के हाम्रा प्रहरी कार्यालय महिलाका मुद्दामा संवेदनशील छन्? के उनीहरू महिलाका कुरा सुन्छन्? उनीहरूको संरक्षण गर्छन्? उनीहरूलाई न्यायपूर्ण व्यवहार गर्छन्?
प्रहरी संगठन, कामकारबाही र प्रहरी कर्मचारीको शैलीलाई लिएर उल्लिखित प्रश्नबारे बेलाबेला बहस हुने गर्छ।
हामीले यस्ती महिला भेटेका छौं जो प्रहरी कार्यालयमा एक महिना धाएपछि बल्ल उजुरी दर्ता गर्न पाइन्। ती महिला हुन् धनुषाको नगराइन नगरपालिका, फूलगामाकी समतोलिया देवी।
उनलाई हामीले अघिल्लो हप्ता एक दिन जिल्ला प्रहरी कार्यालय परिसरमा भक्कानिँदै गरेको अवस्थामा भेटाएका थियौं।
त्यो दिन थाहा भयो, भदौ ४ गतेदेखि शनिबारबाहेक एक महिनासम्म हरेक दिन गत जिल्ला प्रहरी कार्यालय, धनुषा धाएकी रहिछन्। एउटा बालखा छोरो साथमा लिएर बिहान ६ बजे प्रहरी कार्यालय पुग्थिन् र बेलुका ५ बजे फर्किन्थिन्। कहिले बच्चा आफन्तको घरमा छाडेर आउँथिन्।
घरमा अर्की श्रीमती ल्याएपछि उनी पतिविरूद्ध बहुविवाहसम्बन्धी जाहेरी दिन चाहन्थिन्। उनी प्रहरीसम्म आउन पनि कम्ता सोच्नु परेको थिएन। बल्ल बल्ल उनी आइपुगेकी थिइन्।
उनका अनुसार सुरूमै प्रहरीले बिहे दर्ताको प्रमाण वा बिहेको फोटो वा भिडिओ ल्याएमात्रै जाहेरी गर्दा हुन्छ भन्यो।
‘पुलिसले श्रीमानले अर्की श्रीमती ल्याएको फोटो वा भिडिओ लिएर आउनु भन्छ। मलाई घरमा पस्न दिएको छैन म कहाँबाट प्रमाण ल्याऊँ?’ प्रश्न गर्दै समतोलियाले भनिन्, ‘प्रहरी घरमा गए त प्रमाण पाइहाल्छ तर जाँदैनन्। पुलिसले मान्छे रूवाउने काम मात्र गर्छ।’
उनले दिनभर मजदुरी गर्दिरहिछन्।
‘दिनभर भोकै बसेर न्याय मागेकी छु। पुलिसलाई हात जोडेकी छु तर सुन्दैन। घुस चाहिने हो कि, त्यो पनि भन्दैन,’ उनले आँखाभरी आँसु पार्दै भनिन्।
उनी काम छोडेर दिनभरी प्रहरी कार्यालयमा चक्कर काट्थिन्। सुरूमा समतोलिया प्रहरी शाखाको एउटा शाखामा जान्थिन्, अर्कोमा पठाउँथे, त्यसबाट फेरि अर्कोमा पुग्थिन्। यसरी प्रहरी कार्यालयको एक कोठाबाट अर्को कोठामा धाउँदै, आफ्नो उजुरी सुनाउँदा सुनाउँदै उनी दिक्दार भइन् तर प्रहरीले कुनै बाटो दिएन।
उनको कुरा सुनेपछि हामीले जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा शाखामा गएर किन उनको उजुरी दर्ता नभएको भनेर सोधेका थियौं। समतोलियाका पतिले बहुविवाह गरे नगरेको कुरा बुझ्न फूलगामा प्रहरी चौकीलाई बुझ्न भनेको शाखाले बतायो।
फूलगामा चौकीले दुई साताअघि नै समतोलियाका पति जयकुमार राउतले दोस्रो बिहे गरेको कुरा छिमेकीहरूबाट सुनिएको भनेर रिपोर्टिङ गरेको रहेछ।
फूलगामाका वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) श्यामसुन्दर जयसवालले हामीसँग भने, ‘जयकुमारका छिमेकीबाट बुझ्दा उसले करिब एक महिनाअघि अर्की श्रीमती ल्याएको थाहा भयो तर लुकाएर राखेको छ।’
नजिकको प्रहरी चौकीले यति जानकारी दिँदा पनि जिल्ला प्रहरी कार्यालयले समतोलियलाई बेवास्ता गर्यो।
त्यहाँका एक प्रहरीले भने, ‘बिहे गरेर राखेको फोटो वा भिडिओ प्रमाण ल्याएको छैन भनेर प्रहरी कार्यालयले वास्ता नै गरेन। बलियो प्रमाणबिना कसरी मुद्दा दर्ता गर्नु भन्यो।’
सिरहाको मिर्चैयाकी समतोलियाको बिहे धनुषाको फूलगामाका जयकुमारसँग १४ वर्षअघि १४ वर्षकै उमेरमा भएको थियो। उनीहरूका दुई छोरा र एक छोरी छन्।
वैवाहिक जीवन राम्रै चलेको थियो। छोराछोरी पनि जन्मे। यसैबीच वैदेशिक रोजगारीको सिलसिलामा जयकुमार साउदी अरब गए।
जयकुमारले उताबाट श्रीमती समतोलियाका नाममा पैसा पठाए। जयकुमारले यसो गरेको उनका बाबु र दाजुलाई मन परेन। उनीहरूले जयकुमार र समतोलिया दुवैलाई गाली गरे।
यसरी कमाइको कुरामा विवाद भएपछि जयकुमारले श्रीमतीलाई माइत गएर बस्न सुझाव दिए। समतोलियाले त्यो गर्न मानिनन्। उनको माइतीमा पनि गरिबी थियो। केही दिनमा उनी सुत्केरी भइन्। घरमै बच्चा जन्माइन्।
उनले सुत्केरी हुँदाको पीडा सुनाइन्, ‘चार दिनसम्म छटपटाएँ। मलाई अस्पताल लगेनन्। घरमै बच्चा जन्मियो। बच्चाको मुखबाट रगत आयो। आखिर एक महिना अस्पताल बस्नुपर्यो।’
घरमा बस्न सक्ने अवस्था भएन। समतोलिया माइत गइन्। आखिर माइतीमा पनि राम्रो भएन।
‘ससुराल (पतिको घर) मा बस्न समस्या भएपछि माइत गएँ। केही दिन ठिकै भयो तर माइतमा पनि सम्बन्ध बिग्रिन थाल्यो,’ उनले भनिन्।
तीन वर्षपछि जयकुमार विदेशबाट फर्के। समतोलिया घर गइन्। केही दिन ठिकै चले पनि दिन बित्दै जाँदा कचमच सुरू भयो।
‘सासू-ससुरा र जेठाजुले कुरा लगाएपछि श्रीमानले मलाई कुटपिट गर्न थाले। ससुराले नांगै पारेर बाँसको कर्चीले पिटे,’ उनले भनिन्।
जयकुमारका केही छिमेकीले समतोलियामाथि दिनदिनै गालीगलौज र कुटपिट हुने गरेको बताउँछन्।
समतोलिया दिनदिनै कुटिन थालेपछि गाउँमा ‘पञ्चायती’ भयो। अबदेखि नकुट्ने र गालीगलौज नगर्ने निर्णय भयो। दुई चार दिन शान्त भए पनि फेरि कुटपिट हुन थाल्यो।
उनका अनुसार घटना कुटपिटबाट पनि अघि बढ्यो। ससुराले यौन दुर्व्यवहार गरे।
‘गाली र कुटाइ त सहेकै थिएँ, ससुराले इज्जत लुट्छु भनेर जिउमा जताततै छुन थाले। मलाई समाउन थाले,’ समतोलियाले भनिन्।
उनका अनुसार पहिले श्रीमानसँग राम्रै सम्बन्ध हुँदा पनि उनीमाथि ससुराले दुर्व्यवहार गर्थे। उनी बेलुका श्रीमानलाई सुनाउँथिन् तर पत्याउँदैन थिए। उल्टै कुटपिट गर्थे।
‘घरको बेइज्जत गरेको भनेर (श्रीमानले) पिट्नुभयो। घरका सबै जना परिवारको इज्जत माटोमा मिलाउन खोजेको भनेर ममाथि आइलागे। मेरो कुरा कसैले सुन्दै सुनेनन्,’ समतोलियाले भनिन्।
बिहे भएको १२ वर्षमा तीन छोराछोरी जन्मे। गत फागुनमा उनले स्थायी बन्ध्याकरण गराइन्। डाक्टरले घाउ निको नभएसम्म यौन सम्बन्ध नराख्नू भनेका थिए। उनी माइत गइन्।
‘डाक्टरले भनेको भनेर पुरुषले मान्दैन। धेरै श्रम पर्ने काम पनि नगर्नू भनेको थियो,’ समतोलियाले भनिन्, ‘म आराम गर्न भनेर माइत गएँ।’
केही दिनमा घरबाट सासूले फोन गरेर बोलाइन्। समतोलियाले घाउ ठिक भएपछि आउँछु भनिन्। उनी माइतमै थिइन्। एक दिन एक छिमेकीले जयकुमारले अर्की श्रीमती ल्याएको कुरा सुनाए। समतोलियालाई एकसाथ आकाश खसेजस्तो र धर्ती फाटेजस्तो भयो।
भोलिपल्टै उनी घर गइन् तर घरभित्र पस्न पाइनन्।
उनले भनिन्, ‘म घर गएँ तर घरभित्र पस्न दिएनन्। गाली गरे।’
समतोलिया माइत फर्किन्।
समतोलिया आफूमाथि कुटपिट भएको र श्रीमानले अर्की श्रीमती ल्याएर आफूलाई घरबाट निकालेको घटनाको उजुरी गर्न फूलगामा प्रहरी चौकी गइन्। चौकीले उनलाई जिल्ला प्रहरी कार्यालय पठाइदियो।
जिल्ला प्रहरी कार्यालयको ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र’ की प्रमुखले मिलेर बस्नू भनेर पठाइदिइन्।
‘उहाँ (केन्द्रकी प्रमुख) ले मेरो दुःख बुझिदिनुभएन। म न्यायका लागि गएकी थिएँ तर मिलेर बस भनेर जबर्जस्ती पठाइदिनुभयो,’ समतोलियाले भनिन्, ‘मेरा ससुरा र जेठाजुले पैसा दिएर मिलाएको भन्ने सुनेकी छु।’
गत भदौ ३ गते जिल्ला अदालत धनुषाबाट श्रीमान जयकुमारले सम्बन्ध विच्छेदको मुद्दा दिएको सूचना आयो। समतोलिया छाँगाबाट खसिन्। रोइन्, कराइन्।
भोलिपल्टै अदालत गइन्। उनले आफूले सम्बन्ध बिच्छेद नचाहेको भन्ने जवाफ वकिलमार्फत् दिइन्।
सोही दिन उनी बहुविवाहसम्बन्धी उजुरी लेखाएर जिल्ला प्रहरी कार्यालय गइन्। प्रहरीले उजुरी दर्ता गरेन। प्रमाण लेऊ भन्यो।
अदालतमा श्रीमानले दिएको सम्बन्ध विच्छेदको मुद्दा छ। वकिललाई फी तिर्नुपर्छ। यता प्रहरी बहुविवाहको उजुरी लिँदैन।
‘वकिलले २० हजार रुपैयाँ लिइसके। अब पेसी चढेपछि फेरि पैसा लाग्छ भनेका छन्,’ समतोलियाले आफैंसँग प्रश्न गरिन्, ‘म लेबरको काम गर्छु। बालबच्चा पाल्न एक/एक रुपैयाँ जम्मा गरेकी थिएँ। म कहाँबाट ल्याऊँ पैसा?’
उनले उजुरी दर्ता गराउन चिनजानका मान्छे गुहारिन्। सञ्चारकर्मी पनि गुहारिन्। चौतर्फी दबाबपछि गत बुधबार प्रहरीले उनको उजुरी दर्ता गरेको छ।
धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले प्रमाण अभावमा उजुरी दर्ता गर्न नसकेको बताए।
‘कि त विवाह दर्ता ल्याउनु पर्यो, कि फोटो वा भिडिओ जस्तो ठोस प्रमाण ल्याउनुपर्यो अनि मुद्दा दर्ता हुने हो,’ उनले भने।
आखिर एक महिनापछि पनि त्यस्तो कुनै प्रमाणबिनै जिल्ला प्रहरी कार्यालयले समतोलियाको उजुरी दर्ता गर्यो। उक्त उजुरीमा प्रहरीले कसरी कारबाही अघि बढाउँछ, चासोको विषय भएको छ।