वर्षौंदेखि भारतको पञ्जाबमा मजदुरी गरेर महोत्तरीको भंगहा नगरपालिका–५, सिद्धपुरका जुगलकिशोर मण्डलले स्थानीय अनुरुद्ध साहसित २२ कठ्ठा जग्गा किने। पत्नी मालतीदेवी मण्डलको नाममा त्यो जग्गा दर्ता भयो। त्यही जमिनको उब्जनीले उनीहरूको परिवारको गुजारा चल्न थाल्यो।
परिवार ठूलो हुँदै गएपछि त्यसको आम्दानीले पुगेन। नाति/नातिना पढाउने बेला भयो, खर्च बढ्न थाल्यो। उनीहरूका छोरा रमेश वैदेशिक रोजगारीका लागि मलेसिया जाने भए। विदेश जान घरमा पैसा थिएन। गाउँमा तुरून्त बैंकबाट ऋण लिन सम्भव भएन। मालतीलाई बैंकबाट पहुँचवाला मानिसले मात्र ऋण पाउँछन् भन्ने लाग्छ।
आफ्नै गाउँका अनुरुद्ध साहले गाउँलेहरूलाई ऋण दिने गरेको मालतीदेवीले थाहा पाइन्।
पैसाको उपाय नलागेपछि मालती र जुगल दुवै जना गएर अनुरुद्धसँग ऋण मागे। सयकडा मासिक तीन रुपैयाँ अर्थात् ३६ प्रतिशत ब्याजमा ऋण दिने भए। उनले मालतीको नाममा रहेको २२ कठ्ठा जग्गा दृष्टिबन्धक अर्थात् धरौटी राख्नु पर्ने शर्त राखे।
साहुको सबै शर्त मानेर मालती र जुगलले ऋण लिए। कपाली तमसुक बन्यो। मालती र जुगल दुवै निरक्षर छन्। उनीहरूले साहुले भनेअनुसार ल्याप्चे लगाइदिए। एक लाख रुपैयाँ ऋण लिए। यो घटना हो २०७१ साल असारको।
मालतीका अनुसार उनीहरूले जग्गा धरौटी राखेका हुन्, साहुलाई आफ्नै नाममा दर्ता गर्न दिएका होइनन्। अनुरुद्धले उक्त २२ कठ्ठा जग्गा आफ्नै नाममा दर्ता गराएछन्।
मालतीले भनिन्, ‘मलाई त दृष्टिबन्धक गरेको भन्यो। न मैले पढेको छु न श्रीमानले। उसलाई विश्वास गरेर हामीले जहाँ-जहाँ भन्यो त्यहीँ सही गरिदियौं। उसले त जग्गा आफ्नो नाउँमा पास (दर्ता) गराइसकेको रहेछ।’
च्यातिएको तमसुकको टुक्रामा जुगलकिशोरको नाममा १२ लाख रुपैयाँ ऋण दिएको भन्ने लेखिएको देखिन्छ।
जग्गा साहुले आफ्नो नाममा पारेको थाहा पाएपछि मालती र जुगलको होसहवास उड्यो। उनीहरू अर्को ऋण खोजेर वर्ष दिनभित्रै ऋण तिर्न गए। साहुले साढे चार लाख रुपैयाँ हिसाब देखाए। साहुकै हिसाबअनुसार पैसा बुझाएर जग्गा फिर्ताका लागि आग्रह गरे।
‘छ वर्षअघि मेयर सञ्जीव साहसँग ऋण लिएर साढे चार लाख रुपैयाँ दिएँ। उसले भोलिपल्टै तमसुक च्यातिदिने भन्यो तर कागज च्यातेन,’ मालतीले भनिन्, ‘धेरै हारगुहार लगाएपछि कागज त च्यातिदियो तर आजसम्म मेरो जग्गा फिर्ता गर्न मानेको छैन।’
मेयर साहले पनि मालतीले आफूसँग साढे चार लाख रुपैयाँ ऋण लिएको बताए।
‘पैसा तिरिनँ भने बर्बाद भइहाल्छु भनेर मसँग उहाँ (मालती) ले अनुरुद्धलाई नै दिने भनेर पैसा लिनु भएको हो,’ साहले भने, ‘उसैलाई दिएको हुनुपर्छ तर पैसा दिने बेला म साक्षी थिइनँ।
मालतीका अनुसार एक वर्षभित्र ब्याजसहित ऋणको साढे तीन गुणा बढी रकम बुझाए पनि अनुरुद्धले जग्गा खाली गर्न मालतीलाई दबाब दिएको दियै छ। पैसा तिरेर पनि जग्गा फिर्ता नपाएपछि जुगलले तनाव सहन सकेनन्। उनको मानसिक सन्तुलन गुमेको मालतीले बताइन्।
‘जिन्दगीभरको हाम्रो कमाइमा अनुरुद्धले बेइमानी गरेपछि मेरा श्रीमान टेन्सनले पागल हुनुभयो र घरबाट निस्कनुभयो। कहाँ जानुभयो थाहा छैन,’ मालतीले भनिन्, ‘धेरै खोजेँ तर उहाँ भेटिनुभएन।’
विदेशमा कमाइ नभएपछि मालतीका छोरा रमेश केही दिनमै फर्किए। गाउँमा बेरोजगार भएपछि कुलतमा फसे। जग्गा फिर्ता पाउने आशमा उनी अनुरुद्धसँग नजिक हुन थाले।
रमेशले घर खर्च भनेर घर परिवारलाई थाहै नदिई २०७५ चैत अन्तिमतिर फेरि अनुरुद्धबाटै ५० हजार रुपैयाँ कर्जा लिएछन्। ब्याज उही, सयकडा मासिक तीन रुपैयाँ अर्थात् ३६ प्रतिशत।
ऋण बढ्दै गएपछि रमेश फेरि खाडीको सहर दुबई उडे। घरमा मालती थिइन्, २०७७ असोज २ गते अदालतबाट रमेशको नाममा आदलतको पुर्जी आयो। अनिरुद्धले लेनदेन मुद्दा दिएका रहेछन्।
‘मेरो छोराले साहुसँग पैसा लिएको हामीलाई भनेकै थिएन। मैले सोध्दा ५० हजारमात्र लिएको भन्यो,’ मालतीले भनिन्, ‘मेरो जग्गा बेइमानी गरेको टेन्सनमा म दिनदिनै बिरामी पर्छु। यो मुद्दा सुनेपछि मेरो दिमागले काम गर्न छोड्यो।’
अनुरुद्धले रमेशबाट साँवा ब्याजसहित ४ लाख २८ हजार २६४ रुपैयाँ असुल गरी पाऊँ भनेर महोत्तरी जिल्ला अदालतमा २०७७ असोज २२ मा मुद्दा दिएका रहेछन्।
अनुरुद्धले २४ असार २०७५ को मितिमा रमेशले ३ लाख ५० हजार रुपैयाँ लिएको भनेर तमसुक बनाएका रहेछन्।
महोत्तरी जिल्ला अदालतले कागजी प्रमाणको आधारमा अनुरुद्धका पक्षमा फैसला सुनाएको छ। दिएको पैसाभन्दा बढीको कागज बनाएर अन्याय गरेको भन्दै मालती जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत जनकपुर पुगिन्। मुद्दा विचाराधीन छ।
मुद्दामा अदालत धाउँदा पाँच लाख रुपैयाँभन्दा बढी खर्च भएको मालतीले बताइन्। छोराहरूले मजदुरी गरेर कमाएको सबै पैसा अदालत धाउनमा खर्च भएको उनको भनाइ छ।
‘जग्गा फिर्ता गरिदिन उस (अनुरुद्ध) को खुट्टा समाएर हामी दुबैजना (मालती र जुगल) रोयौँ। उसले गाली गरेर भगाइदिए। अनुरुद्धले हाम्रो जिन्दगी बर्बाद गरिदिए,’ मालतीले भनिन्, ‘म सबैलाई गुहार गर्छु, मेरो जग्गा फिर्ता दिलाइदिनुस्।’
यसरी अनुरुद्धले चर्को ब्याजमा वास्तविक ऋणभन्दा निकै बढी रकमको तमसुक बनाएर ऋण दिई अरुबाट पनि जग्गा हडप्ने गरेका छन्।
अनुरुद्धबाट लिएको ऋणले उठिबास हुने अवस्थामा पुगेकी अर्की महिला हुन् सिद्धपुरकै सञ्जिला मण्डल।
आफ्ना ज्वाइँलाई वैदेशिक रोजगारीमा पठाउन सञ्जिलाले अनुरुद्धबाट २०७७ साउनमा सयकडा मासिक पाँच रुपैयाँ अर्थात ६० प्रतिशत ब्याजमा ५० हजार रुपैयाँ ऋण लिइन्।
एक वर्षभित्रै सावाँब्याज तिर्नुपर्ने शर्त थियो। ज्वाइँले दुबईबाट पैसा पठाएपछि सोही वर्ष कात्तिकमा ६० हजार रुपैयाँ फिर्ता गरेको सञ्जिलाको भनाइ छ। ऋण तिरे पनि साहुले तमसुक कागज फिर्ता गरेनन्।
‘साहु (अनुरुद्ध) ले कागज जनकपुरमै राखेछु भोलि ल्याएर च्यातिदिन्छु भन्नुभयो। मैले भर्पाइ माग्दा उहाँले भर्पाइ पर्दैन, कागजै च्यातिदिन्छु भन्नुभयो,’ भक्कानिँदै सञ्जिलाले भनिन्, ‘मंसिर महिनामै अदालतबाट मुद्दाको पत्र आयो । म धेरै रोएँ। उनले त ब्याजसहित ९ लाख ९० हजार रुपैयाँ तिर्न मुद्दा गरेछन्।’
सञ्जिलाका अनुसार अनुरुद्धले ९ लाख ९० हजार रुपैयाँ ऋण लिएको भनेर तमसुक बनाएछन्।
सञ्जिला ऐलानी जग्गामा बस्छिन्। अंशबण्डा नभएको हुँदा सबै दाजुभाइको जग्गा रोक्कामा परेको उनले बताइन्। जग्गा रोक्का भएपछि दाजुभाइबीच तनाव भयो। तिम्रो ऋणले हाम्रो जग्गा रोक्का भयो भनेर देवरदेवरानी रिसाए। पछि मुचुल्का हुँदा सञ्जिलाको ठहर भएन र फुकुवा भयो।
अहिले जिल्ला अदालतमा लेनदेन मुद्दा चलेको छ। सञ्जिलाले अनुरुद्धविरूद्ध ठगी मुद्दा लगाएकी छन्।
भंगहा नगरपालिकाका मेयर सञ्जिव साह अनुरुद्धको ठगीबारे जानकार छन्। उनले ऋणका नाममा अनुरुद्धले धेरैको उठिबास गराएको गुनासो आएको बताए।
उनले भने, ‘बहुसंख्यक मान्छेले उसले अत्याचार गरेको भनिरहेको छ, उचित छानबिन गरी दोषी ठहरियो भने कडा कारबाही गर्नुपर्छ।’
अनुरुद्ध साहको ठगीविरुद्ध गत वर्ष केही पीडितहरू संगठित पनि भएका थिए। अनुरुद्धमाथि कारबाहीको माग गर्दै १४ जना पीडितहरू धेरै पटक जिल्ला प्रहरी र जिल्ला प्रशासनमा पुगेका थिए। उनीहरूले सामूहिक उजुरी पनि दिए। कारबाही नगरे आन्दोलन गर्ने चेतावनीसहित जिल्ला प्रशासन र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाए।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीले २०७७ फागुनमा अनुरुद्धविरुद्ध जिल्ला अदालत महोत्तरीमा ठगी मुद्दा दर्ता गरायो।
प्रहरीकै मिलेमतोमा अनुरुद्ध अदालतमा हाजिर भएर १ लाख ५० हजार रुपैयाँ धरौटीमा तारेखमा रहेको पीडितहरूको भनाइ छ।