सोमबार बिहानमात्र बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत पाँच जना संक्रमितको मृत्यु भएको छ।
बुटवल- १० रामनगरस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा मृत्युु हुने उनीहरू सबै पुरूष छन्।
अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमका अनुसार सल्यान सारदा गाउपालिका वडा नं ११ का ४३ वर्षीय पुरूषको बिहान ६ बजेर ५८ मिनेटमा मृत्यु भएको हो।
१८ गते कोरोना संक्रमण पुष्टि भएर सोही दिन अस्पतालमा भर्ना भएका उनलाई ज्वरो र श्वासप्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ।
त्यस्तै, १७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ७ का ४३ वर्षीय पुरूषको सोमबार बिहान ९ बजेर ५० मिनेटमा मृत्यु भएको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
त्यसैगरी अर्घाखाँचीको धातिवाङ ८ का ७५ वर्षीय पुरूषको बिहान २ बजेर १८ मिनेट जाँदा मृत्यु भएको छ भने बुटवल उपमहानगर पालिका वडा नं ४ का ८४ वर्षीय पुरूषको बिहान १ बजेर २४ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।
अर्घाखाँचीका पुरूष वैशाख १५ गते र बुटवलका पुरूष १९ गते अस्पतालमा भर्ना भएका थिए।
त्यस्तै, बुटवल ९ का ६१ वर्षीय पुरूषको बिहान साढे ८ बजे निधन भएको अस्पतालले जनाएको छ। उनी १७ गते संक्रमण पुष्टि भएपछि १९ गते अस्पताल भर्ना भएका थिए।
मृतक सबैमा श्वासप्रश्वास र ज्वरोको समस्या रहेको अस्पतालले जनाएको छ।