रूपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रादेशिक बस टर्मिनल निर्माण हुने पक्का भएको छ। संघीय सरकार र प्रदेश सरकारको सह-लगानीमा निर्माण गर्ने भनिएको प्रादेशिक बस टर्मिनलको लागि संघीय सरकारले बजेट सुनिश्चित गरेपछि निर्माण हुने पक्का भएको हो।
नगरपालिकाकाको वडा नं. १३ र १४ टिकुलगढमा निर्माण हुने प्रादेशिक बस टर्मिनलको टेण्डर प्रक्रियाको लागि संघीय सरकारले १ करोड ६६ लाख बजेट छुट्टाएको छ।
अत्याधुनिक सुविधासहितको बन्ने बस टर्मिनलका लागि आन्तरिक स्रोतले मात्रै नपुग्ने भएकाले संघीय र प्रदेश सरकारको सह-लगानीमा निर्माण प्रस्ताव गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए।
प्रदेशस्तरीय बसपार्कको लागि नगरपालिकाले प्रस्ताव गरेअनुरूप संघीय सरकारले ७० प्रतिशत र लुम्बिनी प्रदेश सरकारले ३० प्रतिशत लगानी साझेदारी रहनेछ।
सोही अनुरूप संघीय सरकारको अर्थ मन्त्रालयबाट विनियोजन भएको बजेट लुम्बिनी प्रदेश सरकारको प्रदेश सहरी विकास कार्यालयमा आएको नगरप्रमुख घिमिरेले जानकारी दिए ।
तिनाउ नदिले उकास बनाएको १८ विगाहा क्षेत्रमा निर्माण गर्न लागिएको बस टर्मिनलस्थल गौतमबुद्ध विमानस्थल, बुद्धजन्मस्थल लुम्बिनी, बुटवल, भैरहवालगायत रूपन्देहीका धेरैजसो पालिकालाईसमेत पहुँच पुग्ने स्थानमा रहेको नगरपालिकाले जनाएको छ।
प्रस्तावित बस टर्मिनल निर्माणस्थल बेलहीया बुटवल ६ लेन सडकको पत्थरडाँडाबाट ६ किलोमिटर पश्चिम दक्षिणमा पर्छ भने गौतमबुद्घ अन्तर्राष्ट्रिय विमानस्थलदेखि पनि ६ किलोमिटर उत्तरमा पर्छ ।
हाल बुटवल र भैरहवामा सञ्चालन भईरहेका बसपार्कले सवारीसाधनको चाप थेग्न नसकिरहेको अवस्थामा प्रादेशिक बस टर्मिनलको निर्माण प्रस्ताव गरिएको नगरप्रमुख घिमिरेले बताए। ‘बस टर्मिनल निर्माण सम्पन्न गर्न १ अर्बभन्दा धेरै लाग्ने भए पनि बहुवर्षे कार्यक्रम अन्तर्गत हरेकवर्ष संघ र प्रदेश सरकारले बजेट छुट्टाउने भएकोले बस टर्मिनलको लागि रकम अभाव हुने छैन’, घिमिरेले भने।
अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी भ्रमणमा आउने यात्रुलाई लक्षित गरि बस टर्मिनलको अवधारणा अगाडि सारिएको उनले बताए। यसअघि नगरपालिकाले चालु आर्थिक वर्षमा नै एक करोड रुपैयाँ विनियोजन गरि जग्गा तारबारको काम शुरु गरिसकेको छ ।
सुविधासम्पन्न, प्रविधियुक्त र स्तरीय सेवासहितको बस टर्मिनलमा पेट्रोलपम्प, आवास गृह तथा होटल, रेष्टुरेन्ट, इलेक्ट्रिक चार्जिङ स्टेसन, लामो र छोटो दूरीका सवारीसाधनको लागि अलग्गै पार्किङ क्षेत्र, सुरक्षा चौकी रहनेगरी डिजाइन तयार गरिएको छ।
बस टर्मिनलमा एकैपटकमा १० वटा गाडी मर्मत सम्भार गर्न मिल्नेगरि वर्कसप, एकैपटकमा २ सय ५० वटा बस लामो समय पार्क गर्न मिल्ने पार्किङ क्षेत्र तथा ३० वटा बसले यात्रु सेवा प्रवाह गर्न मिल्ने गरी डिजाइन गरिएको छ।
त्यसैगरी बस टर्मिनलभित्र यात्रु तथा सवारी साधनका चालकलाई छोटो समय आराम गर्न मिल्ने गरी प्रतिक्षा कक्ष तथा आराम कक्ष, सुरक्षा पोष्ट, स्वास्थ्य चौकीसमेत रहने छन् ।
काठमाण्डौंको डेकोर स्टुडियोले तयार पारेको आर्किटेक्ट डिजाइन अनुसार बस टर्मिनलमा डिजिटल प्रविधिसहितको टिकट काउन्टर, गाडीको रुट र समय चार्ट राखिने छ ।
त्यस्तै किनमेल सुविधाका लागि एक हजार वर्गमिटर क्षेत्रफलमा विभित्र थरिका ३० वटा पसल समेत बस टर्मिनलभित्रै निर्माण हुनेछन्।