जनकपुरधाममा दसैंको रौनक छ। ठूला आवाजका बाजागाजासहित यहाँका शक्तिपीठहरू दुलहीझैं सजाइएका छन्। सहरी क्षेत्र मात्र नभई यहाँका टोलटोलमा पनि मेलाको भिडभाड छ। हर्ष र उल्लास छ।
सहरी क्षेत्रकै मुख्य राजमार्गबाट झन्डै पाँच सय मिटर मात्र पश्चिमतर्फ रहेको वडा नम्बरस्थित ७ विशाल टोल भने सुनसान छ।
यहाँ मुसहर समुदायका १७ घरपरिवारको बस्ती छ। ससाना घर वरिपरि चारैतिर खाल्डाखुल्डी छन्। त्यसमा वर्षाको पानी जमेको छ।
दिनभर आहाराको खोजी गरिरहेका सर्प ओहोरदोहोर गरेको स्थानीयहरू देख्छन्। बच्चाबच्ची डराउँछन्। उनीहरूका आमाबुवा दिनभर मजदुरी गर्न जान्छन्। दिनदिनै घर छेउछाउमा सर्प आइरहँदा छोराछोरीको ज्यानको चिन्ताले सताइरहन्छ।
वर्षा हुँदा त घरै डुबानमा पर्छ। बस्ती छेउबाट पानी निकासको कुनै व्यवस्था छैन। तैपनि परिवार धान्न मजदुरी गर्न जानुपर्ने र कामको चापले यी दुःख दिनभरका लागि बिर्सिन्छन्।
साँझ परेपछि भने सुनसान यो बस्तीमा अन्धकार हुन्छ। टोलमा अहिलेसम्म बिजुली-बत्ती पुगेकै छैन। स्थानीयका अनुसार चुनावका बेला नेताले केही दिनमै बिजुली आउने बाचा गरेर गएका थिए। तर अहिलेसम्म बिजुलीको पोल पनि आइपुगेको छैन।
मधेस प्रदेशको राजधानी सहरस्थित विशाल टोलका मुसहर समुदाय राति टुकी बाल्छन्।
'हामी दिनभर कमाउँछौं अनि रातमा खान्छौं। सधैं काम हुँदैन। मट्टितेल महँगियो। पैसा नभएका बेला तेल किन्न सक्दैनौं। अँध्यारोमै बस्नुपर्छ,' स्थानीय फुलिया सदाले भनिन्, 'मेरो त उमेर लागिसक्यो। सर्पकीराले टोकेर मर्दा पनि केही हुँदैन। तर सोच्नुस् बालबच्चालाई कति डर छ। हामी कसरी बाँचेका छौं।'
हुन त बस्तीका तीन जनाले छिमेकबाट लामो तार जोडेर विद्युत जडान गरेका छन्। तर ती व्यक्तिले मनपर्दी असुली गरेको स्थानीयले बताए।
तीनै जनाले विद्युत महसुलवापत् दुई/दुई हजार रूपैयाँ माग्ने गरेको गीता सदाले बताइन्।
'दिनभर मजदुरी गर्न जान्छौं। राति मात्र तीन वटा पंखा र दुइटा सानो सिएफएल बल्ब बाल्छौं। रातमा पनि कयौं दिन बत्ती गायबै रहन्छ। त्यसको मात्र २ हजारको बिल भयो भन्छ,' उनले भनिन्, 'हामीलाई लाग्छ उसको आफ्नो उठेको र हामी सबै मिलाएर जतिको बिल हुन्छ, त्यति पैसा बराबरको बिल हामीबाटै अलगअलग गरेर उठाउँछ।'
त्योभन्दा कम तिरे लाइन नै काटिदिने ती व्यक्तिले चेतावनी समेत दिइरहेका छन्।
'हाम्रो मजबुरीको उसले फाइदा उठाइरहेको छ। तर के गर्नु अँध्यारोमा बच्चा रोइरहन्छन्। गर्मीले रातभर सुत्दैनन्। त्यसैले जति पैसा भए पनि तिर्नैपर्छ,' स्थानीय मंगल सदाले बताए।
जनकपुरधाममा सबैतिर लामखुट्टेको समस्या छ। तर यहाँ चारैतिर पानी जमेका खाल्डाखुल्डी भएकाले लामखुट्टेको कारखानाजत्तिकै लाग्छ। बस्तीमा बाटो पनि हिलाम्मे छ।
१७ परिवारमा खानेपानीका लागि एउटा मात्र चापाकल छ। वर्षामा हिलाम्मे बाटोमा पानी भर्न जाँदाजाँदै कयौं पटक छोरी लडेको गीता सदाले सुनाइन्।
यो बस्तीको समस्याबारे वडानम्बर ७ का वडाध्यक्ष निरज साह भने आफू अनभिज्ञ रहेको बताउँछन्। यो समस्याबारे आफूलाई कसैले सुनाउन नआएको उनले बताए।
'बिजुली छैन भने निवेदन लिएर यहाँ आउनुपर्यो नि। म यहाँबाट विद्युत प्राधिकरणलाई सिफारिस गरिदिन्छु,' वडाध्यक्ष साहले भने।
स्थानीयको भने यावत समस्या थाहा पाउँदा पनि वडाध्यक्षले अनदेखा गरेको आरोप छ।
'भोट माग्ने बेला आउँदा हामीले समस्या सुनाएकै थियो। जिताएर पठायौं। ६ महिना नपुग्दै सबै बिर्सेछन्। कहिल्यै फर्केर आएका छैनन्,' स्थानीय मंगल सदाले थपे।
उनका अनुसार यहाँका मुसहर बस्ती डेढ वर्ष पुरानो हो। पहिले यो समुदाय ७ नम्बर वडामै पर्ने जानकीनगरमा बस्थ्यो। तर त्यहाँ ठाउँ अभाव भयो।
'बाजे पुर्खाले एक/दुई धुर जग्गा किन्नुभएको थियो। सबैका छोराछोरी भए। ठाउँ पुगेन। बिहेबारी, दरबदाई, मरणहरनमा धेरै पैसा लागेर हामी ऋणमा पनि डुब्यौं। त्यसैले त्यहाँका महँगो जमिन बेचेर यतातिर दुईको चार धुर किनेका हौं,' उनले भने।