अक्सिजनको चरम अभाव रहेको भन्दै रूपन्देहीका अस्पतालले कोरोना संक्रमितका बिरामी लिन छोडेका छन्।
यसअघि स्थानीय प्रशासन, अस्पताल प्रशासन र अक्सिजन उद्योगका सञ्चालकको संयुक्त बैठकले कोरोना संक्रमितको उपचार गर्ने जिल्लाका तीन वटा अस्पताललाई अक्सिजन दिने सहमति गरेका थिए। तर सहमति अनुसारको अक्सिजन उपलब्ध नभएपछि अस्पतालहरूले थप बिरामी भर्ना गर्न र भर्ना भएका बिरामीलाईसमेत अक्सिजन उपलब्ध गराउन नसकिने बताएका छन्।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसिएमएस) का प्रशासकीय प्रमुख कमल ढकालले तत्काल अक्सिजन उपलब्ध नभए बुधबार चार बजेदेखि बिरामीलाई अक्सिजन उपलब्ध गराउन नसकिने बताएका छन्।
ढकालले मागभन्दा अत्यन्त न्यून संख्यामा अक्सिजन उपलब्ध भएपछि बिरामी भर्ना गर्न नसकिएको र भर्ना भएका बिरामीलाई समेत चार बजेदेखि अक्सिजन उपलब्ध गराउन नसकिने स्पष्ट पारेका हुन्। ‘नयाँ बिरामी भर्ना गर्न त मंगलबारदेखि नै बन्द गरिएको हो, अब भर्ना भएका बिरामीलाईसमेत अक्सिजन दिन नसकिने अवस्था आयो’, ढकालले सेतोपाटीसँग भने।
ढकालका अनुसार अहिले अस्पतालमा कोरोना संक्रमित मात्रै १ सय ९० जना भर्ना भएका छन्। ती मध्ये ७० जना आईसियु र १२ जनाको भेन्टिलेटरमा उपचाररत छन्।
त्यस्तै अस्पतालको नर्मल आईसियुमा ५० जना र ३० जना भेन्टिलेटरमा नन कोभिड बिरामी भर्ना रहेको ढकालले जानकारी दिए।
अस्पतालमा कोभिड र नन कोभिड गरि सबै बिरामीलाई हाल दैनिक सात सय सिलिन्डर अक्सिजन आवश्यक भए पनि ५ सय सिलिन्डर पनि उपलब्ध हुन नसकेको उनले गुनासो छ।
‘कोभिडकै १९० जना बिरामी भर्ना रहेको अस्पतालमा स्टकमा जम्मा ५० वटा सिलिन्डर अक्सिजन छ। त्यसले कति समयलाई पुग्ला, कतिबेला अक्सिजन सप्लाइ हुन्छ टुंगो छैन,’ उनले भने।
जिल्लामा अक्सिजनको चरम अभाव भएपछि आईतafर बैठक बसि युसिएमएससँगै भैरहवाको भीम अस्पताल र बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको सहज आपूर्ति गर्ने सहमति भएको थियो। तर उक्त बैठकले गरे अनुसारको सप्लाई नहुँदा समस्या भएको ढकालले बताए।
उक्त बैठकमा रुपन्देहीमा तीन वटा अक्सिजन प्लाण्टबाट उत्पादन हुने १ हजार १ सय २६ सिलिन्डर मध्ये प्राथमिकता र आवश्यकताको आधारमा तीन वटा अस्पतालमा उपलब्ध गराउन स्थानीय प्रशासनले निर्देशन समेत दिएको थियो।
जिल्लामा रहेको शंकर अक्सिजन उद्योगले दैनिक ५५० सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएकोमा लुम्बिनी प्रादेशिक अस्पताललाई २३०, भीम अस्पताललाई १५० र युसिएमएसलाई १२० सिलिन्डर उपलब्ध गराउने सहमति भएको थियो।
त्यस्तै लुम्बिनी अक्सिजन इण्डष्ट्रीजले उत्पादन गर्ने २८८ सिलिन्डरमध्ये लुम्बिनी प्रादेशिक र भिम अस्पताललाई ५०/५० र युसिएमएसलाई १५० सिलिन्डर तथा लुम्बिनी अक्सिजन ग्यास प्रालिको २८८ सिलिन्डर उत्पादन मध्ये लुम्बिनी प्रादेशिकलाई ५० र युसिएमएसलाई १५० सिलिन्डर अक्सिजन उपलब्ध गराउने सहमति भएको थियो ।
तर अक्सिजन प्लाण्टहरूले सहमति गरे अनुसारको अक्सिजन उपलब्ध नगराउँदा समस्या भएको ढकालले बताए।
पहिलो दिन १ सय, दोस्रो दिन १२० तथा मंगलबार झन्डै आधा मात्रै अक्सिजन उपलब्ध भएको उनले बताए।
अस्पतालमा अक्सिजन अभाव भएको जानकारी प्रदेश र संघीय स्वास्थ्य मन्त्रालयमा गराए पनि खास पहल नभएको उनले गुनासो गरे। ‘यस्तो अवस्था छ भनेर हामीले एक हप्ता अघिदेखि नै भनिरहेका छौँ, तर सरकारी स्तरबाट पहल भईरहेको छ भन्ने आश्वासन मात्र आउने गरेको छ’, उनले भने।
लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालमा पनि अक्सिजन अभावमा संक्रमीत भर्ना गर्न सकिएको छैन भने भर्ना भएका संक्रमितको पनि ज्यान जोखिममा पर्ने गरेको छ।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनालले दैनिक रूपमा अक्सिजन अभाव भएको र सहज आपूर्तिको लागि स्थानीय प्रशासन र प्रदेश सरकारलाई जानकारी गराईरहे पनि उपलब्ध हुन नसकेको बताए।
लुम्बिनी प्रादेशिक अस्पतालमा हाल एचडियूमा ३६, आईसियूमा १६, फिभर क्लिनिकमा ७ र कोभिड इमर्जेन्सीमा ३८ जना कोरोना संक्रमीत भर्ना भएका छन्।
कोभिड र नन कोभिड बिरामीलाई गरि दैनिक ५ सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने भए पनि तीन सय सिलिन्डर पनि उपलब्ध हुन नसकेको डा. खनालले बताए।