तेजाब आक्रमणमा परेकी जनकपुरधाम उपमहानगरपालिका-७ बस्दै आएकी आरती साह बिचल्लीमा परेकी छन्।
अनुहार जलेकी आरतीबारे बजारमा स्थानीयले कुरा काट्ने, जिस्काउने र हेला गर्न थालेपछि उनको मानसिक अवस्था बिग्रँदै गएको छ।
पेठिया बजारका केही व्यापारी तथा उछ्ङ्खल युवाले दिएको मानसिक यातनाकै कारण आरतीको अवस्था बिग्रँदै गएको उनकी आमा सुनितादेवीले बताइन्।
‘एसिडले जलेको उसको शरिरको पीडा हामी-तपाईंले महसुस गर्न सक्दैनौं। घाउ देख्न सक्नुछ। साथ दिने घर परिवार कोही छैन। ६ वर्षकी छोरीको भविष्यको चिन्ता छ,’ उनले भनिन्, ‘एक त सरकारले नोकरी दिएन। महिनौंसम्म खोज्दा काम पाइएन। बल्ल काम पाएकी थिइन्। तर केही मान्छेले यति टर्चर गरे कि, कामै छोड्नुपर्यो।’
चार दिनदेखि आरतीले खान छोडेको उनले बताइन्।
‘एकैचोटी यति त टेन्सन भयो कि उसको दिमागले राम्रो काम गरेको छैन। बेलाबेला आफैं बर्बराउँछे,’ सुनितादेवीले भनिन्।
गुजारा गर्न र छोरी पढाउन मुस्किलले पाएको तरकारी बेच्ने काम आरतीले छाडेकी छन्।
स्थानीय व्यापारी र केटाले छाडा बोल्न थालेपछि गएको मंगलबारदेखि काम छोडेको उनले बताइन्।
‘यहाँ केही केटाहरू र मैले बुवाजस्तै मान्नेहरूले पनि तैंले के करम गरिस् कि तेजाब हालिदियो। तिम्रो चरित्रै ठिक छैन्। तरकारी बेच्नेसँग तिम्रो नाजायज सम्बन्ध छ भनेर बारम्बार टर्चर गर्न थालेपछि मैले काम छोडिदिए,’ आरतीले भनिन्, ‘म अब कसरी गुजारा गर्ने, कसरी बाँच्ने? छोरीलाई कसरी पढाउने? मैले आजसम्म गलत गरेको छैन्। यिनीहरूले किचड उछालेर मेरो इज्जतमा पर्ने कुरा गरेपछि कतिसम्म बर्दास गर्ने जबसम्म मेरो श्रीमानले सजाय पाउँदैनन् तबसम्म लडिरहन्छु।’
आरतीकी आमाले उनलाई केही दिनयता धामीझाँक्रीलाई देखाइरहेकी छन्।
‘झारफुकबाट ठिक भएन भने डाक्टरलाई देखाउँछु। हिजो बौधीमाई मन्दिरमा देखाउन लगे। त्यहाँ पनि उसलाई शान्त ठाउँमा एकान्तमा राख्न भनेको छ। यहाँ केही उपाय पनि देख्दिनँ। म आफ्नो माइत सितामढी पठाउँ कि सोच्दैछु,’ सुनितादेवीले थपिन्।
२०७७ को लक्ष्मीपूजाको दिन कात्तिक २९ गते जनकपुरस्थित पेठिया बजारमा डेरामा बस्दै आएकी आरतीलाई उनकै श्रीमान सञ्जीव साहले तेजाब आक्रमण गरेका थिए। आक्रमणबाट आरतीको अनुहार, छातीलगायत विभिन्न भाग जलेको छ। एसिडको छिटाले उनकी ६ वर्षीया छोरी रियाको एउटा हात र टाउकोको भाग समेत जलेको छ। तर उसको अवस्था समान्य छ।
पढ्नुस् आरतीबारे विस्तृत स्टोरी: