सरकारले ५ सयभन्दा धेरै सक्रिय संक्रमित भएको जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा लगाउनसक्ने निर्णय गरेअनुरूप बिहीबारदेखि रूपन्देहीमा पनि निषेधाज्ञा सुरू भएको छ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीले गत वर्षभन्दा यसपटक लगाइएको निषेधाज्ञालाई पूर्णरूपमा कार्यान्वयन गर्ने भन्दै बिहानैदेखि अनुगमन सुरू गरेको छ।
बुटवल बजार तथा आसपासको क्षेत्रका सडकमा प्रहरी परिचालन गरी बिहानैदेखि चेकिङ गरिएको थियो।
तीन दिन पहिलेदेखि नै सूचना जारी गरेरै निषेधाज्ञा लगाइएकोले सडकमा अत्यावश्यकबाहेक सार्वजनिक तथा निजी सवारी साधनलाई आवतजावतमा रोक लगाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।
सडकमा सवारीसाधन बन्द भएपछि गन्तव्यमा जान हिँडेका यात्रुहरू अलपत्र परेका छन्।
सधैंजसो सयौं सवारीसाधनले भरिभराउ हुने बुटवल बसपार्क बिहीबार भने सुनसान बनेको छ।
बसपार्कबाहिर घर जानको लागि गाडी पाइन्छ कि भनेर पर्खिनेहरूको संख्या बाक्लो थियो।
अचानक भएको निषेधाज्ञाले बाहिरबाट घर जान हिँडेकाहरूलाई समस्या भएको यात्रुहरूको गुनासो छ।
धरानमा परीक्षा दिएर गुल्मी सिमलटारीस्थित घर जान हिँडेका प्रकाश अर्याल बिहीबार बिहान बुटवल बसपार्कमा कुनै सवारीसाधन पाइन्छ कि भनेर सडकमै पर्खिरहेका थिए।
बिहानै बुटवल आइपुगे पनि १० बजेसम्म कुनै साधन नपाएपछि बाटोमै बस्न बाध्य भएको उनले गुनासो गरे।
'वैशाख ३० सम्म निषेधाज्ञा भनिए पनि कहिलेसम्म थपिँदै जान्छ कुनै टुंगो छैन, बुटवलमा बस्न कोही चिने जानेको छैन, हिँड्दै घर जाऊँ टाढा छ,` उनले गुनासो गरे।
नवलपरासीबाट प्युठानको टिमुरचौर जान बिहानै बुटवल आएका कमल खत्री पनि बसपार्कमा भौंतारिरहेका थिए।
उनी पनि नवलपरासीमा परीक्षा सकाएर घर जान हिँडेका थिए।
प्रशासनको निषेधाज्ञापछि कमलसँगै प्युठान जान हिँडेका चार जना विद्यार्थी बुटवलमा अलपत्र परेका छन्।
'विद्यार्थी मान्छे कतै होटलमा बसौं भन्न पनि पैसा छैन, आफूहरूजस्तै पैसा नभएर अलपत्र परेकाहरूलाई सरकारले घरसम्म पुर्याउने व्यवस्था गर्नुपर्छ,’ कमलले भने।
निषेधाज्ञाको पहिलो दिन नै गन्तव्यमा हिँडेकाहरू सवारीसाधन नपाएर अलपत्र पर्नेहरू कमल र प्रकाशजस्ता धेरै छन्।
तर जिल्ला प्रशासन कार्यालयले भने गन्तव्यमा जान हिँडे पनि साधन नपाएर अलपत्र परेकाहरूलाई गन्तव्यमा पुर्याउनेबारे कुनै योजना बनाएको छैन।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले अहिलेसम्म त्यस्तो कुनै योजना नबनाइएको बताए।
गतवर्ष चैत ११ गतेदेखि गरिएको लकडाउनको क्रममा पनि यात्रुहरू हप्तादिनसम्म पैदल हिँडेर भए पनि गन्तव्यमा जान निस्किएपछि सरकारले उनीहरूको उद्दार सुरू गरेको थियो।