कास्कीको अन्नपूर्ण गाउँपालिका–१ कुँवर गाउँका ७६ वर्षीय बोधबहादुर कुँवर शनिबार युद्ध मैदानमा निस्किए।
मैदानमा उनले देब्रे खुट्टा अगाडि सारेर देब्रे हातमा ढाल समाए। दाहिने खुट्टा पछाडि राखेर दाहिने हातमा तरबार समाए।
शरीर थोरै झुकाएर कुँवरले दुश्मनका आक्रमण ढालले रोक्दै थिए, मौका छोपेर दुश्मनलाई तरबार चलाए।
लडाइँमा कहिले उनी उफ्रिन्थे, कहिले फड्किन्थे।
बाइसे-चौबिसे राज्यकालमा सेनाको भूमिका निर्वाह गरेका तत्कालीन सेना यसरी नै ढाल र तरबार बोकेर राज्यको सुरक्षामा खटिन्थे। दुश्मनसँग लडाइँ लड्थे।
ढालमा दुश्मनलाई हेर्ने सानासाना दुइटा प्वाल हुन्छन्। दुश्मनको तरबार हेरेर होइन, आँखाको चाल हेरेर लडाइँ लड्नुपर्ने कुँवरले बताए।
'दुश्मनले कसरी हान्छ, कहाँ हान्छ भन्ने भेउ पाउन उसको आँखाको चाल हेर्नुपर्छ,' बोधबहादुरले सेतोपाटीसँग भने, 'दुश्मनको आक्रमण ढालले रोकेर हामीले पनि तरबार चलाउनुपर्छ।'
कास्कीको कुँवर गाउँ अहिले अन्नपूर्ण गाउँपालिकामा पर्छ। उनीहरूले यस्तो युद्धकौशल भने पोखरा– २४ कास्कीकोटमा देखाउँछन्। शनिबार कास्कीकोटमा देखाइएको युद्ध कौशललाई उनीहरू 'सरून खेल' भन्छन्। यो बाइसे-चौबिसे राज्य हुँदा तत्कालीन सेनाले देखाउने युद्ध कौशल भएको बोधबहादुरले बताए।
कास्कीकोटका कुँवर क्षत्रीहरूले खेल्ने सरून खेल नेपालको बाइसे-चौबिसे राज्यका सैन्य अभ्याससँग सम्बन्धित छ। यसलाई तत्कालीन समयमा कास्की राजाको शक्ति प्रदर्शनसमेत भन्ने गरिएको बोधबहादुरले बताए। यही सैन्य अभ्यासबाट तत्कालीन राज्यहरूले सुरक्षाको व्यवस्था गर्थे। पृथ्वीनारायण शाहले एकीकरण गर्दा पनि ढाल र तरबार बोकेरै गरेका थिए।
गोरखाका राजा पृथ्वीनारायण शाहले बाइसे-चौबिसे राज्य एकीकरण गरेपछि हालको नेपाल बनेको धेरै इतिहासकारहरूले लेखेका छन्। बाइसे-चौबिसे राज्य रहँदा गोरखामा शाह वंश कास्कीबाट गएका थिए।
कास्कीकोट गुप्त कालिका मन्दिरका पुजारी ठाकुरप्रसाद त्रिपाठीका अनुसार स्याङ्जाको नुवाकोटबाट बिक्रम सम्वत् १११३ मा मिचा खान नामक राजा कास्कीकोटमा आएर राज्य गरेका थिए। कास्कीका तत्कालीन घले राजालाई युद्धमार्फत विस्थापित गरेर खान कास्कीको राजा बन्न पुगेको पूर्व शिक्षकसमेत रहेका ठाकुरप्रसादले बताए।
खानले कास्कीका तत्कालीन राजा घलेलाई जित्न घलेबाटै राज्य गुमाएका मगरको साथ लिएको उनको भनाइ छ।
'कास्कीमा पहिले मगरले शाासन चलाउँथे। मगरलाई पराजित गरेर घले राजा स्थापित भए,' उनले भने, 'राज्य गुमाएका मगरको साथ लिएर नुवाकोटबाट आएका खान राजाले घले राजालाई विस्थापित गरे। घले राजा मारी शाही राजा सुदाएको भन्ने लोकोक्ति अहिले पनि कास्कीकोटमा छ।'
ठाकुरप्रसादका अनुसार मिचा खानले कास्कीकोटमा बसेर कास्की राज्यमा शासन चलाए। उनकै पनाति कुलमण्डन खान बिक्रम सम्वत् १५२४ मा कास्कीको राजा बने। उनले आफ्ना सन्तान लमजुङ पठाए, लमजुङबाट गोरखा पुगे।
कुलमण्डन खानका सात छोरा थिए। लमजुङका घले राजाको शासनबाट दिक्दार बनेका दुरा लगायत समुदायले कास्कीका राजा कुलमण्डनसँग राजा मागे। कुलमण्डनले सुरूमा माइला छोरा कालु शाहलाई लमजुङ पठाए।
दलबलसहित लमजुङ गएका कालु शाह र घले राजाका सेनाबीच घमसान युद्ध भयो। घले राजाका सेनाले कालु शाहलाई मारिदिए। घले राजाको शासनबाट दिक्क नागरिक फेरि कुलमण्डनसँग राजा माग्न कास्कीकोट पुगे।
कुलमण्डन शाहले त्यसपछि कान्छा छोरा यशोब्रह्म शाहलाई लमजुङको राजा बन्न पठाए। एउटा छोरा मारिँदासमेत कुलमण्डनले लमजुङको राजा बनाउने लमजुङे दुराहरुको चाहना छेकेनन्। हारे ज्यान जान्थ्यो, जिते राज्य जित्थे। राजा बन्थे।
यशोब्रह्म शाह र लमजुङका घले राजाबीच वार्ता गर्ने कुरा भयो। लमजुङको बागलुङपानीमा वार्ता गर्न हतियारबिहीन भएर जाने दुवै राजाको सहमति थियो। यशोब्रह्म शाहले वार्तामा जानुअघि रातीराती बागलुङपानी आसपास जंगलमा ढाल र तरबार लुकाए। वार्ता नमिलेपछि त्यहीँ लडाइँ भयो। यशोब्रह्मले कास्कीबाट लगेका सेनाले लुकाएका हतियार उठाए। लमजुङका घले राजालाई पराजित गरेर राजा बनेको पुजारी ठाकुरप्रसाद बताउँछन्।
यशोब्रह्म शाहका दुई छोरा जन्मिए। जेठा छोरा नरहरि शाह लमजुङका राजा बने भने कान्छा छोरा द्रव्य शाह गोरखामा बर्सेनि घलेहरूले आयोजना गर्ने लिगलिगे दौडमा सहभागी बन्न पाए। त्यति बेला गोरखामा घलेहरू दौड प्रतियोगिता जितेर एक वर्षका लागि राजा बन्ने प्रचलन थियो। द्रव्य शाह दौड जितेर गोरखाका राजा बने।
राजा बनाउन बर्सेनि आयोजना हुँदै आएको लिगलिगे दौड प्रतियोगिता द्रव्य शाहले जितेपछि आयोजना गरिएन। उनी आजीवन राजा बने। गोरखामा यसरी शाह वंशीय राजाले निरन्तरता पाए। उनका सन्तान राम शाह हुँदै पृथ्वीनारायण शाह जन्मिएका थिए।
पुजारी ठाकुरप्रसादका अनुसार कास्कीका तत्कालीन राजा कुलमण्डनले पहिलो पटक 'शाह' पदवी पाएका थिए। तत्कालीन मुगल सम्राटबाट शाह पदवी पाएपछि नै नेपालका शाह वंशीय राजाहरूले थर शाह लेख्न थालेका थिए।
कास्कीका राजा कुलमण्डन तीर्थ यात्राका क्रममा मुगल पुगेछन्। छोराहरूलाई राज्य हेर्ने जिम्मा दिएर तीर्थाटनमा जाँदा उनको समूह र मुगल सम्राट बादशाह नादिर खानसँग शिष्टाचार भेट भयो।
कुलमण्डनको तीर्थ यात्रामा सेना, वैद्य, औषधि गर्नेहरू लगायत सहभागी थिए। मुगल सम्राट नादिर खानसँग भेटघाटका क्रममा उनका श्रीमती बिरामी भएको थाहा पाए। कुलमण्डनले आफ्ना वैद्यलाई उपचार गरेर औषधिमुलो दिएछन्। जसले नादिर खानका श्रीमतीलाई सञ्चो भयो। तीर्थ यात्राबाट फर्किँदा दरबार आउन नादिरले कुलमण्डनलाई आग्रह गरे।
तत्कालीन भारत वर्षका शक्तिशाली शासक नादिरको आग्रह कुलमण्डनले स्वीकार गरे। श्रीमतीको उपचार गरेकाले खुसी भएका नादिरले कुलमण्डनलाई 'शाह' पदवी दिए। त्यसपछि कुलमण्डनले शाह थर लेख्न थालेको पुजारी ठाकुरप्रसादले बताए।
कास्कीकोट गुप्त कालिका मन्दिर तत्कालीन शाह वंशीय राजाको दरबारसँगै थियो। मन्दिर, तत्कालीन राज्यका भग्नावशेष अहिले पनि कास्कीकोटमा देख्न सकिन्छ। मन्दिरमा विभिन्न पुजारीहरू छन्। पूर्व शिक्षकसमेत रहेका मन्दिरका मूल पुजारी ठाकुरप्रसाद त्रिपाठीले बाइसे-चौबिसे राज्यकालमा कास्कीकोट राजाका बारेमा अध्ययन र अनुसन्धान पनि गरेका छन्।
त्यति बेला नेपालमा बसाइँसराइ तीव्र चलिरहेको थियो। पश्चिमतर्फबाट कुँवर क्षत्रीहरू पूर्वतर्फ आउँदै थिए। कास्कीकोट राजाका सेनासँग उनीहरूको लडाइँ परेको अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष युवराज कुँवरले बताए।
'हाम्रा पुर्खा पश्चिमबाट पूर्वतर्फ जाँदा कास्कीका राजासँग लडाइँ भएछ,' त्यति बेला किरू कुँवर नाम गरेका हाम्रा अग्रजको नेतृत्वमा कस्कीकोट राजाका सेनालाई हराएछन्,' युवराजले भने, 'त्यसपछि राजाले हाम्रा पुर्खालाई दरबारको बाहिरी घेरा सुरक्षाको जिम्मा दिएछन्।'
त्यसपछि कास्कीकोटको कुँवर गाउँमा कुँवर क्षत्रीहरू बस्न थालेको उनले बताए। उनका अनुसार सुरक्षाको जिम्मा दिएर राजा कुलमण्डनले किरू कुँवरको छोरी विवाहसमेत गरेका थिए।
कुँवरले राज्यको सुरक्षाको जिम्मा लिएदेखि कास्कीकोटमा सरून खेल खेल्न थालिएको उनले बताए। यो कौशल राज्यको शक्ति प्रदर्शन, बाह्य हस्तक्षेपबाट जोगिने र अन्य देशलाई आक्रमण गर्न प्रयोग गरिन्थ्यो। कुँवरहरू युद्धकौशलमा निपूर्ण भएकाले नै राज्यबाट सुरक्षाको जिम्मा पाएको हुन सक्ने युवराजले बताए।
त्यति बेलाको युद्ध कौशल सरून खेलका नाममा जीवित राखेका कुँवरहरूले सोह्र श्राद्धका दिनदेखि युवाहरूलाई खेल सिकाउँछन्। खैंडाको खागबाट बनेका ढाल र तरबार बोक्न सिकाउँछन्। दशैंको घटस्थापनाका दिन नवदुर्गाको स्थापना गरेर ढाल र तरबारको पूजा गर्छन्। सप्तमीका दिन सरून खेल प्रदर्शन गर्छन् र अस्टमीका दिन उनीहरूले हतियारलाई भोग दिएर खेल बिसर्जन गर्ने युवराजले बताए।
सप्तमीका दिन खेल प्रदर्शन गर्नुको पनि आफ्नै कथा छ।
पोखराको रामघाटबाट कास्कीकोट लगिएको फूलको डोली सुरक्षा गर्न तत्कालीन राजाले सेना पठाउँथे। सेना पठाउनुअघि हातहतियारको पूजा गर्न पाठाको बली चढाइन्छ। बलीको रगतले अक्षता मुछेर सरून खेल्ने युवाहरूलाई टीका लगाइन्छ। त्यसपछि उनीहरूलाई 'सरून चढ्ने' बोधबहादुर कुँवरले बताए।
शनिबार पनि पोखराको रामघाटबाट पठाइएको फूलको डोली सुरक्षा गर्न कास्कीकोट दरबारबाट युवाहरू खुँडा, तरबार, ढाल लगायत हातहतियार समातेर निस्किए। पञ्चेबाजा, काल लगायत बाजागाजामार्फत राग बजाएर उनीहरू बाटोमा युद्ध कौशल देखाउँदै धुपीचौरू मैदान पुगे।
रामघाटबाट लगिएको फूलको डोली दुई जनाले लुकीछिपी धुपीचौर पुर्याए। घाम आधा अस्ताएको र आधा देखिएको समयमा पुगेको फूलको डोली घेरा हालेर सरून खेल खेल्ने युवाहरूले संरक्षण गरे।
'शत्रुबाट फूलको डोली नखोसियोस् भनेर सुरक्षा गर्न हामी खटिएका हौं,' बोधबहादुरले भने।
डोलीमा फूल, प्रसाद, पाठा र भेटी हुन्छ। सरून खेल्ने सैन्य टोलीले उक्त भेटी पाउँछन् र घर फर्किन्छन्।
रामघाटबाट सुरक्षित तरिकाले फूलको डोली गुप्तकालिका पुर्याएपछि पनि सरून खेल अन्त्य हुँदैन। कुँवर गाउँकै स्थानीयसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष युवराजका अनुसार गाउँमै दुर्गा मन्दिरमा अस्टमीका दिन आधा जुन डुब्ने बेला हतियारलाई पाठा काटेर भोग दिइन्छ। त्यसपछि मात्र सरून खेल समापन हुने उनले बताए। हरेक वर्ष दसैंका बेला यो चलन मनाइएको युवराजले बताए।
तत्कालीन राजा कुलमण्डनले कुँवर क्षत्रीलाई सुरक्षाको जिम्मा दिएको इतिहास सरून खेलका रूपमा जीवित राखेको उनले बताए। यसको प्रमाणका रूपमा कुँवर गाउँमा अहिले पनि गुठी सञ्चालनमा छ। गुठीका नाममा तत्कालीन कास्की राजाले दिएको जग्गा छ। गुठीले नै यस खेललाई जीवन्त बनाएको उनले बताए।
'पहिले पहिले म पनि सरून खेल्थेँ। हाम्रा बुढापाका अहिले पनि तरबार घुमाएकै नदेखिने गरी सरून खेल्नुहुन्छ,' उनले भने, 'बाइसे-चौबिसे राज्यको सुरक्षाको जिम्मा लिएका कुँवरले तत्कालीन युद्ध कौशल सरून खेलका रूपमा जीवित राखेका छन्।'
कास्कीकोट गुप्तकालिका मन्दिरका पुजारी ठाकुरप्रसाद त्रिपाठीले सरून खेल तान्त्रिक भएको बताए।
शंख, घन्टा बजाएपछि मात्र नगरा, काल, सारंगी लगायत बाजामा राग बजाइने र सेनालाई सरून चढ्ने उनको भनाइ छ। धर्मको पालना गर्न मन्दिरबाट आशीर्वाद लिएपछि मात्र उक्त खेल सुरूआत हुने उनले बताए।
कास्कीकोटका राजाले प्रयोग गरेका शैन्य अभ्यास नेपाल एकीकरणमा गोरखाका राजा पृथ्वीनारायण शाहले पनि अपनाएको उनले बताए।
'पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा पनि ढाल र तरबार नै प्रयोग गरेका थिए। यहाँकै रणकौशल उनले लागू गरे,' पुजारी ठाकुरप्रसादले भने।
कास्कीकोटका कुँवर क्षत्रीले खेल्ने सरून खेल गण्डकीका अन्य क्षत्री समुदायमा भने देखिँदैन। राजाको सुरक्षाको जिम्मा लिएका क्षत्री भएकाले कास्कीकोटका कुँवरले यस्तो खेल खेलिरहेको कुँवरहरूको भनाइ छ।
क्षत्री समाजका अध्यक्षसमेत रहेका प्राध्यापक दिलबहादुर क्षेत्रीले गुल्मी लगायत अन्य केही जिल्लामा पनि सरून खेललाई 'सरायें' भनेर खेल्ने गरेको बताए। क्षत्रीहरूको वीरताको प्रतीक अहिले आएर मौलिक संस्कृति बन्न पुगेको उनले बताए।
'क्षत्रीहरूको वीरताको प्रतीकका रूपमा सरून खेललाई लिन सकिन्छ। बाइसे-चौबिसे राज्यकालमा यसरी नै खुँडा, तरबार र ढालको प्रयोग गरेर युद्ध हुन्थ्यो,' उनले भने, 'यो हाम्रो मौलिक संस्कृति बन्न पुगेको छ। राज्यले सेना बनाउने र सुरक्षाका खातिर अपनाएको रणकौशल जीवित राख्न राज्यले पनि ध्यान दिनुपर्छ।'