्यालयमा रजिष्ट्रार, डिन, कन्ट्रोलन, डाइरेक्टरलगायत पदाधिकारी नियुक्ति गर्दा भागबण्डा गरेका थिए।
यसरी भागबण्डा गर्दा वरिष्ठतम र दक्षता भएका प्राध्यापकले ठाउँ पाएनन्, पार्टीका सिफारिस पाएकाले पदाधिकारीमा नियुक्ति पाए। विश्वविद्यालयमा रहँदा उपकुलपति बराल र प्राध्यापकहरूसँग झै-झगडासमेत भएको एक प्राध्यापक बताउँछन्।
विश्वविद्यालय कसरी चलाउने भन्ने विषयमा मत बाझिएपछि उपकुलपति बरालले अपशब्द प्रयोग गरेर प्राध्यापकहरूलाई गाली गरेको ती प्राध्यापक बताउँछन्। ‘जसले प्राध्यापकहरू आन्दोलनमा जाने स्थिति बनेको थियो,’ उनले भने।
त्यतिबेला प्राध्यापक रहेका डिन नागिलाले पनि उपकुलपति र प्राध्यापकहरूको विवाद सम्झन्छन्। उनकाअनुसार प्राध्यापकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका थिए। केहीदिन पठनपाठन ठप्प भएको थियो। त्यसपछि प्राध्यापक र उपकुलपतिबीच विवाद मिलाउन वार्ता समिति बनाएर एक-अर्कालाई आदर गर्ने र विश्वविद्यालयको हितलाई केन्द्रमा राख्ने शर्तमा विवाद साम्य भएको नागिला सम्झन्छन्।
विश्वविद्यालयमा करारमा शिक्षक नियुक्ति गर्दा प्रक्रिया नपुगेपछि उनीविरूद्ध अदालतमा मुद्दासमेत परेको थियो। उपकुलपतिले करारमा शिक्षक नियुक्त गर्न पाउँछन्। पछि प्रक्रिया पूरा गरेपछि बरालले अदालतबाट सफाइ पाएका थिए।
उपकुलपति जुन पार्टीका छन्, त्यही पार्टीका शिक्षक नियुक्त गर्ने परिपाटी बरालले बसालेका थिए। विश्वविद्यालयमा रहँदा बरालले केही प्राध्यापकसँग प्रतिशोधपूर्ण व्यवहार गरे। विदेशबाट प्राध्यापकका लागि आएको छात्रवृत्तिमा विद्यार्थी पठाएका थिए। यस घटनाबाट पीडित प्राध्यापकहरू अहिले पनि खुलेर बोल्न मान्दैनन्।
‘फेरि माओवादीकै उपकुलपति आउन सक्छन्, फेरि पनि प्रतिशोध साँध्न सक्छन्,’ ती प्राध्यापकले भने। विश्वविद्यालयमा विज्ञान पढाउने एक प्राध्यापकले नेदरल्याण्डको युनिभर्सिटीमा छात्रवृत्ति पाए। तर उनलाई उपकुलपति बरालले अध्ययन बिदा दिएनन्। अध्ययन बिदा दिन नमिल्ने तर बेतलबी बिदा दिन सकिने लिखित जानकारी दिए।
उपकुलपति बरालले अध्ययन बिदा नदिने भनेपछि उनी बेतलबी बिदामै स्नातकोत्तर पढ्न नेदरल्याण्ड गए। विश्वविद्यालयको नियमानुसार प्राध्यापकले ५ वर्षसम्म अध्ययन बिदा पाउँछन्। अध्ययन बिदामा नियमित तलब पनि पाउँछन्। बेतलबी बिदा बस्दा तलब त पाउँदैनन् नै, प्राध्यापक बेतलबी बिदामा बसेको समय सेवा अवधिमा जोडिँदैन।
त्यही बेला शिक्षा मन्त्रालयको सिफारिसमा पाएको उक्त छात्रवृत्तिमा अध्ययन गर्न नेपालबाट १८ जना गएका थिए। जसमा एकाधबाहेक अरू उतै हराए।
नेपालबाट अध्ययनका लागि नेदरल्याण्ड पुगेका अन्य प्राध्यापकहरू कोही पोर्चुगल गए, कोही अमेरिका पुगे। बरालबाट अध्ययन बिदा नपाएका प्राध्यापक भने फर्किएर पोखरा विश्वविद्यालयमा नियमित पठनपाठनमा लागे। नेपालमै बसेर काम गर्नुपर्छ भन्ने मान्यतामा उनी दृढ देखिए।
फेरि अस्ट्रेलियाको अर्को विख्यात विश्वविद्यालयमा पिएचडीका लागि ती प्राध्यापकले छात्रवृत्ति पाए। विश्वभरबाट छानिएर छात्रवृत्ति पाउँदा फेरि पनि उपकुलपति बरालले अध्ययन बिदा दिएनन्। उनले स्वअध्यन बिदा लिएर पिएचडी गर्न अस्ट्रेलिया पुगे। पिएचडी सकेर नेपाल फर्किने बेला बरालको कार्यकाल सकियो। ती प्राध्यापकले नयाँ उपकुलपतिलाई आफ्नो समस्या बताएपछि नयाँ कुलपतिले अध्ययन बिदा स्वीकृत गरिदिएका थिए।
यसरी एक जना प्राध्यापकमाथि प्रतिशोध साँध्नुको पछाडि राजनीतिक कारण भएको पोखरा विश्वविद्यालयका प्राध्यापकहरू बताउँछन्। उनीहरूका अनुसार फेल भएका विद्यार्थीलाई विश्वविद्यालयमा भर्ना गर्न सहयोग नगरेको बरालको आरोप थियो।
विश्वविद्यालयले विद्यार्थी भर्ना लिँदा प्रवेश परीक्षाको समिति गठन गरेको थियो। खुला र छात्रवृत्तिमा गरी दुईथरी प्रतिस्पर्धा पाए। खुला प्रतिस्पर्धामा छानिएका विद्यार्थीले अध्ययन शुल्क तिर्नुपर्थ्यो, छात्रवृत्तिमा छनौट भएकालाई नि:शुल्क थियो।
छात्रवृत्तिको प्रतिस्पर्धामा फेल भएका दुई जना विद्यार्थी उपकुलपति बरालले भर्ना गरिदिए।
‘त्यतिबेला उपकुलपति बरालले ती प्राध्यापकलाई छात्रवृत्तिमा फेल भएर पनि भर्ना पाएका दुई जना विद्यार्थी पास भएको लिष्टमा राख्न अनुरोध गरेका थिए। भर्ना समितिले त्यसलाई अस्वीकार गरिदियो,’ एक प्राध्यापकले भने, ‘त्यही कुराको प्रतिशोध लिएर बरालले ती प्राध्यापकलाई कानुनअनुसार पाउने अध्ययन बिदासमेत दिएनन्।’
छात्रवृत्तिमा फेल भएका विद्यार्थीलाई समेत भर्ना गरेपछि विद्यार्थी संगठनहरू आन्दोलनमा उत्रिएका थिए। उपकुलपति बरालले ती दुई विद्यार्थी भर्ना गराइछाडे। उनीहरू दुवैले पछि विश्वविद्यालयमा माओवादीको राजनीति गरे। करिब ८ वर्षसम्म पढ्दा पनि उनीहरू पास भएनन्। अहिले विश्वविद्यालय बाहिर छन्।
त्यस्तै एक पटक कोरिया सरकारले ५ जना प्राध्यापकलाई अध्यनका लागि छात्रवृत्ति दिने प्रस्ताव पठायो। प्राध्यापकका लागि पठाएको प्रस्तावमा उपकुलपति बरालले विद्यार्थी पठाएको पनि प्राध्यापकहरू बताउँछन्।
‘राजनीतिक भागबण्डा र पार्टीका लागि उहाँले जे पनि गर्न तयार हुनुभएको थियो,’ पोखरा विश्वविद्यालयका एक प्राध्यापक भन्छन्, ‘अब त्रिविमा के गर्नुहुन्छ, हेर्दै जाउँ।’
बराल त्रिविमा गत बिहीबार उपकुलपति नियुक्त भएका थिए। शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति सिफारिस समितिले दिएको तीन जनामध्ये दोस्रो नम्बरमा रहेका बराललाई कुलपति एवं प्रधानमन्त्री प्रचण्डले उपकुलपति पदमा नियुक्त गरेका हुन्।
पहिलो नम्बरमा परेका चित्रबहादुर बुढाथोकीलाई पन्छाएर दोस्रो नम्बरका बराललाई नियुक्ति दिनुको कारण भने अहिलेसम्म प्रधानमन्त्रीसमेत रहेका कुलपति प्रचण्डले खुलाएका छैनन्।