अस्पतालमा अक्सिजनको अभावका कारण कोरोनाका बिरामीको मृत्यु हुन थालेपछि रुपन्देहीमा नेपाली सेनाको हेलिकप्टरबाट अक्सिजन ल्याइएको छ।
बुधबार नेपाली सेनाको एमआई-१७ हेलिकप्टरले ४१ वटा अक्सिजन सिलिण्डर भैरहवा विमानस्थल ल्याएको हो।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अक्सिजन अभावका कारण अस्पतालमा बिरामीहरूको ज्यान जोखिममा परेपछि हेलिकप्टरबाटै भए पनि ५० थान अक्सिजन सिलिण्डर रुपन्देही ल्याइएको जानकारी दिए।
तामाङले रुपन्देहीको उत्पादनले धान्न नसकेपछि तत्काल समस्या समाधान गर्न अक्सिजन सिलिण्डर ल्याइएको बताए।
तामाङका अनुसार बुधबार ल्याइएका अक्सिजन सिलिण्डर भीम अस्पताल र लुम्विनी प्रादेशिक अस्पतालमा पठाइने छ।
बुधबार बाराको सिमराबाट र चितवनबाट ४१ थान सिलिण्डर नेपाली सेनाले ल्याएको र थप एक सय सिलिण्डर बिहीबार बिहान ल्याइने तामाङले बताए।
यसैगरी, खाली भएका सिलिण्डर भर्न बुटवलबाट पोखरा, चितवन, वीरगन्ज, विराटनगर लगायतका स्थानहरूमा पठाइएको र ती सिलिण्डरसमेत आउने क्रममा रहेको तामाङले बताए।
हेलिकप्टरमार्फत् ल्याइएका सिलिण्डर लिन बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी आफैं भैरहवा विमानस्थल पुगेका थिए। तीमध्ये केही सिलिण्डर भीम अस्पताल र बाँकी सिलिण्डर बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पताल ल्याइने सुवेदीले बताए।
आधा घण्टामात्रै अक्सिजन आपूर्ति ढिलाइ हुँदा रुपन्देहीमा बुधबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
‘रुपन्देहीमा मागभन्दा बढी अक्सिजन खपत भइरहेको छ, यो संकटलाई तत्काल व्यवस्थापन गर्न सेनाको हेलिकप्टरबाट अक्सिजन सिलिण्डर ल्याइएको हो,’ रुपन्देहीका प्रहरी उपरीक्षक डा. मनोज केसीले सेतोपाटीलाई भने, ‘भोलि सिलिण्डर रोटेसन गरेर अक्सिजनको समस्या समाधान गर्ने तयारी छ।’