बुटवल कालिकानगरका हरि रिमाललाई पुस महिनायताको जीवन भगवानले दिएको उपहारजस्तै लाग्छ। ४७ दिन अस्पतालको भेन्टिलेटरमा रही उपचार गर्दा उनलाई मात्र होइन, उनको परिवारलाई पनि निको भएर घर फर्किएलान् भन्ने आशा कमै थियो।
मार्केटिङमा काम गर्ने हरिलाई गत वर्ष मंसिर २२ गते अचानक शरीरमा बिसञ्चो महसुस भयो। पहिलो लहरको कोरोना संक्रमण केही मत्थर भए पनि संक्रमित थपिने क्रम भने जारी नै थियो।
पहिलो दिन नै ज्वरो आउने र खानाको स्वाद हराएपछि उनी कोरोना संक्रमणको आशंकामा २३ गते स्वाब परीक्षण गर्न लुम्बिनी प्रादेशिक अस्पताल पुगे।
२४ गते उनको स्वाव परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ आयो। त्यतिबेलासम्म ज्वरो आउने र खानाको स्वाद हराउने भए पनि उनी गलिसकेका थिएनन्। घरमै बसेर पोषिलो खाना खाएपछि निको हुन्छ भन्ने मनमा विश्वास लिएका हरि दुई दिन अलग्गै कोठामा सुरक्षित भएर बसे।
तर, उनलाई निको हुनुको सट्टा ज्वरो र शरीरको थकान बढिरहेको थियो। मंसिर २७ गते ज्वरो बढ्दै जाने र शरीर कमजोर बन्दै गएपछि उनलाई परिवारले भैरहवास्थित भीम अस्पताल लग्यो। ३० गतेसम्म भीम अस्पतालमा बस्दा पनि बीसको उन्नाइस नभएपछि उनलाई ३१ गते काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगियो।
काठमाडौ पुर्याइसक्दा उनी भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थामा पुगिसकेका थिए। त्यहाँ लगिएको दिन नै भेन्टिलेटरमा पुगिसकेका हरिलाई लामै समय भेन्टिलेटरमा राख्नुपर्ने अवस्था देखिएपछि पुस २ गते वीर अस्पतालमा रिफर गरियो।
कोरोना संक्रमण देखिए पनि १०-१५ दिनको एकान्तबास र खानपानले जितिएला भन्ने सोचेका हरि वीर अस्पतालको आइसियूमा भेन्टिलेटरमै ४५ दिन बसे। दुई वटा अस्पतालमा भेन्टिलेटरमा रहेका ४७ दिन हरिलाई सम्झना छैनन्।
तर, उनकी श्रीमती अरुणा ज्ञवाली र उनको परिवारलाई भने भेन्टिलेटरमा रहेको ४७ दिन, ४७ युगजस्तै लामो लाग्यो।
‘एकदिन बित्न पनि एक वर्ष जस्तै लाग्थ्यो, मनमा उहाँ सन्चो हुनुहुन्छ भन्ने आशा भने मेटिएको थिएन, सन्चो बनाएर घर ल्याउन पाइयोस् भनेर हरेक दिन भगवानसँग प्रार्थना गर्थें,’ अरुणा भन्छिन्।
अहिले वैशाखयता फैलिएको कोरोना महामारीको दोस्रो लहरले मुलुक आक्रान्त छ। नेपालमा दैनिक ५० जना भन्दा बढी कोरोनाका बिरामीहरूको मृत्यु भइरहेको छ। पचास, सय, हजार हुँदै दैनिक थपिने संक्रमितको संख्या ९ हजार बढी पुगिरहेको छ।
संक्रमण बढ्दै जाँदा अस्पतालको उपचारसँगै बिरामी आफ्नो आत्मबलले पनि कोरोना संक्रमण जित्न सघाउ पुग्ने हरिको अनुभव छ। ‘भेन्टिलेटरमा रहेको ४७ दिन त मलाई केही सम्झना छैन, तर त्यसअघि र पछिका दिनमा भने मलाई कहिल्यै पनि कोरोना जित्न सकिँदैन कि भन्ने डर लाग्दैनथ्यो, म कोरोना जितेरै घर फर्किन्छु भन्ने सोच्थें,’ हरि भन्छन्।
कुनै पनि बिरामीको आधा उपचार उसको आफ्नै आत्मबल भएकोले जो जसलाई कोरोना संक्रमण भएको छ आत्मबल कमजोर हुन नदिन उनी सुझाव दिन्छन्। ‘कोरोनाका बिरामीले मात्र होईन अरु बिरामीले पनि मनमा नकारात्मक कुराहरू सोच्नुस्, अनावश्यक रुपमा सामाजिक सञ्जाल हेर्ने, संक्रमितहरुको मृत्यु भइरहेका, अस्पतालमा भिडभाड बढेका समाचार नहेर्नुस्,’ उनी भन्छन्।
अरुणा पनि संक्रमण भइसकेपछि नआत्तिकन स्वास्थ्यकर्मीको सल्लाह र सम्भव हुन्छ भने उनीहरूकै निगरानीमा उपचार गर्ने र नियमित खानपानलाई ध्यान दिने हो भने कोरोनालाई जित्न सकिने बताउँछिन्।
‘टोल, छरछिमेकी र आफन्त धेरैले त घरमा फर्काएर ल्याउन सकिन्छ भनेर आशा मारिसक्नु भएको थियो, परिवारमा भने सन्चो बनाएर फर्काएर ल्याउन सकिन्छ भन्ने आशाको दियो निभेको थिएन, भेन्टिलेटरमा गइसकेपछि भेट्न नपाए पनि त्यसपहिले र पछिका दिनमा भने उहाँलाई पनि ऊर्जा बढाउने गर्थ्यौं, हामी पनि नआत्तिएर सकारात्मक कुरामात्रै सोच्ने गर्यौं, नकारात्मक समाचार हेर्न बन्द गर्यौं,’ अरुणा भन्छिन्।
अहिले हरि र उनको परिवार बुटवल कालिकानगरमा दिन बिताइरहेका छन्। कोरोना संक्रमणका कारण निमोनियाले गिजोलिएका हरिलाई अरु समस्या नदेखिए पनि उनको आँखाको ज्योति भने त्यसयता कमजोर बनेको छ।