जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भिड नियन्त्रण गर्न भन्दै सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ।
डिसीसीएमसीको बैठकले भिडभाड नहोस् भनी सार्वजनिक तथा निजी यातायातका साधनलाई जोर बिजोर नं. को आधारमा सञ्चालन गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले जोर गते जोर नम्बर प्लेट भएका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए।
यसअघि नै भैरहवा र बुटवल लगायतका बिद्यालय बन्द गर्ने निर्णय भए पनि आइतवारदेखि रुपन्देहीका सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ।
साथै प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने र सामुदायिक आईसोलेसन र क्वारेन्टिाईनहरुको क्षमता विकास गरी पूर्व तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ।
यता पछिल्लो २४ घण्टामा रुपन्देहीमा २ सय चारजना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसारमा आइतबार १ सय २२ जना पुरुष र ८२ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमित बुटवल उपमहानगरपालिकाका मात्रै ९६ जना रहेका छन् । यस्तै तिलोत्तमा नगरपालिकामा ५०, सिद्धार्थनगर नगरपालिकामा ३० र सैनामैना नगरपालिकामा १० जना रहेका छन्।
त्यस्तै ओमसतियामा ५, गैंडहवामा ४, मायांदेवी र सम्मरीमाईमा २/२ जना तथा सियारी, रोहिणी गाउंपालिका तथा देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १÷१ जना संक्रमित थपिएका छन् । जिल्लामा हाल १ हजार २ सय ४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।