वैशाख सुरूदेखि नै कोरोनाभाइरसको दोस्रो लहर रूपन्देहीमा पनि फैलिइसकेको थियो। चैतको अन्तिम सातासम्म दुई डिजिटमा रहेको सक्रिय संक्रमितको संख्या वैशाख १ गते १ सय ८८ पुग्यो।
त्यसपछिका दिनमा संक्रमित थपिने क्रम दिनदिनै बढ्यो। नयाँ वर्षको अवसरमा भएका जमघट, होटल रेष्टुरेन्टका भोज तथा विवाह व्रतबन्धजस्ता कार्यक्रम संक्रमण फैलाउन सहयोगी बने।
बुटवल ११ का मित्र शर्मा (नाम परिवर्तन) को घरमा पनि वैशाख सुरू नहुँदै बिहेको चर्चा चलिरहेको थियो।
२९ वर्ष लागेका मित्र पनि अब बिहेका लागि ढिलो गर्नु हुँदैन भन्नेमा थिए। भारतमा फैलिइरहेको कोरोनाको दोस्रो लहर नेपालमा पनि आइसकेको भए पनि सरकारले तत्काल लकडाउन नगर्ने बताइरहेको थियो।
संक्रमण धेरै फैलिएको जिल्ला वा शहरमा स्थानीय प्रशासनले लकडाउन गर्न सक्ने सरकारको भनाइ थियो। रूपन्देही लकडाउन गरिहाल्ने अवस्थामा पुगिसकेको थिएन। मित्रको परिवारमा पनि कोरोना धेरै नफैलिँदै उनको बिहे गरिदिने भन्दै केटी हेर्ने काम भइरहेको थियो।
दुबै पक्षको भेटघाट र कुराकानी पछि वैशाख ९ गते गुल्मीकी एक युवतीसँग मित्रको बिहे टुंगो लाग्यो। वैशाख १५ गते विवाह गर्ने सल्लाह भयो।
उनको विहेको दिन जति नजिक आइरहेको थियो, कोरोना संक्रमितको संख्या त्यति उकालो लाग्दै थियो। वैशाख १ गते १८८ रहेको सक्रिय संक्रमितको संख्या ९ गते ५९५ र १५ गते २ हजार २ सय १२ पुगेको थियो।
स्थानीय प्रशासनले १६ गतेदेखि जिल्लामा निषेधाज्ञा लगाउने तयारी गरिरहेको थियो। यस्तो अवस्थामा बिहेको टुंगो लागे पनि दुबै पक्षका मानिस सीमित संख्यामा उपस्थित भई औपचारिकतामात्र पूरा गर्ने सहमति भयो।
निषेधाज्ञाको मिति तय भइसकेको अवस्थामा बुटवलदेखि जन्ती लिएर गुल्मी जाने अवस्था थिएन। बेहुलीको परिवार बुटवल आएर बेहुली पक्षका ५ र बेहुला पक्षका ३ गरी ८ जनाको उपस्थितिमा विवाह सकियो।
मित्रलाई विवाहको मिति टुङ्गिएपछि नै बिसञ्चो हुन थालेको थियो। वैशाख १० गते ज्वरो आएपछि उनी नजिकैको मेडिकलमा गई औषधि लिएर घर आए।
घरका सदस्य विवाहको तयारीमा व्यस्त थिए, मित्र भने ज्वरो निको हुने प्रतीक्षामा औषधि खाँदै थिए। औषधि खाएको दुई दिनसम्म पनि ज्वरो नघटेपछि मित्रलाई दाइले मोटरसाइकलमा राखेर पुनः मेडिकल हलमै पुर्याए। मेडिकल सञ्चालकले उनलाई टाइफाइड भन्दै स्लाइन पानी चढाएर पाँच दिनको औषधि थपेर घर पठाइदिए।
वैशाख १५ गते विवाहको मण्डपमा पनि उनले टाइफाइड भन्दै मेडिकल सञ्चालकले दिएको औषधि खाएर बसेका थिए। सीमित मानिसको उपस्थितिमा भएको विवाह दिउँसो ३ बजे सकिएको थियो।
बेहुली भित्र्याएर घरमा खुसियाली मनाइरहँदा मित्रको शरीरमा भने बिसन्चोले च्यापिरहेको थियो। पाँच दिनदेखि ज्वरोले थलिएका मित्रलाई बिहेको साँझ नै श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलको मेडीटेक अस्पताल लगियो।
पाँच दिनदेखि ज्वरो आएका मित्रलाई त्यो दिन अस्पतालमै राखी पिसिआर परीक्षण गरियो। ज्वरो आउनेबित्तिकै स्वास्थ्यकर्मीको सम्पर्कमा पुगे पनि कोरोना पो हो कि? भनेर शंकासमेत नगरिएका मित्रको १६ गते साँझ पिसिआर रिपोर्ट कोरोना पोजेटिभ आयो।
कोरोना देखिए पनि १६ गते साँझ स्वास्थ्यमा केही सुधार भएको महसुस गरेपछि दाइले मित्रलाई घर लिएर सुरक्षित राखेका थिए। १७ गते फेरि श्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई मेडीटेकमै लगियो। मेडीटेकमा एकदिन अक्सिजन दिएर राखेपछि १८ गते लुम्बिनी प्रादेशिक अस्पताल लगिएका मित्रलाई सोही दिन धागो कारखानास्थित कोरोना अस्पताल पुर्याइयो।
११ दिनपछि उनी कोरोना अस्पतालबाट कहिल्यै नफर्किने गरी २९ गते सधैँका लागि यो संसारबाट बिदा भए।
कोरोना विशेष अस्पतालमा मोटरसाइकल पछाडि राखेरै पुर्याएका उनका दाजुले प्लास्टिकमा बेरिएको भाइको शव बुझ्न बाध्य भए।
नयाँ जीवनको सुरू गर्ने सपना देखेर बेहुली भित्र्याएको घरमा १५ दिनमै बेहुलाको अर्थी उठेको छ।
कोरोना विशेष अस्पतालमा एकदिन अक्सिजनसहित राखिएका उनलाई श्वासप्रश्वासमा झनै समस्या बढ्दै गएपछि १९ गते नै आइसियूमा सारिएको थियो।
आइसियुमा रहेको भाइलाई रेखदेख गर्न नपाए पनी उनका दाजु र परिवार दैनिकजसो कोरोना अस्पताल बाहिर गएर उनको छिटो स्वास्थ्यलाभको कामना गर्थे। वैशाख २९ गते पनि मित्रका दाजु दिनभरि कोरोना अस्पतालको बाहिर बसेर अपरान्ह पाँच बजेतिर घर फर्किएका थिए।
वैशाख तेस्रो सातादेखि नै लुम्बिनी प्रादेशिक अस्पतालले अक्सिजन अभाव भइरहेको सूचना सार्वजनिक गरिरहेको थियो। सिकिस्त अवस्थाका बिरामी दैनिक थपिएर माग बढिरहे पनि विद्युत ट्रिपिङको समस्याको कारण अक्सिजन उत्पादन भने घटिरहेको थियो।
त्यसैमाथि घरमा रहेका संक्रमितले घरमै अक्सिजन सिलिन्डर लगेर प्रयोग गर्दा अस्पतालको अभाव झनै बढिरहेको थियो। अक्सिजनको चरम अभाव भएपछि २९ गते नेपाली सेनाको हेलिकप्टरले बारा र चितवनबाट ४१ वटा अक्सिजनका सिलिन्डर ल्याउँदै थियो।
हेलिकप्टरमा ल्याइएका सिलिन्डर अस्पताल पुग्दा ढिलो भइसकेको थियो। अस्पतालमा भएको अक्सिजन सकिँदा मित्रसँगै थप ४ जनाको प्राण पखेरू उडिसकेको थियो।
अस्पतालमा लगिएको बिरामी निको हुँदै जाँदा अक्सिजन नपाएर एक्कासी मृत्यु हुनु अस्पताल र सिंगो सरकारकै लापरबाही भएको मित्रका दाइले बताए।
'भाइको स्वास्थ्य त्यति कमजोर थिएन, अस्पतालका स्वास्थ्यकर्मीले निको भइरहेको छ भन्नुभएको थियो तर, सन्चो हुने बेलामा अक्सिजन नपाएर भाइको ज्यान गयो,` उनले भने।
कोरोना अस्पतालमा मृत्यु हुने बिरामीको शव उपचाररत् बिरामीकै अगाडि प्लास्टिकले र्यापिङ गरेको देख्दा पनि कमजोर मुटु भएका बिरामीको मृत्यु भएको हुन सक्ने उनी बताउँछन्।
´फोनमा कुरा हुँदा छेउमै रहेको बिरामी मृत्यु हुँदा र प्लास्टिकले र्यापिङ गरेका दृश्य देख्दा डर लागिरहन्छ भन्थ्यो, अस्पतालले बिरामीको मानवीय संवेदनालाई पनि ख्याल गर्नुपर्थ्यो,` उनी भन्छन्।
ज्वरो आएको दिनमै मेडिकल गए पनि टाइफाइड भनेर औषधि दिँदा समयमै कोरोनाको उपचारतर्फ लाग्न नसकिएको उनी बताउँछन्।
'औषधि सुरू गरेको तीन दिनसम्म पनि कुनै सुधार नभएपछि मेडिकलमा गएर भाइको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको थिएँ, तर औषधीको डोज ५ दिनको भएकोले सन्चो हुन्छ भनेर हामी पनि झुक्कियौं,´ उनी भन्छन्।
भाइलाई ज्वरोमात्र रहेको र कोरोना संक्रमणमा ज्वरोसँगै रूघाखोकीसमेत हुन्छ होला भनेर सुरूमै त्यता ध्यान नदिएको उनले बताए।
मित्रको मृत्युपछि सिङ्गो परिवारसँगै उनकी पत्नी विक्षिप्त छन्। सिउँदोमा सिन्दुर भरेर विवाहको प्रक्रियामात्र पूरा गरे पनि राम्रोसँग अनुहारसमेत हेर्न नपाउँदै श्रीमान् गुमाएको पीडा उनले स्वीकार गर्न सकेकी छैनन्।
‘यस्तो बेलामा बिहे नगरौं भन्ने थियो। फेरि कुरा टुंगिएकाले जमघट नगरी सिन्दुरमात्र हालौं भनेर बिहेको प्रक्रिया पूरा गरौं भनेर बिहे गरियो। आज यस्तो दिन देख्नु पर्यो,’ मित्रका दाजु भन्छन्।