दोस्रो लहरको कोरोना महामारीका कारण रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पछिल्लो पटक थप भएको समयमा पनि सम्पन्न नहुने देखिएको छ।
सन् २०१७ भित्रै सक्नेगरी सन् २०१४ मा सुरू गरिएको विमानस्थलको निर्माणको समय अवधि हालसम्म ५ पटक थपिएको छ।
आयोजना सुरू भएको पहिलो वर्षमै आएको महाभूकम्प, संविधान जारी भएपछि मधेश केन्द्रीत दलहरूले गरेको आन्दोलन, भारतीय नाकाबन्दी तथा ठेकेदार र पेटी ठेकेदारबीचको आपसी विवादले धकेलिँदै गएको विमानस्थल निर्माणको काम गत वर्षदेखि भने कोरोना महामारीका कारण प्रभावित बनेको छ।
विमानस्थल निर्माण आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीका अनुसार पछिल्लो पटक गत जनवरीमा सकिएको विमानस्थल निर्माणको म्याद ६ महिनाको लागि थपिएको थियो। जो आगामी जुन ३० मा सकिँदै छ।
हालसम्म आयोजना निर्माणको साढे ९६ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसके पनि क्यालिब्रेसन फ्लाइटको लागि जहाज र प्राविधिक आउन नसक्दा परीक्षणको काम बाँकी रहेको हो।
क्यालिब्रेसन फ्लाइटको लागि बाहिरबाट आउनु पर्ने जहाज र जनशक्ति आउन सके २ महिनाभित्र विमानस्थल तयार हुने अधिकारीको भनाइ छ। तर विश्वभर फैलिएको कोरोना महामारीका कारण बाहिरबाट आउनु पर्ने दक्ष जनशक्ति ल्याउन नसकिएको उनले बताए।
'संक्रमण कसरी घट्छ र प्राविधिकहरू कसरी आउनुहुन्छ त्यसपछि मात्रै कहिलेसम्म काम सम्पन्न हुन्छ भन्न सकिएला,' उनले भने।
विमानस्थलको आइसिभी १ को लागि भारतीय र चिनियाँ कामदार आउनु पर्ने हुन्छ भने आइसिभी २ को लागि थाइल्याण्डबाट प्राविधिक ल्याउनु पर्ने हुन्छ। आइसीभी १ अन्तर्गत विमानस्थलको तीन हजार मिटरको रन-वे, ट्याक्सी-वे, एप्रोनलगायतको काम सम्पन्न भइसकेको छ भने टर्मिनल भवन र टावर कन्ट्रोल भवनमा उपकरण जडान गर्न र फिनिसिङको काम बाँकी छ। त्यस्तै आइसिभी २ अन्तर्गत विमानस्थलका लागि आवश्यक उपकरण जडानको काम बाँकी रहेको आयोजना प्रमुख अधिकारीले बताए।
रन-वे, एप्रोन, ट्याक्सी-वे लगायतको काम सकिएकाले विमानस्थल निर्माणको कामकै हिसाबले भन्ने हो भने अन्तिम चरणमा रहेको उनले बताए।
'टर्मिनल विल्डिङको केही उपकरण जडान र फिनिसिङको काम बाँकी रहे पनि सुरक्षित जहाज उडान अवतरणको लागि आवश्यक पूर्वाधार परीक्षण गर्न करिब तयारी अवस्थामा छौं,' अधिकारीले भने।
पहिलो लहरको कोरोना महामारी नियन्त्रणमा आइसकेको र दोस्रो लहरको नफैलिएको भए यतिबेला गौतम बुद्ध विमानस्थलमा परीक्षण उडान भइसक्ने अधिकारीले दावी गरे।
उनका अनुसार दोस्रो चरणको निषेधाज्ञा हुनुपूर्व आयोजना स्थलमा धमाधम उपकरण जडानका कार्य जारी थिए ।
वैशाखको पहिलो हप्तामै मौसम, संचार र विमानको दिशा पत्ता लगाउने सम्बन्धी महत्वपूर्ण उपकरण जडान सम्पन्न भैसकेका थिए ।
ती जडान गरिएका उपकरण ठीक भए/नभएको र सही काम गरे/नगरेकोबारे विशेष विमान ल्याएर परीक्षण उडान गर्ने अवस्थामा पुगेका बेला कोरोनाका कारण आयोजना फेरि प्रभावित भएको आयोजना प्रमुख अधिकारीको दाबी छ।
पहिलो लहरको कोरोना केही नियन्त्रणमा आएको बेला केही प्राविधिक आएर काम गरेर फर्किएको भए पनि आउने तयारीमा रहेका प्राविधिकहरू दोस्रो लहरको कोरोना संक्रमणका कारण उतै रोकिएको उनले बताए। अधिकारीका अनुसार प्राविधिक मात्र होइन क्लालिब्रेसन फ्लाइटको लागि चाहिने जहाजसमेत बाहिरबाटै ल्याउनुपर्ने हुन्छ।
'नेपालमा क्लालिब्रेसन फ्लाइटको लागि चाहिने जहाज पनि छैन, भारतमा भए पनि सम्झौताअनुसार थाइल्याण्डबाट ल्याउनु पर्ने हुन्छ,' उनले भने, 'क्लालिब्रेसन फ्लाइटको लागि चाहिने जहाज सानो साइजको इक्युपमेन्टहरू भएको र दुई-चार जनामात्रै चढ्न मिल्ने हुन्छ जुन नेपालमा छैन।'
क्यालिब्रेसन फ्लाइट भनेको विमान उडान र अवतरणका साथै विमानस्थलमा अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो।
अहिले महामारीको अवस्थालाई हेर्दा प्राविधिक तत्काल आउनसक्ने सहज वातावरण नदेखिए पनि थोरै जनशक्तिबाट आयोजनाका अन्य कार्य भने जारी छन्।
अहिले पनि आयोजना स्थलमा नेपाली, भारतीय र चाइनिज गरी एक सय कामदारले काम गरिरहका छन्। अब लाइट जडान, फर्निचर फर्निसिङ, फल सिलिङ, फिनिसिङ र केही उपकरण जडानको काममात्रै बाँकी छ।
विमानस्थलको आइसिभी १ अन्तर्गतको कामको लागि ६ अर्ब २२ करोड रुपैयाँमा चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले ठेक्का सम्झौता गरी काम गरिरहेको छ। आइसिभी २ अन्तर्गत उपकरण जडानको लागि थाइल्याण्डको एरो थाइ कम्पनीले ५० करोड रुपैयाँमा ठेक्का लिएको छ।
यो विमानस्थल निर्माणका लागि एसियाली विकास बैंक (एडिबी) ले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान उपलब्ध गराएको छ। त्यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३०.५ प्रतिशत ऋण र नेपाल नागरिक उड्ययन प्राधिकरणको ११ प्रतिशत लगानी रहेको छ।
यो विमानस्थल निर्माण सम्पन्न भएपछि कुनै कारणवश काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या आउँदा भारत तथा नजिकका विमानस्थलहरूमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यता हट्ने छ। सोही कारण यो विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थल भनिन्छ।
वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सक्ने लक्ष्य विमानस्थलको छ। यस्तै विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माणको लागि पनि सरकारले बजेट सुनिश्चित गरिसकेको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणका लागि सरकारले ३ अर्ब ५३ करोड रुपैयाँ सुनिश्चित गरेको हो।
आर्थिक वर्ष २०७८/०७९ को बजेटमा विमानस्थलको बाँकी काम सम्पन्न र नयाँ टर्मिनल भवन निर्माणका लागि ३ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएसँगै दोस्रो टर्मिनल भवन निर्माणको प्रक्रियासमेत अगाडि बढाउने तयारी गरिएको आयोजना प्रमुख अधिकारीले बताए।
विमानस्थलमा अहिले रहेको टर्मिनल भवन सानो रहेको छ भने एरोब्रिज (टर्मिनल भवनको प्रस्थान कक्षबाट सिधै जहाजभित्र प्रवेश गर्न मिल्ने पुल) को सुविधासमेत छैन। नयाँ बन्ने आधुनिक टर्मिनल भवनमा एरोब्रिजको सुविधा रहने छ। नयाँ बन्ने टर्मिनल भवनको डिजाइन यसअघि नै टुंगो लागिसकेको र सरकारले आगामी वर्षको बजेटमा रकम समेत विनियोजन गरिसकेकोले अब छिट्टै बोलपत्र आह्वान गर्ने आयोजनाले जनाएको छ।
हाल रहेको टर्मिनल भवनको पश्चिमतर्फ निर्माण हुने नयाँ टर्मिनल भवनमा ६ वटा एरोब्रिज रहने गरी डिजाइन गरिएको छ। एरोब्रिज सुविधा भएको टर्मिनल भवन नेपालका अरू विमानस्थलमा पनि अहिलेसम्म छैनन्।
दोस्रो टर्मिनल भवन निर्माण नहुँदासम्म अहिलेकै भवनबाट आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलको काम चलाए पनि नयाँ बनेपछि भने अहिलेको भवनलाई आन्तरिक टर्मिनल भवनको रूपमा मात्र प्रयोग गरिने आयोजनाले जनाएको छ।
कुल ७८७ विघा क्षेत्रफलमा निर्माण भइरहेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ठूलो हुने छ। जहाँ तीन किलोमिटर लामो धावनमार्ग निर्माण सम्पन्न भइसकेको छ भने बोइङ ७७७-२००, एयरबस ३३०-३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्न सक्नेछन्।
गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रवेशद्वारमै निर्माण भइरहेको यो विमानस्थलले लुम्बिनी प्रदेशको मात्र नभई देशकै पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा सरकारको छ।