भैरहवाका राजेश विश्वकर्मा बिहीबार बिहान रोपन्देहीको रोहिणी-४ छिपागढस्थित शंकर अक्सिजन ग्यास उद्योगको गेटमा भक्कानो छोडेर रोइरहेका थिए।
राजेशकी दिदी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डको २८ नं. बेडमा भर्ना भएको वैशाख २० गतेदेखि हो। कोरोना संक्रमण पुष्टि भएपछि राजेशले दिदीलाई लुम्बिनी प्रदेशकै ठूलो प्रादेशिक अस्पतालमा लगेका थिए।
तर, अस्पतालमा अक्सिजन अभाव भएपछि उनी आफैं अक्सिजन खोज्दै अक्सिजन ग्यास उद्योग धाइरहेका छन्।
‘अस्पतालले आफ्ना बिरामीलाई चाहिने अक्सिजन आफैं जोहो गर्नुस् भन्छ, अक्सिजन उद्योगमा आउँदा अस्पतालको लागि चाहिने सिलिन्डर अस्पतालमै पठाएका छौं भन्छन्, हामी कहाँ जाने?,’ उनी रुँदै भन्दै थिए।
दिदीलाई अस्पताल भर्ना गर्दाका सुरूका केही दिन अक्सिजनको त्यति ठूलो हाहाकार नभए पनि एक हप्तादेखि भने उनी अक्सिजन उद्योगमा सिलिन्डर खोज्दै भौंतारिरहेका छन्।
‘अस्पताल भर्ना भएका बिरामीहरू कोरोना लागेर मात्र होइन, अक्सिजन नपाएर मरेका छन्, अस्पतालले ५० वटा सिलिन्डर आउँछ तर डेढ सय बढी बिरामी छन् कसलाई दिने भन्छन्,’ उनले भने।
राजेशले अस्पतालमा नि:शुल्क पाउनुपर्ने अक्सिजन २२ हजार डिपोजिट राख्दा पनि एउटा सिलिन्डर नपाउनु दु:खद् कुरा भएको बताए।
दिदीलाई अक्सिजन लगाए केही आराम भए पनि अक्सिजन सकिएपछि बिरामले च्यापिहाल्ने गरेको उनले बताए। बल्लतल्ल हारगुहार गरी किनेको एउटा सिलिन्डर को अक्सिजन सकिन लाग्दा उनको मन बेचैनीले छटपटिन्छ।
सिलिन्डर खाली भएपछि अक्सिजन भरेर ल्याउँदासम्म कतै दिदीको श्वास रोकिन्छ कि भनेर उनी तर्सिइरहन्छन्। ‘एउटा सिलिन्डर भरेर अस्पताल पुर्याउन महाभारत जितेजस्तो हुन्छ, त्यही सिलिन्डर नजोड्दै फेरि अर्को सिलिन्डर भर्न हिँड्नुपर्छ,’ उनले भने।
भएको एउटा सिलिन्डर को अक्सिजन पनि सकिएपछि उनी बुटवलदेखि झण्डै ३५ किलोमिटर टाढा शंकर अक्सिजन ग्यास उद्योगमा बिहानै अटो चढेर पुगेका थिए।
पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ५ का दुर्गा थापाकी आमा पनि १० दिनदेखि प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी छन्। अस्पतालमा आमासँगै श्रीमतीलाई राखेर दुर्गा पनि अक्सिजनको जोहो गर्न दैनिकजसो अक्सिजन उद्योग चहारिरहन्छन्।
तर, उद्योगहरूमै पुगे पनि तीन दिनदेखि अक्सिजन नपाएको दुर्गाले गुनासो गरे।
राजेश र दुर्गा मात्र होइन, अस्पताल र घर-घरमा अक्सिजन सिलिन्डर को सहायतामा रहेका बिरामीका आफन्तहरू दैनिकजस्तो अक्सिजन ग्यास उद्योग चहारिरहेका छन्।
रुपन्देहीमा रहेका शंकर अक्सिजन ग्यास, लुम्बिनी अक्सिजन इण्डष्ट्रिज र लुम्बिनी अक्सिजन ग्यास प्रा.लि.को गेटबाहिर मोटरसाइकल र अटो रिक्सादेखि एम्बुलेन्स र अस्पतालका स्वास्थ्यकर्मी बोक्ने बस अक्सिजन सिलिन्डर का लागि लाइन लाग्ने गरेका छन्।
रुपन्देहीका मेडिकल कलेजदेखि लुम्बिनी प्रादेशिक अस्पताल र निजी अस्पतालका कर्मचारीसमेत अक्सिजनको लागि उद्योगमा लाइन लागेर बस्ने गरेका छन्। अक्सिजन लिन पुगेका युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका कर्मचारी राजेशप्रसाद अवस्थीले रातिको समयमा लोडसेडिङ हुँदा सिलिन्डर भर्न समस्या भएको र अस्पतालहरूमा अक्सिजन सप्लाइमा ढिला भएको बताए।
यता लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले अस्पतालमा बिरामीका लागि अक्सिजनको अत्यधिक माग भए पनि कम मात्रामा उद्योगहरुबाट आयात हुँदा समस्या बढ्दै गएको बताए। उद्योगले २४ घण्टामा क्षमता अनुसार रिफिल गरे पनि माग नै बढी हुँदा समस्या बढ्दै गएको उनले बताए।
शंकर अक्सिजन ग्यास प्रा.लि.का मेसिन अपरेटर विनय ठाकुरले दिउँसो विद्युत आपूर्ति भए पनि रातिको समयमा लोडसेडिङ हुँदा क्षमता अनुसार उत्पादन नभएको बताए। ‘एकै रातमा ८ देखि १० पटकसम्म लोडसेडिङ हुन्छ, २४ घण्टामा साढे ५ सय सिलिन्डर अक्सिजन ग्यास उत्पादन क्षमता भए पनि विद्युत नियमित नहुँदा क्षमता अनुसारको उत्पादन हुन सकेको छैन,’ ठाकुरले भने।
भैरहवा विद्युत वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झाले नवलपरासीको कावासोतीमा रुख ढलेर आधा घण्टा सप्लाई बन्द भएको भए पनि अहिले समस्या नरहेको बताए।
झाले वैशाख १२ गते जिल्ला प्रशासन कार्यालयमा अक्सिजन उद्योगी, विद्युत कार्यालयका प्रमुख र प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसी भवितव्यका लागि अक्सिजन उद्योगले केही मिनेटको ब्याकअप राख्ने निर्णय गरिएको भए पनि उद्योगीले त्यसो नगरेको बताए।
रुपन्देहीमा रहेका तीन वटा अक्सिजन प्लाण्टबाट दैनिक १ हजार १ सय २६ सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहे पनि विद्युत आपूर्तिमा केही समय समस्या हुँदा पनि उत्पादन घट्ने गरेको छ।
जिल्लामा अक्सिजनको चरम अभाव भएपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बैठक बसी तीन वटै अक्सिजन प्लाण्टबाट उत्पादन हुने १ हजार १ सय २६ सिलिन्डरमध्ये प्राथमिकता र आवश्यकताको आधारमा तीन वटा अस्पतालमा उपलब्ध गराउने सहमति भएको थियो।
शंकर अक्सिजन उद्योगले दैनिक ५५० सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएकोमा लुम्बिनी प्रादेशिक अस्पताललाई २३०, भीम अस्पताललाई १५० र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई १२० सिलिन्डर उपलब्ध गराउने सहमति भएको थियो।
त्यस्तै, लुम्बिनी अक्सिजन इण्डष्ट्रिजले उत्पादन गर्ने २८८ सिलिन्डर मध्ये लुम्बिनी प्रादेशिक र भीम अस्पताललाई ५०-५० र युसिएमएसलाई १५०, लुम्बिनी अक्सिजन ग्यास प्रा.लि.को २८८ सिलिन्डर मध्ये लुम्बिनी प्रादेशिकलाई ५० र युसिएमएसलाई १५० सिलिन्डर अक्सिजन उपलब्ध गराउने सहमति भएको थियो।