कोरोना महामारीपछि जारी निषेधाज्ञाको कारण सुनसान लुम्बिनी हरियारी मैदान, रंगीचंगी रुपमा फुलेका फुल र चराचुरुङ्गीको चिरविरले मनमोहक बनेको छ ।
फागुन चैत महिनामा पात झरेर सिख्रै बनेका बोटविरुवामा अहिले नयाँ पालुवा पलाएर पात फेरिएका छन् ।
मायादेवी मन्दिर, विभिन्न राष्ट्रले बनाएका मन्दिर र गुम्बा परिसरको मैदान र बगैंचा थरिथरिका फूलले ढकमक्क बनेका छन्।
लुम्बिनीमा बाह्रै महिना फुल्ने फूलहरू रोपिएको भए पनि बसन्त ऋतुमा फुलेका फूलहरूले भने लुम्बिनीको सुन्दरता झनै थपेको छ।
शान्ति बगैंचा, केन्द्रीय नहर, मायादेवी मन्दिर परिसर तथा विभिन्न देशले बनाएका गुम्बा र मन्दिर वरिपरि बेगनबेली, गुलाब र बाह्रैमासे फुल्ने थरिथरिका फूलले ढाकिएको छ।
हरियो दुबोसहितको पार्क र थरिथरिका फूलले सजिएका बगैंचाले पर्यटकहरूको आगमनलाई पर्खिएको आभास हुन्छ।
दैनिक रूपमा लुम्बिनी पुग्ने सयौं पर्यटकलाई जलयात्राको आनन्द दिने केन्द्रीय नहर पनि अहिले सफा देखिएको छ।
अरूबेला लेउ र पातपतिङ्गरले ढाकिने नहरको पानी पनि अहिले सफा र निर्मल देखिएको छ ।
लुम्बिनीभित्रका विभिन्न पोखरी तथा सिमसारमा विभिन्न रङमा फुलेका कमलका फूलले लुम्बिनी साँच्चिकै कल्पनाको स्वर्गजस्तै देखिएको छ।
तस्बिरहरू: