रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी संगीता गुप्ता अस्पताल भर्ना भएको ९ दिन भयो।
उनमा वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भयो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइयो।
पहिले नै बिरामीहरूले खचाखच भरिएको कोभिड इमर्जेन्सीमा संगीता पनि थपिइन्। सीमित बेडमा बिरामीहरूको संख्या दोब्बरभन्दा बढी भएपछि उनीहरूलाई भुइँमै उपचार गर्नुको विकल्प थिएन। संगीता पाँच दिनसम्म भुइँमै बसेर उपचार गरिन्। तीन दिन भयो, छेऊकै बेडको बिरामी डिस्चार्ज भएपछि उनले बेड पाएको।
उनी अस्पतालमा आउँदा अक्सिजन सिलिण्डर थिएनन्। इमर्जेन्सीमा भर्ना भएका उनीजस्तै सबै बिरामीले आफैंले जोहो गरेर अक्सिजन लिएरै आएका थिए।
एकातर्फ आर्थिक अवस्था कमजोर, अर्कोतर्फ अक्सिजन र सिलिण्डरको अभाव। जसोतसो छिमेकी र आफन्तसँग हारगुहार गरेर सिलिण्डरका लागि रकम जोहो गरिन्।
उनीमाथि अर्को समस्या खडा भयो सिलिण्डरमा अक्सिजन भर्न कहाँ जाने?
‘ऋण खोजेरै ६० हजार धरौटी राखेर दुइटा सिलिण्डर ल्याएँ तर त्यसमा अक्सिजन भर्नै गाह्रो छ, एउटा सिलिण्डर भरेर जोड्नेबित्तिकै एक जना अर्को सिलिण्डर भर्न हिँडिसक्नुपर्छ,’ उनले भनिन्।
बुटवल-११ की रिमा विकले पनि कोरोना संक्रमित आमालाई आफैंले अक्सिजनको जोहो गरेपछि मात्रै कोभिड इमर्जेन्सीको भुइँमा राखेर उपचार सुरू गरिएको बताइन्।
संगीता र रिमामात्र होइन, लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड इमर्जेन्सी, फिभर क्लिनिक र कोरोना अस्पतालको एचडियूमा भर्ना भएका बिरामीलाई अक्सिजन आफैं जोहो गर्नुपर्ने बाध्यता छ।
बिरामीका आफन्तलाई अस्पतालमा बेड नपाइला भन्दा पनि अक्सिजन कसरी जुटाउने भन्ने चिन्ता छ।
‘अस्पतालमा भर्ना भएको सात-आठ दिनसम्म सरकारी अस्पतालमा पनि अक्सिजन आफैंले खोजेर ल्याउनुपर्ने, गरिबले कसरी उपचार गर्ने?,’ उनले प्रश्न गरिन्।
‘अक्सिजन आइरहेको छ, अब अभाव हुँदैन’ भन्दै मन्त्रीहरूले फेसबुकमा लेखेको स्मरण गर्दै कपिलवस्तुका कुमार क्षेत्रीले एक सातासम्म पनि अस्पतालले अक्सिजन दिन नसकेको गुनासो गरे।
भिनाजुलाई कोरोना संक्रमण भएपछि पाँच दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएका उनले दुई जनाको दिन सिलिण्डर खोज्न र अक्सिजन भर्न हिँड्दैमा बित्ने गरेको बताए।
गत वैशाख २९ गते बुटवलको कोरोना अस्पताल र भैरहवाको भीम अस्पतालमा आधा घण्टामात्रै अक्सिजन आउन ढिलो हुँदा ८ जना बिरामीको मृत्यु घटनाले आफन्त झनै त्रसित बनेका छन्।
‘अस्पतालले अक्सिजन छैन भन्छ, हामी आफैं खोज्न जाँदा ८-१० घण्टामा पनि एउटा सिलिण्डर भरेर ल्याउन सकिँदैन, सिलिण्डर भरेर नल्याउँदै कतै बिरामीको मृत्यु हुन्छ कि भन्ने डर मनमा आइरहन्छ,’ कुमार पीडा पोख्छन्।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले अस्पतालको आवश्यकताभन्दा न्यून अक्सिजन आउँदा समस्या भएको बताए।
‘थोरै-थोरै गरेर आउने अक्सिजन आइसियू र भेन्टिलेटरमा भर्ना भएका बिरामीलाई पनि पुग्दैन, इमर्जेन्सीमा भर्ना हुने बिरामीका लागि आफन्तले जोहो नगर्ने हो भने उपचार नै गर्न सकिँदैन,’ उनी भन्छन्।
लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र होइन, रुपन्देही, दाङ, बाँके र लुम्बिनी प्रदेशका सबै जिल्लाका अस्पतालहरूमा अक्सिजनको अभाव उस्तै छ।
लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा रहेका अक्सिजन उद्योगहरूको क्षमता हाल दैनिक २१ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने रहेको छ।
तर, माग भने दैनिक ३५ सय सिलिण्डरको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटाले उत्पादन क्षमताभन्दा झण्डै दोब्बरको संख्यामा अक्सिजन सिलिण्डरको माग हुँदा अक्सिजन अभाव भएको बताए।
‘पहिले यति धेरै अक्सिजनको माग हुँदैनथ्यो, प्रदेशमा उत्पादन हुने २१ सय सिलिण्डरले राम्रोसँग धानिरहेको थियो, अहिले एकैपटक माग बढ्यो तर उत्पादन बढाउन सकिएन,’ उनले भने।
उनले पहिले निमोनिया भएर आएकालाई पनि ५-६ लिटर दिएर हुनेमा कोभिडका कारण निमोनिया भएका बिरामीलाई प्रतिमिनेट १५-२० देखि ३०-३५ लिटर अक्सिजन दिनुपर्दा ठूलो मात्रामा खपत भएको बताए।
डा. देवकोटाले अक्सिजन अभाव हुँदा अस्पतालहरूमा आइसियू र एचडियू थप गर्न र भएका बेडमा बिरामी भर्ना गर्न नसकिएको बताए।
‘अहिले बेडभन्दा पनि अक्सिजनको खाँचो हो, अक्सिजन उपलब्ध हुनसके बेडको समस्या छैन, तत्काल व्यवस्थापन गर्न सकिन्छ,’ देवकोटाले भने।
प्रदेशभित्रका उद्योगको उत्पादनले थेग्ने अवस्था नभएपछि विराटनगर, बारा, चितवन र भारतबाट लिक्विड अक्सिजन ल्याएर काम चलाउने गरिएको उनले बताए।
‘रुपन्देहीको शंकर अक्सिजन ग्यासमा भारतबाट पनि एकपटक ५ सय सिलिण्डर र सोमबार मात्रै १ हजार सिलिण्डर लिक्विड अक्सिजन आएको छ,’ डा. देवकोटाले भने।
अक्सिजन उत्पादन कम मात्रै होइन, सिलिण्डर पर्याप्त छैनन्।
डा. देवकोटाका अनुसार लुम्बिनी प्रदेशका अस्पतालहरूमा हाल २६ सयको हाराहारीमा अक्सिजन सिलिण्डर छन्। भएका सबै सिलिण्डरमा एकैपटक अक्सिजन भरेर प्रयोगमा आउन नसक्दा ठूलो अभाव देखिएको उनले बताए।
‘अक्सिजनको अभाव त छ नै, सिलिण्डरको संख्या पनि कम हुँदा व्यवस्थित गर्न सकिएको छैन,’ उनले भने।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख डा. खनाल पनि कतिपय स्थानीय तह र विभिन्न सामाजिक संस्थाहरूले घर-घरमा पठाउने गर्दा अस्पतालहरूमा अक्सिजन र सिलिण्डरको अभाव भएको बताउँछन्।
‘घर-घरमा अक्सिजन पठाउनु नै गलत हो, अक्सिजन लगाउनुपर्ने बिरामी र सिलिण्डर अस्पतालमा ल्याउने हो भने अक्सिजन अभाव थोरै कम हुन्थ्यो,’ उनी भन्छन्।
हाल लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक सात सयभन्दा बढी अक्सिजन सिलिण्डर आवश्यक छ। तर, अस्पताललाई दुई सय सिलिण्डर पनि आउन नसकेको उनको भनाइ छ।
त्यसैगरी, कोरोना संक्रमितको उपचार भइरहेको भैरहवास्थित भीम अस्पतालमा पनि दैनिक चार सयभन्दा बढी सिलिण्डरको माग छ। आपूर्ति भने मागको आधा पनि हुन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सकुन्तला गुप्ता बताउँछिन्।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा पनि अक्सिजनको अभाव उस्तै छ।
अस्पतालका प्रशासकीय प्रमुख कमल ढकाल हरेक दिन छिटो उज्यालो भइदिओस् भन्ने कामना गर्दै रात बिताउने गरेको बताए।
अस्पतालहरूमा अक्सिजनको अभाव भएपछि प्रदेश सरकारले अक्सिजन प्लाण्ट स्थापना गर्ने योजना बनाइरहेको मन्त्रालयका सचिव डा. देवकोटाले बताए।
‘संघीय सरकारमार्फत् बजेटको सहमति भएको छ, जति छिटो निकासा हुन्छ हामी प्लाण्ट स्थापना गरेर अक्सिजनको अभाव पूरा गर्नुपर्छ भन्ने तयारीमा छौं,’ डा. देवकोटाले भने।