अमेरिकाको राष्ट्रपति उम्मेदवार जोन एफ केनेडी सन् १९६० मा चुनावी अभियानका क्रममा मिनिसोटा विश्वविद्यालय पुग्छन्। चुनावी भाषणबाहेक नौलो केही आउला भन्ने कसैले विश्वास गरेका थिएनन्। आम अपेक्षा विपरीत केनेडीले विश्वविद्यालयमा नौलो अवधारणा सुनाए, जुन विद्यार्थीका लागि रोमाञ्चक थियो।
उनले विश्वविद्यालयका विद्यार्थीलाई संसार घुम्दै विदेश सेवामा काम गर्न अफर गरे। देशका लागि विदेश सेवामा काम गर्न उनले गरेको आग्रह विद्यार्थीले मन पराए। उनी राष्ट्रपति निर्वाचित भएपछि ‘पिस कोर भोलेन्टियर’ नामक संस्था स्थापना गरेर विश्वका विभिन्न देशमा विद्यार्थीलाई स्वयंसेवा गर्न पठाउन थाले।
शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा विदेश गएर स्वयंसेवी सहयोग गर्नु उनीहरूको उद्धेश्य थियो। मिनिसोटा विश्वविद्यालयमा भू-गर्भशास्त्रमा स्नातकोत्तर गरेकी डोरोथी मिएरो पनि राष्ट्रपति केनेडीको यो अवधारणाबाट प्रभावित भइन्।
अमेरिकाले पिस कोर भोलेन्टियर नेपालमा पनि पठाउने भयो। डोरोथी सन् १९६२ मा ‘पिस कोर भोलेन्टियर’ बनेर पहिलो पटक नेपाल आइन्। डोरेथीले काठमाडौंको त्रिचन्द क्याम्पसमा एक वर्ष विज्ञान पढाइन्। काठमाडौंमा पढाउन थालेको दोस्रो वर्षमै उनी पोखरा आउन पाइन्।
त्यतिबेला पोखराको पृथ्वीनारायण (पिएन) कलेज बामे सर्दै थियो। सन् १९६० मा स्थापित पिएन कलेजले सन् १९६२ देखि गणित र भौतिकशास्त्र विभाग स्थापना गर्यो। त्यतिबेला नेपालमा पढेलेखेका मानिस निकै कम थिए। त्यसमाथि गणित र विज्ञानका शिक्षक पाउनै मुश्किल। क्याम्पसका संस्थापक प्रिन्सिपल जर्ज जोनले अमेरिकी पिस कोर भोलेन्टियरलाई गणित र विज्ञान पढाउने स्वयंसेवी शिक्षक पठाइदिन अनुरोध गरे।
कलेजको अनुरोध अमेरिकी पिस कोर भोलेन्टियरले स्वीकार गर्यो। अमेरिकी स्वंयसेवी शिक्षक आउनुअघि करिब ६ महिना जति विज्ञान र गणित बेलायती नागरिक कोलिन फिलिप स्मिथ (पुतली बाजे)ले पढाए। ‘युनाइटेड मिसन टु नेपाल’ मार्फत नेपाल आएर काठमाडौं, गोरखा हुँदै कोलिन पोखरा आइपुगेका थिए।
विज्ञान र गणित पढाउन अमेरिकी पिस कोर भोलेन्टियरका रूपमा पिटर फारकुहार नामक शिक्षक पोखरा आए। भूगोल अध्ययन गरेका पिटरले धेरै समय पिएनमा पढाएनन्। त्रिचन्द्र कलेजमा विज्ञान पढाइरहेकी डोरोथी मिएरो र पिटरले कलेज साटे। पिटर काठमाडौं गए, डोरेथी पोखरा आइन्।
सन् १९६३ मा हवाइजहाजमार्फत पहिलोपटक पोखरा ओर्लिएकी डोरोथीसँग एक वर्ष समय बाँकी थियो। अमेरिकी पिस कोर भोलेन्टियरले २ वर्ष मात्र विदेश गएर स्वयंसेवा गर्न पाउँथे। पोखरामा खुलेको पिएन कलेज छाप्रोमा चलेको थियो। पोखरामा उनले भूगोल पढाउन थालिन्। उनको कक्षामा त्यतिबेला जम्मा ६ जना विद्यार्थी थिए।
अमेरिकी पिस कोर भोलेन्टियरको पहिलो समूहमा सामेल थिइन्, डोरोथी। पोखरामा एउटा प्राकृतिक विज्ञान संग्रहालय आवश्यक रहेको उनले महसुस गरिन्। सुरूमा उनले यो कुरा आफ्नो कोठामा आइरहने एक जना महिलालाई सुनाइन्।
‘छिमेकी एक महिला मेरो कोठामा आइरहन्थिन्। हामी गफ गरेर बस्थ्यौं। एक दिन मैले उनलाई कलेजमा एउटा प्राकृतिक विज्ञान संग्रहालय आवश्यक रहेको सुनाएँ,’ उनले आफ्नो पुस्तक ‘थर्टी इयर्स इन पोखरा’मा भनेकी छिन्।
पोखरामा मानिसहरूका लागि मनोरञ्जन र ज्ञानका धेरैै स्रोत नभएको उनले अनुभव गरेकी थिइन्। त्यतिबेला फिल्म हल एउटा मात्र थियो। मेला, महोत्सव दिनहुँ हुन्थेन। मानिसलाई मनोरञ्जन होस भनेर पनि संग्रहालय चाहिने उनले बताएकी थिइन्।
संग्रहालय बनाउने प्रस्ताव उनले कलेज प्रमुख जर्ज जोनलाई सुनाइन्। संग्रहालय बन्नुअघि नै उनको समय सकियो। उनी अमेरिका फर्किन्।
अमेरिका फर्किएपछि उनले पोखरालाई विर्सिनै सकिनन्। अन्नपूर्ण र धौलागिरी हिमालय श्रृङ्खलाको काखमा बसेको पोखरासँग उनको बिछट्टै लगाव थियो। उनलाई फेरि पोखरा फर्किन मन लाग्यो।
उनी फेरि पिस कोर भोलेन्टियरकै रूपमा सन् १९६५ मा दोस्रो पटक पोखरा आइन्। पहिलो पटक पोखरा आउँदा प्रस्ताव गरेको प्राकृतिक विज्ञान संग्रहालय अघि बढाउने सोच बनाइन्। उनी भोलेन्टियरका रुपमा २ वर्ष मात्र नेपाल बस्न पाउँथिन्। यति समयमा उनले आफ्नो योजना सक्नुपर्थ्यो। संग्रहालय बनाउन प्रिन्सिपल जर्ज जोनले स्विकृति दिए। सुरूमा कुन ठाउँमा बनाउने अलमलमा परे। भविष्यमा कलेजका लागि धेरै क्षेत्रफल जमिन चाहिनेमा उनीहरू त्यतिबेलै सजग थिए। उनीहरूले कलेज हाताभित्र उपयुक्त ठाउँ हेरेर संग्रहालय बनाउन थाले।
त्यतिबेला पिएन कलेज एउटा फराकिलो चउर थियो। चउरमा गाई, भैंसी चर्थे। संग्रहालय बनाउने भनिएको ठाउँ अगाडि पोखरी थियो। पोखरीमा भैंसी आहाल खेल्थे। पोखरी नजिकै उनले स्थानीय स्रोत साधन प्रयोग गरेर संग्रहालय बनाउन थालिन्।
संग्रहालय बनाउनुअघि उनले धेरैवटा डिजाइन बनाएकी थिइन्। नेपाली इञ्जिनियर र कलाकारहरुसँग सहयोग लिएकी थिइन् । अन्तिममा उनले कलाकार चन्द्रमान मास्केले बनाइदिएको डिजाइन मन पराइन् । त्यही डिजाइनमा आधारित ढुङ्गाको गारो र ढुङ्गाकै छानो छाइएको भवन बनाउन लगाइन्।
नेपाली घरको झल्को दिने संग्रहालय भवन बाहिर नेपाली आदिवासीका आकृति झल्कने कलाकृति राखिएका काठका खाँबा छन्। भवनभित्र विभिन्न जंगली जनावर, चराचुरुङ्गी, बनस्पति र ढुङ्गाहरू सजाइएका छन्। यही संग्रहालयमा नेपालमा पाइने ५ सय ८७ र नेपाल बाहिरका ३ सय ५० पुतली संग्रहित छन्।
संग्रहालय बनाउन थाल्दा केही मानिसले उनलाई गाली पनि गरेका थिए। अमेरिकीहरू धनी हुन्छन्, नयाँ कपडा किनिदेओस् भनेर चाहना राखेका थिए। डोरोथीले निजी घर बनाउन लागेको भन्दै जग्गा किन्नुपर्ने पनि बताएका थिए। एक जना ब्राह्मण महिलाले त गाली गरेको उनले पुस्तकमा वर्णन गरेकी छन्।
अमेरिकी नागरिकले नेपालमा संग्रहालय बनाउन त्यतिबेला आवश्यक कामदार र सामग्री जुटाउन समस्या थियो। पोखरामा त्यतिबेला यातायात सहज थिएन। पोखरा विमानस्थलबाट भारिया लगाएर भारी बोकाउनुपर्थ्यो। संग्रहालय बनाउन उनले अमेरिकी सहयोग युएसएडको सहयोगमा विद्यालय भवन बनाइरहेका व्यक्तिहरूलाई सम्पर्क गरिन्। उनीहरुले डोरोथीलाई सहयोग गरे।
डोरोथीले भवन बनाउँदा पोखरा भिमकालीपाटनकी ७७ वर्षीय हिन्दुमाया पुनले ज्यालादारी काम गरेकी थिइन्। संग्रहालय भवन नजिकै घर भएकी हिन्दुमायाले दैनिक ३ मोहोरमा ढुङ्गा बोक्ने काम गरेको बताइन्।
‘यो संग्रहालय बनाउँदा मैले दिनको ३ मोहोरमा ढुङ्गा बोकेको थिएँ,’ उनले भनिन्, ‘संग्रहालय बनेपछि डोरोथीले मलाई सहायक राख्नुभयो, मैले उहाँको खाना बनाएँ।’
संग्रहालय भवन बनेपछि प्रदर्शनमा के राख्ने डोरथीलाई चिन्ता भयो। उनीसँग थोरै मात्र पैसा बचेको थियो। चराचुरुङ्गी, फूलहरू, रूखविरूवा, ढुङ्गा लगायत संग्रहालयमा राख्ने उनको चाहना थियो। यी चाहना उनी एक्लैले पूरा गर्न सक्थिनन्।
संग्रहालय बनाइसकेपछि बेलायतबाट आएका कोलिन फिलिप स्मिथ (पुतली बाजे)सँग उनको भेट भयो। कोलिन गण्डकी बोर्डिङ स्कुलमा गणित पढाउँथे। साथसाथै पुतली संकलन पनि गरिरहेका थिए। उनले संकलन गरेका पुतली आँफैसँग राखेका थिए। बेलायतमा छँदै पुतलीका प्रकार र संकलन विधी जानेका कोलिनलाई संग्रहालयका लागि पुतली संकलन गरिदिन डोरोथीले आग्रह गरिन्।
डोरोथी आफैं चित्रकार पनि थिइन्। संग्रहालयका भित्ताभरी उनले विभिन्न जनावर, चुराचुरुङ्गी र वनस्पतिका चित्र कोरिन्। त्यतिबेला उनले पिएन क्याम्पसकै चित्रकार दुर्गा बराल ‘वात्सायान’लाई पनि चित्र बनाइदिन आग्रह गरिन् । उनको आग्रह वात्सायनले स्विकार गरे।
कोलिनले संकलन गरेका पुतली संग्रहालयमा संग्रहित हुन थाले। संग्रहालयका भित्ताहरु चित्रले रंगीन थाले। विभिन्न आकार प्रकारका ढुङ्गाहरु पनि संग्रहालयमा जम्मा हुन थाल्यो। विद्यार्थीहरू मात्र होइन, छरछिमेक पनि उनका कार्यले दंग परिरहेका थिए।
अमेरिकी सरकारको सूचना सर्भिसेस्ले एउटा ठूलो आकारको चन्द्रमाको सतह देखिने पोष्टर प्रदर्शन गर्न दियो। छोटो समयका लागि चन्द्रमाका ढुङ्गा पनि प्रदर्शनीका लागि पोखरा ल्याइयो। त्यतिबेला चन्द्रमाको भू–सतह र चन्द्रमाको ढुङ्गा हेर्न टाढा टाढाबाट मानिसहरू आएका थिए। प्रकृति विज्ञानप्रति मानिसको उत्साह देखेर उनी खुशी भएकी थिइन्।
कलेजमा बर्सेनि विद्यार्थी बढ्दै थिए। विक्रम संवत् २०३० सालदेखि कलेजलाई क्याम्पस भन्न थालियो। जर्ज जोन प्रिन्सिपलबाट क्याम्पस प्रमुख बने। पश्चिम नेपालकै शौक्षिक ‘हब’ बन्दै थियो, पिएन क्याम्पस ।
विद्यार्थी र संकायहरु थपिँदै जाँदा क्याम्पसमा पुस्तकालयको खाँचो महसुस भयो। पुस्तकालयकै लागि क्याम्पससँग अतिरिक्त भवन थिएन। डोरोथीले बनाएको संग्रहालयलाई नै क्याम्पसले पुस्तकालय बनायो। चित्र कोरिएका भित्ताहरू पुस्तकले छोपिए। संग्रहालयका लागि ठाउँ साँघुरो हुन पुग्यो।
संग्रहालय भवनमा करिब २० वर्ष पुस्तकालय चल्यो। क्याम्पसले सन् १९८४ मा संग्रहालयकै अर्को छेउमा नयाँ पुस्तकालय भवन बनायो। पुस्तकालय सरेपछि भित्तामा बनाइएका चित्रकला बिग्रिएका थिए। डोरोथीले ले फेरि चित्र बनाइन्। उनले बनाएका चरा र फुलहरूका चित्रमा विद्यार्थीले नेपाली नाम लेखिदिए।
डोरोथीका बुबा अमेरिकाको मिनिसोटास्थित कार्टेल कलेजमा जीव विज्ञान पढाउँथे। उनले सोही कलेजमा प्रकृति विज्ञानमा स्नातक गरेकी थिइन्। कलेजमा जीव विज्ञान पढाउँदा बुबाले विश्वका धर्म र दर्शनबारे सिकाएको उनले बताएकी छन्। प्राकृतिक विज्ञान संग्रहालयलाई डोरोथीले विज्ञान र कलाकी देवी बस्ने मन्दिर भनेकी छन्।
‘प्राकृतिक विज्ञान संग्रहालय भनेको कला र विज्ञानका देवीहरू बस्ने मन्दिर हुन्, र मेरो बुबाले मलाई संसारका धर्म र दर्शनशास्त्रका बारेमा सिकाउनुभएको छ,’ उनले पुस्तकमा लेखेकी छन्।
डोरोथीले उक्त संग्रहालय बनाउँदा नेपाल सरकार र कुनै पनि संघसंस्थाबाट सहयोग लिइनन्। उनले निजी खर्चबाटै पोखरामा सार्वजनिक संग्रहालय बनाएकी थिइन्। तत्कालीन क्याम्पस प्रमुख जर्ज जोनका अनुसार संग्रहालय बनाउँदा त्यतिबेलै १० हजार अमेरिकी डलर खर्च भएको थियो। र उक्त रकम डोरोथीलाई उनका बुबाले छोरी पढाउनु भनेर दिएको रकम थियो।
‘डोरोथी मिएरोलाई छोरी पढाउनु भनेर उहाँका बुबाले १० हजार डलर दिनुभएको रहेछ,’ जर्जले सेतोपाटीलाई भने, ‘उहाँले आजिवन विवाह गर्नुभएन, छोरी पढाउनु भनेर बुबाले दिएको पैसाले पोखरामा संग्रहालय बनाउनुभयो।’
अहिले उक्त संग्रहालय अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले व्यवस्थापन गरिरहेको छ। संग्रहालय प्रमुख रमेश श्रेष्ठ पनि डोरोथीले १० हजार डलर खर्चेर उक्त संग्रहालय बनाएको बताउँछन्। श्रेष्ठ डोरोथीको सहयोगीसमेत थिए।
संग्रहालय बनाएर पिएन क्याम्पस पढाउँदा पढाउँदै डोरोथीले सिक्लेसबाट पढ्न झरेका विद्यार्थी चन्द्रप्रसाद गुरुङलाई धर्म छोरा बनाएकी थिइन्। चन्द्रका बहिनीलाई छोरी बनाएकी थिइन्। चन्द्रप्रसाद गुरूङको जीवनी सिक्लेसको ठिटो’ लेखेकी मञ्जुश्री थापाले डोरोथीसँग भेट भएपछि गुरूङको जीवनले नयाँ मोड लिएको उल्लेख गरेकी छिन्।
चन्द्रप्रसादकी छोरी नाता पर्ने सिक्लेसकी सुबा गुरूङका अनुसार डोरोथी बारम्बार सिक्लेस गइरहन्थिन्। चन्द्रप्रसादकै घरमा बस्थिन्। गाउँका बालबालिका बटुलेर चकलेट दिने र पढाउने काम गरेको सुबाले बताइन्।
‘हामी साना थियौं, गोरीनी बज्यै भनेर डोरोथीलाई बोलाउँथ्यौ,’ उनले भनिन्, ‘हामीलाई चकलेट दिएर पढाउनुहुन्थ्यो, हामीसँगै खेल्नुहुन्थ्यो, निकै रमाइलो गर्नुहुन्थ्यो ।’
पोखरा पढ्न झरेका चन्द्रप्रसादलाई उनै डोरोथीले अमेरिका लगेर पढाएकी थिइन् भने प्रकृति संरक्षणमा चासो जगाएकी थिइन्। चन्द्रप्रसाद उनै व्यक्ति हुन्, जसले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप स्थापना गर्न निर्णायक भूमिका खेलेका थिए। अन्यत्रका राष्ट्रिय निकुञ्ज जस्तै स्थानीयवासीलाई लखेटेर, सेना परिचालन गरेर संरक्षित क्षेत्र बनाउने तरिका चन्द्रप्रसादलाई मन परेको थिएन। उनैले समुदायलाई नै सचेत गराएर संरक्षणका कार्यक्रम अघि सार्नुपर्ने अडान राखेका थिए।
एक्याप स्थापना गर्दा कार्यालय थिएन। तत्कालीन राजा विरेन्द्रलाई प्रस्तावित अन्नपूर्ण क्षेत्र घुमाएर एक्याप स्थापनाको निर्णय गर्न संरक्षणविदहरूले आग्रह गरेका थिए । विरेन्द्रले एक्याप स्थापना गर्न निर्देशन दिएपछि डोरोथीले बनाएकै संग्रहालयमा कार्यालय राखियो। त्यतिबेला अन्नपूर्ण क्षेत्र घुम्न जाने विदेशी पर्यटक सोही कार्यालय पुगेर अनुमति लिने गर्थे। एक्यापसँग मिलेर डोरोथीले प्रकृति संरक्षणका विविध कार्यक्रमहरू चलाएको संग्रहालय प्रमुख श्रेष्ठले बताए।
तीन पटक पिस कोर भोलेन्टियर बनेर नेपाल आएकी डोरोथी त्यसपछि सदाका लागि नेपाल बस्न थालिन्। नेपालमा रहँदा यहाँका चाडपर्व नेपाली जत्तिकै खुशी भएर मनाउने गरेको श्रेष्ठले बताए।
‘दशैंमा टिका लगाउनै पर्ने, तिहारमा भाइटिका लगाउनुपर्ने, उहाँलाई नेपालको चाडपर्व मनाउनैपर्थ्यो,’ उनले भने।
जीवनमा ३५ वर्ष पोखरामा बिताएकी डोरोथीलाई क्यान्सरले समात्यो। सन् २००० मा अमेरिका गएका बेला ८० वर्षको उमेरमा उनको निधन भयो। उनले पोखरामा स्थापना गरेको अन्नपूर्ण प्राकृतिक विज्ञान संग्रहालय पहिले कलेजको पुस्तकालय त कहिले एक्यापको कार्यालयका रूपमा उपयोगमा आइसकेका छन्।
अब प्राकृतिक विज्ञान संग्रहालयकै रुपमा व्यवस्थित बनाउने योजना रहेको संग्रहालय प्रमुख श्रेष्ठले बताए ।
‘डोरोथीले यही संग्रहालयका लागि जीवन बिताउनुभयो, संग्रहालयलार्य जिवन्त बनाउने कार्यभार हाम्रो काँधमा छ ’ उनले भने।