कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दा उपचारका लागि रुपन्देहीमा २ वटा अस्पताल थपिएका छन्।
हाल संक्रमितहरुको उपचार गराइरहेका ४ वटा अस्पतालमा विरामीको चाप बढेर बेड अभाव भएपछि अरु २ वटा थपिएका हुन्।
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठको पहलमा देवदहस्थित देवदह मेडिकल कलेज र बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)लाई कोरोना संक्रमितको उपचारका लागि थप गरिएको हो।
देवदह मेडिकल कलेजमा ५ बेडको एचडीयू र १० बेडको जनरल वार्डसहित १५ बेड कोरोना संक्रमितको लागि छुट्टयाएर शुक्रबारदेखि उपचार शुरु गरिएको छ।
त्यस्तै सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा पनि १० बेडको एचडियू वार्ड स्थापना गरी संक्रमितको उपचार शुरु गरिएको छ। आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्यालले बालबालिका तथा महिलालाई लक्षित गरी अस्पतालमा एचडियू वार्ड स्थापना गरिएको जानकारी दिए।
त्यस्तै देवदह मेडिकल कलेजका निर्देशक डा. बिक्रम ज्ञवालीले हाल १५ बेडमा कोरोना संक्रमितको उपचार शुरु गरिएपनि छिट्टै ५० बेड पुर्याइने बताए।
यसअघि रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, भिम अस्पताल भैरहवा र क्रिमसन अस्पतालमा कोरोना संक्रमितको उपचार हुंदै आएको थियो।
भिम अस्पताललाई पूर्ण कोभिड अस्पताल बनाइयो
रुपन्देहीको भैरहवास्थित भिम अस्पताललाई पूर्णरुपमा कोभिड अस्पताल बनाइएको छ। संक्रमितको चाप अत्यधिक बढेपछि अस्पतालले प्रदान गर्दै आएको अन्य सुविधा रोकेर कोभिड अस्पताल बनाइएको हो।
तर अस्पतालको क्षमताअनुसार जनशक्ति नबढाइँदा भने सेवा प्रदानमा समस्या भएको छ। जनशक्ति न्यून हुँदा स्वास्थ्यकर्मीलाई संक्रमितको उपचार गर्नै मुस्किल परेको अस्पतालले जनाएको छ।
अस्पतालमा जनरल फिजिसियन विशेषज्ञ नभएपछि बालरोग विशेषज्ञले कोभिड संक्रमितको उपचार गरिरहेको अस्पतालका कोरोना फोकल पर्सन डा. आरिफ हुसेनले बताए।
२५ बेड क्षमताको अस्पताल हुँदा रहेका ३ जना विशेषज्ञ र ३ जना मेडिकल अधिकृत गरी ६ जना चिकित्सकको दरबन्दी स्वीकृत गरिएको थियो। त्यसयता गत वर्ष लुम्बिनी प्रदेश सरकारले अस्पताललाई स्तरोन्नति गरी २५ थपेर ५० बेड पुर्याइएपनि दरबन्दीअनुसार कर्मचारी र चिकित्सक उपलब्ध नभएको अस्पतालले जनाएको छ।
गत वर्षदेखि कोभिड अस्पतालको रुपमा २७ बेड पुनः थप गरी सेवा प्रदान भइरहेको छ। लीलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानले निर्माण गरेको अस्पतालको आकस्मिक कक्षमा २१ सहित कुल १ सय ४ बेडमा विरामी भर्ना भएका छन्। तर जनशक्ति अभावमा पूर्ण क्षमतामा संचालन हुन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले बताइन्।
अस्पतालको क्षमता अनुसार सेवा प्रदान गर्न मेडिकल अफिसरसहित २४ जना चिकित्सक, ६० भन्दा बढी स्टाफ नर्स र २५ जना कार्यालय सहयोगी थप गर्नुपर्ने गुप्ताको भनाई छ।
अस्पतालमा हाल मेडिकल अफिसरसहित चिकित्सक २०, स्टाफ नर्स र अनमी गरेर ४६ जना, १८ जना कार्यालय सहयोगी र ८ जना सरसफाइ कर्मचारी कार्यरत छन्। मेसुसहित ५ जना मात्रै स्थायी चिकित्सक छन्।