धनुषाको शहिदनगर नगरपालिकास्थित गोठ कोयलपुरकी कलेशदेवी ठाकुरका आँखा गत फागुनमा श्रीमानले कुटेको सम्झिँदा अहिले पनि रसाउँछन्।
परिवारका सबैले रोक्दा-रोक्दै उनले बारीमा १५ हजार रुपैयाँ लगानी गरेर आलु र प्याजी खेती गर्न लगाएकी थिइन्।
डेढ महिना पूरा परिवारले त्यहीँ खेतमा पसिना बगाएका थिए। आलु लगाउन मल ल्याउन सीमापारि जाँदा उनका छोराले भारतीय एसएसबीको कुटाइ खाएका थिए। अनेकौं दुःख झेलेर लगाएको आलु र प्याज दुबै राम्रो सप्रेको थियो। तर घर भित्र्याउने बेला बँदेल र निलगाईले बाली तहसनहस मात्रै पारेनन्, पुरै सखाप गरिदिए।
‘निलगाई र बँदेलको आंतक छ। त्यसैले मेरो श्रीमान् र छोराले अब खेतीपाती नगर्ने बरू मजदुरीमै काम गर्ने भनेका थिए। तर खेत किन बाँझो राख्ने। मजदुरी गरेको सबै पैसा आलु प्याजमै खर्च भयो भने नाति-नातिनीलाई कसरी पढाउने भनेर मैले जबर्जस्ती गर्न लगाएँ,’ उनले भनिन्, ‘हरेक दिन हामीले रातदिन रेखदेख गर्यौं। एक दिन बिरामी परेर गइनँ। रातभरमै बँदेल र निलगाईको झुण्डले सबै आलु प्याज खाइदिए। खन्दा १०/१५ किलो मात्र बाँकी रहयो। सबै लगानी र मिहिनेत खेर गयो।’
श्रीमान् र छोरा रिसाए। परिवारमा झगडा भयो। बँदेल र निलगाईको रिस उनका श्रीमानले कलेशमाथि उतारे।
‘तिम्रै कारणले सब बर्बाद भयो भनेर गाली गरेपछि मैले जवाफ फर्काएँ। श्रीमानले धेरै कुटे। गाउँमा त महिलाबाट सानोतिनो गल्ती भइहाले मुखैमुख पिटाइ खानुपर्छ। पुरूष निर्दयी हुन्छ,’ उनले पीडा पोखिन्।
स्थानीयका अनुसार निलगाई र बँदेलको आतंकले गोठकोयलपुर र यसका छिमेकी गाउँमा खेतीपाती एकदमै कम भइसकेको छ। खेतीपाती गरेर गुजारा गरिरहेका युवा कि त अन्य पेशा अपनाउन बाध्य छन् कि विदेश पलायन हुन।
एक बिघामा खेती गरिरहेका राजपति ठाकुर अचेल आधामा मात्रै खेती गर्छन्।
‘यस्तै अवस्था रहिरहे हामी पूरै खेतीपाती छोड्दिन्छौं। दिनभर पसिना चुवाउँछौं, रातमा सब बाली सखाप पारदिन्छ। सरकारले घोडगदा र सुँगुरका लागि किन केही उपाय लगाउँदैन्। यसैगरी सबैले खेतीपाती छोड्दै गयो भने मान्छेले के खाने? नेताहरू त बाहिरबाट किनेर ल्याइहाल्छन्, महंगोमा ल्याइहाल्छन् तर गरिब जनताको के हाल हुन्छ?,’ उनले गुनसो गरे।
प्याज उब्जाउन छोडेपछि अहिले ७० रुपैयाँ किलो किन्नु परिरहेको उनले सुनाए। केही दिनपहिले लखेट्न जाँदा बँदेलले यहीँ टोलका एक महिला र एक पुरूषलाई आक्रमण गरि घाइते बनाएका थिए। धनुषाकै उत्तरी क्षेत्रमा पर्ने बटेश्वर गाउँपालिकाको चित्रपुर गाउँका किसानले खेतीपाती गर्नै छोडदिएका छन्। बँदेल र निलगाईले बालीनाली रहनै नदिएपछि टोलका किसान कोही मजदुरी गरिरहेका छन् भने कोही पलायन हुँदै छन्।
यहाँ बाँदरको आतंकले पनि स्थानीय पीडित छन्। बालीनालीसँगै बाँदरले आँप खेतीमा व्यापक क्षति पुर्याइरहेका छन्। घरभित्र पसेर बाँदरको समूहले खानासँगै अन्नपात लगेर भाग्छ। केही स्थानीय बाँदरको आक्रमणमा परेर घाइतेसमेत भएका छन्।
सरकारले अहिलेसम्म जंगली जनावर नियन्त्रणका लागि केही कदम उठाएका छैनन्। धनुषा मात्रै होइन यतिबेला निलगाई, बँदेल र बाँदर आतंकले मधेश प्रदेशका आठ वटै जिल्ला अक्रान्त छन्। किसानले ठूलो क्षति व्यहोरिरहेका छन्। तर न त कुनै स्थानीय तहले काम गरेका छन् न प्रदेश न संघीय सरकारले।
बटेश्वर गाउँपालिका-१ का वडाध्यक्ष अशोक महतोले प्रदेश वा संघीय सरकारले यी वन्यजन्तु नियन्त्रणका लागि कुनै उपाय अघि सारे आफूहरू बजेट व्यवस्थापनका लागि समेत तयार रहेको बताए।
‘किसान मरिरहेका छन्। बाँदरले घर पनि सुरक्षित छैन। प्रदेश वा संघ सरकारले कुनै उपाय देखाओस्, कानुन खुकुलो बनाओस्, बजेट व्यवस्थापन हामी गाउँपालिकाबाटै गरिहाल्छौं,’ उनी भन्छन्।
जनवारबाट बालिनाली र जनताको सम्पत्तिसमेत सुरक्षित गर्न नसक्दा आफूलाई दु:ख लागेको उनले बताए।
सरकारको ध्यानाकर्षणका लागि प्रदेश र संघीय संसदमा यो मुद्दा जोडतोडले उठ्नुपर्नेमा आवाजै नसुनिँदासमेत सरकारले यस्तो गम्भीर समस्यालाई चासो नदेखाएको उनको बुझाइ छ।
जंगलमा बस्ने यी जनावरको संख्या पछिल्लो ७/८ वर्ष यता खेतबारीमा तीव्र रूपमा बढ्दै छ। पछिल्लो समय यी जनावरको संख्या हेर्दा तत्काल नियन्त्रणका लागि प्रयास नगरिए मधेशमा कृषि उत्पादनमा ह्रास आई महंगी, बेरोजगारी सिर्जना भई समाजमा ठूलो असर पर्ने जानकार बताउँछन्।
मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डल जनता र सांसदबीचको दूरीको कारण यस्तो गम्भीर मुद्दा संसदमा उठ्न नसकेको बताउँछन्।
‘सरकारले अहिलेसम्म यी जनावर नियन्त्रण वा व्यवस्थापनका लागि केही गरेको छैन, सोचेको पनि छैन। यी जनावरको व्यवस्थापन वा नियन्त्रण नगरिए निकट भविष्यमा मधेशमै खाद्यान्न अभाव हुनसक्छ,’ उनले भने, ‘कृषि प्राथमिकतामा नहुँदा पनि यसबारे कसैले केही गरेका छैनन्। सांसदले किसानका कुरा नसुन्दा, उनीहरूको नजिक नहुँदा पनि सांसदले सदनमा आवाज उठाउँदैनन्। विचित्रको अवस्था देखिन्छ यहाँ।’
यी जंगली जनावरबाट सांसद र मन्त्रीहरू पनि पीडित भएका छन्।
महोत्तरीकी प्रदेश सभा सदस्य शारदादेवी थापाले बर्दिबास नगरपालिकामा बाँदर आतंकले घर पनि सुरक्षित नभएको बताइन्।
‘मेरो घरको सबै छानो भाँचिदिए, फुटाइदिए। नयाँ ट्रस राख्नुपरेको छ। तलतिर निलगाई र बँदेलको आतंक छ। वन र कृषि मन्त्रालयमा गएर समस्या समाधान गराइदिन जनताले भनेको भन्यै छन्,’ थापाले भनिन्, ‘किसानले भन्छन्, हामीलाई कृषि उपकरण, मल,बिउ चाहिएन बरू तारको घेरा लगाएर जनावरबाट बचाइदेऊ। मैले संसदमा पनि बोलेको छु। तर सरकारले अहिलेसम्म यसका लागि केही पहल गरेको छैन।’
निलगाईको बथानले भागदौड गर्ने क्रममा बर्दिबासमा घाँस, दाउरा ल्याउने धेरै मान्छे घाइते पनि भएको उनले बताइन्।
तीन वर्षअघि बर्दिबास नगरपालिकाको किसाननगरमा बँदेलले आक्रमण गरेर खेतमा काम गरिरहेका किसानहरूलाई घाइते बनाएपछि यो मुद्दा केही दिन जोडतोडले उठेको थियो। छेउमै रहेको सशस्त्र प्रहरीले बँदेल धपाउन सहयोग नगरेको भन्दै स्थानीयले ढुंगामुढा गरेका थिए।
त्यस प्रकरणमा तीन जनाविरूद्ध मुद्दा चल्यो। घटनापछि स्थानीयहरू बँदेल धपाउनसमेत डराएको उनले बताइन्। वन र कृषि मन्त्रीले यो समस्या समाधानका लागि उपाय खोज्ने आश्वासन दिएको सांसद थापाको भनाइ छ।
रौतहटका सांसद सुनिलकुमार यादवले निलगाईले किसानको बालीमा व्यापक क्षति पुर्याइरहेको आफूले देखेको तर केही गर्न नसकेको बताए। आगामी सदनमा यसबारे आवाज उठाउने उनको भनाइ छ।
बाराका सांसद बच्चा राउत अहिरले निलगाई आतंकले क्षति भोगिरहेका किसान आफूकहाँ रून आइरहेको बताए।
‘किसानले रूँदै हामीलाई समस्या सुनाउन आउँछन् किनभने हाम्रो प्रदेशको जिविकाको मुख्य आधार नै कृषि हो। यो रहेन भने कसरी बाँच्छ मान्छे। हाउसमा हामीले कुरा उठाएका छौं। तर सरकारले सुनुवाइ नै गरेका छैन्,’ उनले भने।
लामो समयदेखि पानी नपर्दा बाराका खेतमा पानी नपाएर केही निलगाई मरेको पनि पाइएको उनले जानकारी दिए।
मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले आफ्नै खेतको १० कठ्ठाको आलु निलगाईले खाइदिएको बताए। आफूसमेत जंगली जनावरबाट पीडित रहेकाले यसका समाधानका लागि पहल गर्ने तयारी गरिरहेको उनको भनाइ छ।
‘मधेशकै एक जना वैज्ञानिकले तयार गरेको मेडिसिन छर्किए, निलगाई र बँदेल भाग्ने दाबी गरिएको छ। तर यसको परीक्षण भैसकेको छैन। परीक्षणमा सफल भयो भने यहीँ दबाईको प्रचारप्रसार र उपलब्धतामा हामी लाग्छौं,’ उनले भने, ‘कानुनले निलगाई मार्न दिँदैन। बँदेल लखेट्दा मर्यो भने ठिक नभए मार्यो भने कानुन लाग्छ। कानुनी जटिलताले पनि यसको व्यवस्थापनमा समस्या देखिन्छ।’
यसका व्यवस्थापनका लागि टेक्निसियनलाई बोलाएर छलफल गर्ने तयारी मन्त्रालयले गरिरहेको मन्त्री न्यौपानेले जानकारी दिए। चुरेको जंगलमा यी जनावरलाई शिकार गर्ने जनवार लोप हुनु र पानीको मुहान सुक्दै गएका कारण बँदेल र निलगाई तलतिर खेतबारी र बस्ती पसेको मिथिला वाइल्ड लाइफ ट्रस्टका प्रमुख मण्डलको भनाइ छ।
‘प्राकृतिक रूपमा चितुवा, अंजिगर, हुडार, हाइना लगायतका जीवजन्तु जो यी जनावरका बच्चालाई मारेर खान्थे तर ती जनावर जंगलबाट लोप भयो त्यसले उसका बच्चा हुर्कँदै ठूलो हुँदै गयो। संख्या घटेन,’ उनले भने, ‘चुरेमा पानीको स्रोत पनि सुक्दै गयो। त्यसले ती जनावरहरू चुरे छोड्न बाध्य भएर तलतिर मधेसका गाउँघर र खेतबारीमा झरे।’
यद्यपी यस क्षेत्रमा कुन-कुन जंगली जनावर पहिले कति थिए र अहिले कति छन् भन्ने तथ्यांक मधेश प्रदेश सरकारसँग छैन। अहिले पनि यस क्षेत्रमा कति निलगाई, बँदेल तथा अन्य जंगली जनावर रहेको तथ्यांक आफूहरूकहाँ नभएको प्रदेश वन निर्देशक अजयकुमार मिश्रले बताए। वन्यजन्तु व्यवस्थापन र गणनाका काम संघीय सरकारले गरिरहेकाले ती तथ्यांक यहाँ नरहेको उनको भनाइ छ।
चुरेको जंगलमा वन्यजन्तुले खाना नपाएका कारण पनि मधेशको बस्ती र खेत पसेको मण्डलको भनाइ छ।
‘चुरे र जंगलतिर पहिले जतिको खाना पाइँदैन,’ उनले भने, ‘जहाँ किसानले खेतबारीमा फलफूलको रूख लगाएका छन्, त्यहाँ उनीहरू सिफ्ट भएर आउँछ। पहिले जंगलमा हर्रो, बर्रो, आँप, अम्बालगायत फलहरू प्रशस्त पाइन्थ्यो तर ती बोटबिरूवा काटिँदै गए। व्यापक वन फडानी भयो। त्यसकै प्रभाव देखिन्छ यो सबै।’
मधेशमै ती वन्यजन्तुले आश्रय स्थल बनाउन भारतसँगको खुला सीमानाले पनि सजिलो भएको देखिन्छ। बिहारको विभिन्न ठाउँबाट खुला सीमाना हुँदै यी जनावर नेपालको खेतमा पसेको कृषि मन्त्री न्यौपानेले बताए।
डिभिजन वन कार्यालय धनुषाका अधिकृत अजयकुमार मिश्रले एउटा बँदेलले वर्षमा झन्डै एक दर्जन बच्चा जन्माउने जसले संख्या लगातर बढिरहेको बताए। नियन्त्रणका लागि पालिकाहरूले सहकार्य गरी यी वन्यजन्तुलाई आयस्रोतमा रूपान्तरण गर्न सकिने उनले बताए।
‘निलगाईलाई एकै ठाउँमा राखेर पर्यटक लोभ्याउन सक्नुपर्छ। अर्को बँदेललाई शुल्क निर्धारण गरेर शिकार गर्न मिल्ने कानुन बनाए राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भने।
प्रदेश वन निर्देशनालयका वन संरक्षण एवं व्यवस्थापन शाखाका प्रमुख सुजितकुमार झाले पछिल्लो समय वन्यजन्तु बस्ती पस्नुको मुख्य कारण वन क्षेत्र घट्नु रहेको बताए।
‘बन-जंगल जति-जति घट्छ त्यति-त्यति वन्यजन्तु अन्यौलमा पर्छ। सुरूमा बन मासेर पूर्व-पश्चिम राजमार्ग बनाइयो जुन हाती बाघ, चितुवा, भालुलगायत सबै वन्यजन्तुको करिडोर थियो। पछि वन्यजन्तुलाई डिस्टर्ब हुनेगरी जहाँतहाँ बस्ती बसाइयो त्यो क्रम अझै जारी छ। पार्क, बिजुलीको तार, रेल्वे ट्रयाक, सडक, मन्दिर, मध्यपहाडी लोकमार्ग पनि जंगलै मासेर बनाइयो त्यसले जनावर अन्यौलमा परे,’ उनी भन्छन्, ‘जति नदी चुरेबाट बगेर आउँछ ती सबै नदी बोर्डरसम्म जान्छ। जब बाढी आउँछ कतिपय बगेर आउँछ वा खोलाको बाटो हुँदै नदी हुँदै आउँछ। यहाँ आइसकेपछि हराउँछन्। यसको उत्पादन एकदम हाई छ। यहाँ खेतबारीमा सहजै खाना पाएपछि यहीँ बासस्थान बनाइरहेका छन्।’
झाले वन्यजन्तुले बस्तीमा उत्पन्न गरेको समस्या समाधानको उपाय पनि सुझाए। उनका अनुसार अतिक्रमित क्षेत्रलाई सबैभन्दा पहिले बन क्षेत्रमा मिलाउनुपर्छ।
‘वन्यजन्तु विभागलाई गाइडलाइन बनाएर हन्टिङ लाइसेन्स प्रदान गर्नुपर्छ। किनकी निलगाईको संख्या एकदम धेरै छ। विदेशीहरू आएर शिकार गरे भने आय स्रोत र पर्यटन पनि बढ्छ। तर यी काम संघ सरकारको क्षेत्रात्रिकारभित्र पर्छ,’ उनले भने, ‘प्रदेश सरकारले वन अतिक्रमित क्षेत्र खाली गराउन सक्छ। त्यसमा स्थानीय प्रशासनको सहयोग चाहिन्छ जुन संघ मातहत छ अहिले।’