अविच्युरी
पोखरामा पैदलयात्रा गर्दा कोलिन फिलिप स्मिथ जहिल्यै पुतलीका पोष्टकार्ड बोक्थे। बाटोमा बोलाउने जसलाई पनि पुतली अंकित पोष्टकार्ड उपहार दिन्थे। जहाँ पनि, जहिले पनि पुतलीका गफ गर्थे।
स्मिथ विगत दुई वर्षयता बिरामी थिए। पोखराको हरियो खर्क अस्पतालमा उपचाररत रहँदा पनि उनी पुतलीकै कुरा गर्थे। अस्पतालमा भेट्न आउने शुभेच्छुकलाई पुतलीका पोष्टकार्ड उपहार दिन छुटाउँदैनथे।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का वरिष्ठ संग्रहालय सहायक सुरेन्द्र परियारले बिहीबार मात्र स्मिथलाई २५ वटा पोष्टकार्डको २ वटा प्याकेट लगिदिएका थिए। उनले लगिदिएका पोष्टकार्ड वितरण गरेर सकियो कि सकिएन, तर स्मिथले शनिबार बिहान ३ बजे अन्तिम स्वास लिए।
‘अस्ति मात्र पोष्टकार्ड लगिदिएको थिएँ, आज उहाँको देहावसान भएछ,’ सुरेन्द्रले भने, ‘पुतलीप्रति यति धेरै माया र लगाव भएको मान्छे मैले अरू देखेको छैन।’
बेलायतबाट विक्रम संवत् २०२२ मा पहिलो पटक नेपाल आउँदा स्मिथ जम्मा २९ वर्षका थिए। लण्डनबाट गणितमा स्नातकोत्तर स्मिथ ‘युनाइटेड मिसन टु नेपाल’मार्फत् गणित पढाउन नेपाल आएका थिए। नेपालका ग्रामीण भेगमा पढाउन उनले ५ वर्षको भिसा पाएका थिए।
स्मिथ नेपाल आएर सोझै पोखरा हानिए। उनले पोखराकै गण्डकी बोर्डिङ स्कुलमा गणित पढाए। त्यसपछि गोरखाको लुइँटेल स्कुल पढाउन गए। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, दिवंगत चिकित्सक उपेन्द्र देवकोटालगायत उनका विद्यार्थी थिए।
गोरखामा २ वर्ष पढाएपछि स्मिथ काठमाडौं हानिए। काठमाडौंको स्वयम्भुस्थित आनन्दकुटी स्कुल पढाए। काठमाडौंबाट फेरि उनी पोखरा फर्किर पृथ्वीनारायण क्याम्पसमा पढाउन थाले।
नेपालका विभिन्न स्कुल चहारेर गणित पढाउँदा पढाउँदै उनको ५ वर्षे भिसा सकियो। उनी बेलायत फर्किए। तर उनलाई आफ्नो देश बस्न मन लागेन। आफ्नै हिसाबले नेपाल फर्किए। पुतलीको खोजबिन गर्नु नै उनको मुख्य ध्येय थियो।
शिक्षक भएर देशका कुनाकाप्चा पुग्दा नै उनले पुतलीको खोजबिन थालिसकेका रहेछन्। जहाँ पुग्यो, त्यहीँ पुतली हेर्ने। पुतली संकलन गर्न थालिसकेका रहेछन्। नेपालका पुतलीबारे लेखिएका लेखहरू खोजेछन्। जतिबेला नेपाल सरकारका कुनै पनि निकायले पुतलीका खोज, अनुसन्धान तथा अभिलेख राखेका थिएनन्।
स्मिथले नेपालका पुतलीबारे केही विदेशी विशेषज्ञले अध्ययन गरेको भेटाए। जर्मनी, जापानिज लगायतले नेपालबाट पुतली संकलन गरेर लगेका रहेछन्। सन् १८४० देखि नै व्यक्तिगत स्तरमा नेपालका पुतलीको खोज अनुसन्धान भएका रहेछन्। त्यसलाई एकीकृत गर्ने काम स्मिथले गरे।
पोखरा फर्किएर पृथ्वीनारायण क्याम्पस पढाउन थाल्दा उनले संकलन गरेका पुतली आफैंसँग राखेका थिए।
उनलाई पुतलीको अभिलेखीकरण गरेर संग्रहालयमा सजाउने रहर रहेछ। त्यहीबेला अमेरिकी पिसकोर भोलेन्टियर बनेर पोखरा आएका अमेरिकी नागरिक डोरेथी मिरोसँग उनको भेट भयो। मिरोले पोखरामा संग्रहालय बनाउँदै थिए।
स्मिथले आफूले पुतली संकलन गरेको र राख्नका लागि संग्रहालय आवश्यक रहेको बताए। मिरोले आफूले बनाउँदै गरेको संग्रहालयमा राख्न अनुमति दिए। त्यसछि नै स्मिथले पुतलीबारे खोज तथा अनुसन्धानलाई तीव्रता दिएको सुरेन्द्र बताउँछन्।
अहिले पनि पृथ्वीनारायण क्याम्पस हाताभित्र ‘अन्नपूर्ण नेचुरल हिस्टोरी म्युजियम’ देख्न सकिन्छ। म्युजियमको एउटा कोठामा स्मिथले संकलन गरेका ५ सय ८७ प्रजातिका पुतली छन्। संग्रहालयको व्यवस्थापन अहिले एक्यापले गर्दैछ। संग्रहालयमा सजाइएका रंगीविरंगी पुतलीका स्याहारसुसारदेखि संग्रहालय व्यवस्थापन सुरेन्द्रले गर्दैछन्।
सुरेन्द्रलाई पुतलीको खोज तथा अनुसन्धानमा लगाउने पनि उनै स्मिथ हुन्। त्यतिबेला स्मिथ पोखराको नदीपुर बस्थे। सुरेन्द्रको घर पनि नदीपुरमै। स्मिथले टोलका केटाकेटी जम्मा गरेर समूह बनाउँथे। बिदाका समय पारेर घुम्न लैजान्थे।
२०५३ सालतिर सुरेन्द्र १४ वर्षको हुँदा स्मिथले बनाएको बाल समूहमा बसेछन्। स्मिथले यो केटा अलि ठूलो भयो, साना साना बालबालिका हुनुपर्छ भनेछन्।
‘म अलि अग्लो देखेर उनले त्यसो भनेका थिए, साथीहरूले होइन, हाम्रो घनिष्ठ साथी हो भनेपछि मलाई समूहमा राखेका थिए,’ सुरेन्द्रले भने।
दसैं र तिहारको बीचमा बिदाका दिन स्मिथले केटाकेटी घुमाउन लैजाने भन्यो। पोखरामा सबैले मान्ने गणित शिक्षकले घुमाउन लैजाने भनेपछि अभिभावकले पनि स्वीकृति दिए।
स्मिथले बालबालिकाको समूहलाई बेगनासतालमाथि लगेछन्। टेन्टमा बस्नुपर्ने। खाना उतै बनाउने। जब स्मिथ पुतली देख्थे, बालबालिकालाई चुप लाग्न भन्थे। पुतलीका हुल देखेर स्मिथ रमाएको सुरेन्द्र बताउँछन्।
यसरी बालबालिकासँग रमाउने र उनीहरूलाई लिएर पुतली खोज्न हिँड्ने भएपछि स्मिथलाई ‘पुतली बाजे’ भनेर बोलाउन थालिएको उनले बताए।
बाल्यकालमै पुतलीको खोजमा लाग्दा स्मिथसँग हिँड्न पाएका सुरेन्द्र ठूलो भएपछि विज्ञान पढे। पोखरामै आइएस्सी पढेपछि उनले जागिरको खोजी गरे। केही ठाउँमा आवेदन पनि दिए। यो कुरा स्मिथले थाहा पाएछन्।
स्मिथले बोलाएर पुतलीको खोजीमा साथ दिन सुरेन्द्रलाई आग्रह गरेछन्।
‘आइएस्सीमा जीव विज्ञानका साधारण कुरा मात्र पढेको छु, मलाई पुतलीका बारेमा केही पनि जानकारी छैन भनेर स्मिथलाई भनेको थिएँ’, उनले भने, ‘म सिकाइहाल्छु नि, काम गर्ने कि नगर्ने भनेपछि मैले काम गर्न राजी भएँ।’
त्यतिबेला स्मिथले पुतलीका प्रजाति चिन्ने, संकलन गर्ने, अभिलेख राख्ने, सुकाउने, प्रदर्शन गर्ने लगायत विधि सिकाएको सुरेन्द्रले बताए।
पुतलीका खोज, अनुसन्धान र अभिलेखीकरणमा पूर्णकालीन भएर लाग्दा स्मिथले नेपालका झण्डै ५० जिल्ला पैदल हिँडेका छन्।
नेपालमा अहिलेसम्म पाइएका पुतलीका सबैभन्दा धेरै अभिलेख उनै स्मिथले राखेका छन्।
नेपालमा अहिलेसम्म ६ सय ७६ प्रजातिका पुतली पाइएका छन्। जसमा ६ सय ६० प्रजाति स्मिथले खोजेका थिए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र ३ सय ५१ थरी पुतली पाइन्छ। जसमा ३ सय ४७ थरी पुतली स्मिथले नै पत्ता लगाएका थिए।
पोखरामा बसेर पुतलीको खोज, अनुसन्धान र अभिलेखीकरण गरिरहेको थाहा पाएपछि त्रिभुवन विश्वविद्यालयले पनि उनलाई बोलाएर पुतलीको खोजमा लगाएको थियो।
त्रिभुवन विश्वविद्यालयमा १० वर्ष काम गरेर उनले पुतली संग्रहालय स्थापना गरे। त्यसपछि फेरि पोखरा फर्किए।
त्रिभुवन विश्वविद्यालयपछि उनले काठमाडौं विश्वविद्यालयका लागि पनि पुतलीकै खोज तथा अनुसन्धानको काम गरे। पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पनि उनले खोजेका पुतलीको सानो संग्रहालय छ।
‘देशका जति पनि ठाउँमा पुतली संग्रह छन्, त्यहाँ सबैभन्दा धेरै पुतली स्मिथले नै राखेका छन्,’ सुरेन्द्रले भने।
विश्वमा हालसम्म ८ हजारभन्दा बढी प्रजातिका पुतली पाइन्छ। जसमा ८ प्रकारका पुतली नेपालमा मात्र पाइने स्मिथले नै अभिलेख गरेको उनले बताए।
नेपालमा बसेर पुतलीको खोज तथा अनुसन्धान गरेर स्मिथले १० वटा पुस्तक लेखेका छन्। पुस्तकमा उनले पुतलीका बारेमा जानकारी गराएका छन्। नेपालका विभिन्न भागमा पाइने पुतलीका विशेषता उल्लेख गरेका छन्।
स्मिथलाई पुतलीबारे यति धेरै अभिरुचि उनकै काकाले जगाएका थिए। जतिबेला उनका काका बेलायतमै पुतली संकलन गर्दथे। काकासँग १४ वर्षकै उमेरमा पुतली संकलन गरेको उनले सुनाउने गरेका थिए।
युनाइटेड मिसनमा शिक्षक भएर नेपाल आएपछि स्मिथले काकाकै बाटो समाते। नेपाल सरकारले गर्नुपर्ने काम उनी एक्लैले गरिदिए। नेपालमा पाइने पुतलीका प्रजाति र त्यसका विशेषता विश्व समुदायमा पुर्याइदिए।
नेपालमा बसेर लामो समयदेखि पुतलीको खोज तथा अनुसन्धानमा लागेको भन्दै सरकारले उनलाई २०७६ मा सम्मानार्थ नागरिकता प्रदान गरेको थियो। सर एडमण्ड हिलारी र टोनी हागनपछि नेपाली मानार्थ नागरिकता पाउने उनी तेस्रो विदेशी थिए।
नेपालमा बसेर पुतलीको खोज तथा अनुसन्धानमा जीवन बिताएका स्मिथका श्रीमती र छोराछोरी छैनन्। उनले पोखराकै मिन परियारलाई धर्मछोरा मानेका थिए। उनकै परिवारसँग बसेका थिए।
नेपालमा पाइने पुतलीबारे ५० वर्ष लामो खोज तथा अनुसन्धान गरेका स्मिथको निधनले नेपाली पुतलीका अनुसन्धाताले एक अभिभावक गुमाएको सुरेन्द्रले बताए। उनको अन्त्येष्टि सोमबार गाईघाटमा गरिनेछ।
‘नेपाल सरकारले गर्नुपर्ने काम पुतलीबाजे एक्लैले गरिदिनुभयो, उहाँ हामी सबैको अभिभावक र उत्प्रेरक हुनुहुन्थ्यो,’ उनले भने, ‘आज हामीले एक असल अभिभावक गुमाएका छौं।’
यो पनि:
८३ वर्षीय 'पुतली बाजे' भए मानार्थ नेपाली