भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरण गर्ने कार्यमा रोक लगाएको छ।
नगरपालिका क्षेत्र भित्रका नदी, खोला लगायतबाट अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ ढुङ्गा, बालुवा, गिट्टी, ग्राभेल र माटो उत्खननमा रोक लगाएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीका अनुसार महाकाली नदीको हकमा इआइएको कार्य सुदूरपश्चिम प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अध्ययनका क्रममा रहेको छ।
महाकाली नदीबाहेक अन्य नदी तथा खोलाहरुको हकमा आइइइ रिभ्युका क्रममा रहेकाले हाललाई नदीजन्य पदार्थको उत्खनन सङ्कलन र बिक्री वितरणका लागि ठेक्का बन्दोबस्तको कार्य गर्न केही समय लाग्ने भएकाले अर्को निर्णय नहुँदा सम्मका लागि रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत गौलीको भनाइ रहेको छ।