बुटवल बेलबासका गम्भीर लामिछाने बुधबार बिहान कोरोना संक्रमित दिदीलाई ज्वरो क्लिनिकमा भर्ना गरेर बाहिर पर्खिइरहेका थिए।
गत शुक्रबारदेखि कोरोना संक्रमण पुष्टि भए पनि अस्पतालमा बेड खाली नभएपछि उनले तीन दिन घरमै लगेर राखे।
सुरूका एक दुई दिन खासै समस्या नदेखिए पनि चौथो दिनदेखि उनको स्वास्थ्य गम्भीर बन्दै गयो। स्वास फेर्न गाह्रो भएपछि गम्भीरले गत मंगलबार लुम्बिनी प्रादेशिक अस्पताल ल्याइपुर्याएका थिए।
शुक्रबार ९० रहेको उनको अक्सिजन लेबल मंगलबार अस्पताल ल्याइपुर्याउँदा घटेर ७६ पुगेको थियो।
'सोर्स' लगाएर भए पनि बल्लतल्ल ज्वरो क्लिनिकमा एउटा बेड पाएर भर्ना गरिएकी उनलाई अहिले अक्सिजन दिएर राखिएको छ।
तर अक्सिजन लेबल घटेकोले उनलाई कोरोना अस्पताल वा अरू अस्पताल भए पनि आइसियूमा लगेर भर्ना गर्न चिकित्सकले रिफर गरिसकेका छन्।
तर कुनै पनि अस्पतालमा आइसियू खाली नभएपछि ज्वरो क्लिनिकमै राख्न बाध्य भएको गम्भीरले गुनासो गरे। उनलाई अहिले ज्वरो क्लिनिकमा अक्सिजन दिएर राखिएको छ।
अस्पतालमा आउने सबैलाई अक्सिजनको सहारा चाहिने गरेको छ।
‘धागो कारखानामा रहेको आइसियूमा पनि बेड खाली छैन रे, अरू अस्पतालमा त झनै पहिलेदेखि नै आइसियू भरिएका छन्, धेरै खर्च गरेरबाहिर लैजान सक्ने अवस्था पनि छैन। जहिले कोरोना अस्पतालमा आइसियू खाली होला, उहिले लैजाउँला भनेर यहीँ राखेका छौं,’ उनले पीडा पोखे।
बुटवलकै शंकर विश्वकर्माले पनि कोरोना संक्रमित दिदी सासूलाई ज्वरो क्लिनिकमा भर्ना गरेका छन्।
कोरोना संक्रमण पुष्टि भएलगत्तै अस्पताल ल्याइपुर्याए पनि स्वास्थ्य त्यति नबिग्रिएको र बेड खाली नभएको भन्दै अस्पतालले संक्रमितलाई घर पठाइदिएको थियो।
तर घरमा लगेपछि समस्या जटिल बन्दै गएपछि ज्वरो क्लिनिकमै ल्याएर भर्ना गरिएको उनले बताए।
कोरोना संक्रमितको संख्या थपिँदै गएपछि लुम्बिनी प्रादेशिक अस्पतालले यसअघि नै आकस्मिक कक्ष र स्वाब परीक्षण केन्द्रसँगै रहेका दुइटा कोठामा ज्वरो क्लिनिकको व्यवस्था गरेको थियो।
स्थान अभावको कारण सात वटामात्रै बेड राखिएको ज्वरो क्लिनिकमा अहिले सबै बेड भरिएका छन्।
कुनै दिन त एउटै बेडमा दुई जनासम्म संक्रमितलाई राखेर उपचार गर्न बाध्य भएको स्वास्थ्यकर्मीको भनाइ छ।
ज्वरो क्लिनिकका स्वास्थ्यकर्मी इन्द्र राईले कोरोना अस्पतालमा बेड खाली नभएपछि दुई जनालाई एउटै बेडमा राखेर भए पनि उपचार गरिएको बताए।
यहाँ रहेका अधिकांशलाई फोक्सोमा निमोनिया देखिएकोले तत्काल आइसियूमा राखी उपचार गर्नुपर्ने अवस्था रहेको राईले बताए।
‘लुम्बिनी प्रादेशिक अस्पतालसँगै बुटवलका कुनै पनि अस्पतालमा आइसियू खाली छैन, ज्वरो क्लिनिकमा रहेका ८ जनामध्ये तीन जनालाई त तत्काल आइसियू चाहिन्छ,’ उनी भन्छन्।
पहिलो पटक बुवाआमा बन्ने भनेपछि योगिकुटीका भीमबहादुर घर्तीको जोडी खुसी थियो।
गर्भवती भएपछि नै उनकी श्रीमतीले नियमित चिकित्सकको सल्लाहमा स्वास्थ्य परीक्षण गराइरहेकी थिइन्।
नियमित गर्भ परीक्षणकै क्रममा वैशाख ११ गते उनलाई कोरोना संक्रमण पुष्टि भयो।
स्वास्थ्यमा कुनै समस्या नदेखिएको भए पनि अपरेसन गरी बच्चा जन्माउनुपर्ने देखिएपछि उनको पिसिआर परीक्षण गरिएको थियो।
उनलाई कोरोना संक्रमण देखिए पनि भीमबहादुरलाई भने कोरोना देखिएको छैन। भीमबहादुर बुधबार दिउँसो अपरेसन थिएटरमा रहेकी २० वर्षीय गर्भवती श्रीमतीलाई पर्खिएर बाहिर बसिरहेका थिए।
इमरजेन्सी, ज्वरो क्लिनिक र आइसोलेसनमा बेड र अक्सिजनको समस्या देखिएको सुने पनि गर्भवती संक्रमित महिलाको लागि भने त्यस्तो समस्या नभएको उनले बताए।
‘यहाँ त बेड पाउन त्यस्तो समस्या भएन, नर्स र डाक्टरहरूले पनि राम्रै सेवा दिनुभएको छ,’ उनले भने।
वैशाख महिना लागेसँगै कोरोना संक्रमितको संख्या दैनिक वृद्धि भइरहेको छ।
प्रादेशिक अस्पतालमा दैनिक १ सय जनाको पिसिआर परीक्षण गर्दा ९० जनासम्ममा कोरोना पोजेटिभ रिपोर्ट आउने गरेको राईले बताए।
संक्रमितको संख्या जुन अनुपातमा वृद्धि भएको छ गम्भीर अवस्थाका बिरामीको संख्या पनि सोही अनुपातले वृद्धि भएको छ। निजी अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना पोजेटिभ देखिएपछि सरकारी अस्पतालमा रिफर गर्दा पनि समस्या थपिएको स्वास्थ्यकर्मी बताउँछन्।
‘बिरामी सामान्य अवस्थामा रहँदासम्म भर्ना गरेका निजी अस्पतालहरूले गम्भीर अवस्थामा बिरामी पुगेर आइसियू चाहिने भएपछि बल्ल सरकारीमा रिफर गर्दा समस्या बढेको छ, अझै कोरोना संक्रमित छ भने त रातिको १२, १ बजे पनि रिफर गर्ने गरेका छन्,’ राईले भने ।
रातिको समयमा सास फेर्न गाह्रो भयो भनेर आउने क्रम बढेको छ।
बुधबार राति पनि ५ जना गम्भीर अवस्थाका बिरामी ज्वरो क्लिनिकमा आएको उनले बताए।
‘पहिले ज्वरो आउने, खोकी लाग्ने लक्षणका बिरामी आउने गरे पनि अहिले सिधै सास फेर्न गाह्रो भयो भन्दै संक्रमित आउनुहुन्छ, यहाँ आउने सबैजसोलाई अक्सिजनको सपोर्टमा राख्नुपर्छ।’
संक्रमण बढ्दै जाँदा पहुँच भएका र आर्थिक रूपमा सम्पन्न भएकाहरू हेलिकप्टर चार्टर्ड गरेरै भए पनि काठमाडौं जाँदा आर्थिक अवस्था कमजोर भएका र कतै पहुँच नभएकाहरूले भने अक्सिजन समेत नपाएर मृत्यु हुने अवस्थामा पुगेका छन्।
पछिल्लो एक साताको अवधिमा बुटवलबाट मात्रै चार जना संक्रमितलाई हेलिकप्टर चार्टर्ड गरि काठमाडौं लगिएको छ।
अवस्था जटिल बन्दै गएपछि उपचार नपाइन सक्ने भन्दै कतिपय संक्रमितहरू पहिले नै काठमाडौंका सुविधासम्पन्न अस्पतालको आइसियूमा भर्ना भएर बस्ने गरेका छन्।