पछिल्लो दश दिनको अवधिमा थपिएका कोरोना संक्रमितको संख्यालाई हेर्दा लुम्बिनी प्रदेश कोरोना महामारीको हटस्पट बनिरहेको देखिएको छ।
चैत ३१ सम्म १ सय १० रहेको कोरोना संक्रमितको संख्या बैशाख ९ गतेसम्म ३ हजार २ सय ३ पुगेको थियो।
बिहिबार देशभर २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा लुम्बिनी प्रदेशमा मात्र ८ सय ९३ जना संक्रमित थपिए।
यो संख्या देशभर थपिएको संख्याको एक तिहाई भन्दा बढी हो। त्यो संख्या शुक्रबार झन् बढेको छ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका विभिन्न कोरोना विशेष अस्पताल आईसोलेसनमा गरि २ सय ७१ जना उपचाररत छ। ती मध्ये १ सय २ जनाको आईसियू र १४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ।
दिनप्रतिदिन लक्षणसहितका संक्रमित थपिदै जाँदा प्रदेशमा निर्माण गरिएका कोरोना विशेष अस्पताल तथा आईसोलेसनहरू भरिँदै गएका छन्।
लुम्बिनी प्रदेशमा चार वटा सरकारी अस्पतालमा कोरोना विशेष आईसोलेसन अस्पताल सञ्चालित छन्। त्यस्तै ७ वटा निजी अस्पताल तथा मेडिकल कलेजमा पनि कोरोनाका विरामीको उपचारको लागि आईसोलेसन स्थापना गरिएको छ।
ती सबै अस्पतालहरुमा बिरामी भरिदै जाँदा नयाँ थपिने संक्रमितहरूले भर्ना नपाउने अवस्था छ।
प्रदेशका सरकारी चार र निजी ७ गरि ११ वटा अस्पतालमा ५ सय ७३ वटा आईसोलेसन बेड भनिए पनि सबै अस्पतालले बिरामी भर्ना गरेका छैनन्।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीका अनुसार प्रदेशभरी सरकारी र निजीमा गरि १ सय ४२ बेड आईसियू छन्। त्यस्तै एचडियू १ सय ५९ र ७५ वटा भेन्टिलेटर छन्। सरकारीस्तरका चार वटा कोरोना विशेष अस्पतालमा जम्मा १ सय ९२ बेड छन्। आईसियू ३९ बेड, एचडियू १ सय ३ र २१ वटा भेन्टिलेटरले संक्रमितहरुको चाप नथेग्ने देखिएको उनले बताए।
बुटवल १२ रामनगरस्थित धागो कारखानामा सञ्चालन गरिएको कोरोना विशेष आईसोलेसन अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले अस्पतालमा १३ वटा आईसियू बेड र २ वटै भेन्टिलेटर रहेको बताए। ३६ बेडको आईसोलेसन छ।
भीम अस्पतालमा २२ बेडको एचडियू र ५ बेडको आइसियू कक्ष छ। गम्भीर बिरामीलाई आइसियूमा र अन्य कतिपयलाई एचडियूमा भर्ना गरिएको छ।
भैरहवाकै युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा कलेजमा ४२ बेडको आईसियू, ३० बेडको एचडियू र ३० वटा भेन्टिलेटर रहेपनि कोरोनाका संक्रमितहरुको लागि ६ वटा मात्रै भेन्टिलेटर प्रयोग हुँदै आएका छन्।
भेरी अस्पतालमा २१ र नेपालगञ्ज मेडिकल कलेजमा ३० वटा गरि जम्मा ५१ आइसियू बेड छन्। भेन्टिलेटरसहितका आइसियु भने जम्मा ७ वटा छन्।
अस्पतालमा अहिले अर्को महत्वपूर्ण कुरा अक्सिजन हो। भारतमा कोरोना बढेसँगै उसले बाहिर अक्सिजन बेच्न लगभग रोक लगाएको छ। नेपालमा त्यसकोप्रभाव पर्ने देखिन्छ।
भेरी अस्पतालले पहिले सामान्य अवस्थामा दैनिक १५-२० सिलिण्डर अक्सिजन खपत गर्दथ्यो। कोरोनाका बिरामी बढेपछि दैनिक दुई सय भन्दा बढी सिलिण्डर अक्सिजन आवश्यक पर्ने गरेको डा. पारस पाण्डेले जानकारी दिए। भेरी अस्पतालले प्राइभेट अक्सिजन प्लाण्टहरूबाट अक्सिजन खरिद गर्दै आएको छ।
नेपालगञ्ज शिक्षण अस्पतालमा पनि दुईदेखि तीन सयसम्म अक्सिजन चाहिन थालेको उपनिर्देशक दिनेह श्रेष्ठले बताए।
'बिरामीको चाप बढेपछि दैनिक साढे दुई सयदेखि कम्तिमा पनि ३०० सिलिण्डर जति अक्सिजन आवश्यक पर्ने गरेको छ,' उनले भने, 'नेपालगन्ज मेडिकल कलेजले यसअघि इण्डियाबाट आवश्यक अक्सिजन खरिद गरेर ल्याउने गर्दथ्यो। तर, अहिले त भारतले अक्सिजन दिन बन्द गरिसक्यो।'
नेपालगन्जकै दुई वटा प्राइभेट कम्पनीबाट आवश्यक अक्सिजन उनीहरूले खरिद गर्छन्। त्यो बाहेक कलेजको आफ्नै प्लान्ट पनि छ।
यही दरमा संक्रमित थपिदै गए कम्पनीबाट ल्याइने र आफ्नै प्लान्टको अक्सिजनले नपुग्ने उनले बताए।
लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना विशेष अस्पतालमा गरि दैनिक एकसय देखि डेढसय सिलिण्डर सम्म अक्सिजन खपत भईरहेको छ।
‘अक्सिजन सहितका ३६ वटा बेड सञ्चालनमा आएपछि र संक्रमित थपिएपछि अक्सिजनको खपत पनि थपिदै जान्छ,’ उनले भने।
अस्पतालमा अक्सिजन उत्पादनको लागि प्लाण्ट जडान गरिएको भए पनि प्लाण्ट बिग्रिएपछि मर्मत सम्भार नहुँदा अक्सिजन बाहिरबाट खरिद गर्ने गरेको छ। रूपन्देहीमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आफैले प्लाण्ट जडान गरि अस्पताललाई आवश्यक अक्सिजन उत्पादन गर्दै आएको भए पनि अरु कुनै पनि अस्पतालले प्लाण्ट जडान गर्न सकेका छैनन्।
युनिभर्सल कलजे अफ मेडिकल साईन्सेजमा मात्र दैनिक ३ सय वटा ठूला सिलिण्डर खपत हुने गरेको छ। ‘अहिलेसम्म ३ सय वटा जम्बो सिलिण्डरले चलिरहेको छ, तर कोरोना संक्रमित थपिईरहेकोले अब दैनिक ५ सय वटा सम्म आवश्यक पर्ने देखिएको छ,’ अस्पताल प्रशासनका तेजकुमार केशीले भने।
केशीले अहिलेसम्म रुपन्देहीमै अक्सिजन उत्पादन भईरहेकोले सहज भएपनि संक्रमित बढ्दै गएपछि अभाव हुनसक्ने बताए। संक्रमित जति थपिन्छन्, अक्सिजन त्यति नै आवश्यक पर्छ, तर उत्पादन नबढेपछि अभाव हुन सक्छ। उनले आशंका व्यक्त गरे।
चिकित्सकका अनुसार तथा स्वासप्रस्वासका विरामीको लागि दैनिक १५ सय लिटरसम्म अक्सिजन आवश्यक पर्छ। बरिष्ट मुटुरोग विशेषज्ञ डा. समिर गौतमले स्वासप्रस्वासका विरामीलाई एकमिनेटमा एकदेखि दुईलिटर सम्म अक्सिजन आवश्यक पर्ने बताउँछन्।
सामाजिक विकास मन्त्रालयका सचिव पन्थले आफूहरू नियमित अस्पतालहरुसँग सम्पर्कमा रहेको र अक्सिजन अभाव नभएको दावी गरे।
‘जिल्लाभित्रै अक्सिजन उत्पादन भईरहेकोले अभाव हुने अवस्था छैन, उद्योगीहरुले अक्सिजन उत्पादनका लागि नियमित विद्युत आपूर्ति गर्न आग्रह गर्नुभएको छ, त्यसतर्फ पनि हाम्रो ध्यान गएको छ।’ उनले भने।
रुपन्देही उद्योग संघका अनुसार रुपन्देहीमा तिनवटा उद्योगले अक्सिजन उत्पादन गर्दै आएका छन्। त्यस्तै केहि विक्रेताहरुले बाहिरी जिल्लामा उत्पादित अक्सिजन समेत विक्री वितरण गर्दै आएका छन्।
कहाँ कहाँ उपचार भइरहेको छ कोरोनाका बिरामी
रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालसँगै चौराह अस्पताल कालिकानगर, तिलोत्तमास्थित क्रिमसन अस्पताल, देवदहमा रहेको देवदह मेडिकल कलेज तथा भैरहवा स्थित भिम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा कोरोना संक्रमितहरुको उपचारको लागि आईसोलेसन सञ्चालनमा छन्।
यी अस्पतालहरुको आईसोलेसन र आईसियूमा पनि संक्रमितहरु भरिएका छन्।
जनस्वास्थ्य प्रशासक चौधरीले अरू अस्पतालहरुमा विरामी भर्ना भईरहेको र आवश्यक परे ति अस्पतालहरूमा पनि भर्नाको लागि रिफर गरिने बताए।
‘अहिले अरू अस्पतालकै बेडले थेगिरहेको छ, विरामी बढ्न थाले र आवश्यक परे भर्नाको लागि रिफर गरिन्छ,’ उनले भने।
बाँकेको भेरी अस्पताल र दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा संक्रमितहरु अस्पताल बाहिरै भर्ना भएका दृश्य सामाजिक संजालमा सार्वजनिक भईरहेका छन्।
भेरी अस्पतालमा लक्षण सहितका १ सय ४ जना संक्रमित भर्ना भएका छन्। त्यस्तै ३० जना आईसियू र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको चौधरीले बताए। उता बेलझुण्डी अस्पतालमा पनि ३७ जना विरामी भर्ना भएका छन्।
त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा लक्षणसहितका १४ जना र आईसियूमा १८ गरि ३२ जना संक्रमित भर्ना भएका छन्। लुम्बिनी मेडिकल कलेज पाल्पामा पनि ५ जना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ।
लुम्बिनी प्रदेशमा रहेका ३ हजार २ सय तिनजना सक्रिय संक्रमितमध्ये १ हजार ६५० अर्थात् ५० प्रतिशत भन्दा बढि बांके जिल्लाका मात्रै रहेका छन्। त्यस्तै रुपन्देहीमा ७ सय ३० जना सक्रिय संक्रमित छन्। अरु जिल्लामा दाङमा ३ सय ७, बर्दियामा १ सय ८९, पाल्पामा १ सय २९ जना संक्रमित रहेका छन्।
दोश्रो लहरमा रोल्पामा कुनैपनि संक्रमित फेला परेका छैनन्। गतवर्ष जस्तै दोश्रो लहरको संक्रमणपनि भारतीय सिमा जोडिएका जिल्लामा बढि फैलिएको छ। भारतमा संक्रमण फैलिएपछि त्यहां रहेका नेपालीहरु नेपाल आउने क्रम बढेपछि सिमा जोडिएका जिल्लामा संक्रमण फैलिएको हो।
रुपन्देहीको बेलहिया नाकाबाट मात्र चैत्र चौथो साता हेल्थडेस्क स्थापना गरिएपछि भारतबाट साढे १५ हजार बढी नेपालीहरु स्वदेश फर्किएको तथ्यांक छ। यसरी स्वदेश फर्किएकामध्ये एकसयको हाराहारीमा मात्रै एन्टिजिन परीक्षण गरिएको छ। सिमानाकामा जनशक्ति अभावले चेकजाँच फितलो छ भने भिडभाड नियन्त्रण गर्न नसक्दा नेपाल–भारत निर्वाध आउजाउ छ।
भारतमा रोजगारी गरी फर्कने मात्र होईन भारतीय बजार सुनौलीमा उपभोग्य सामान किनमेल गर्न जाने नेपालीहरुको संख्यापनि उस्तै छ। नेपालमा पछिल्लो समय भेटिएका अधिकांश संक्रमित भारतबाट आएका र उनीहरुका आफन्त छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक डा. राजेन्द्रकुमार गिरीले खुल्ला सीमामा कारण नेपाल–भारत आउजाउमा कडाई नगरिँदा संक्रमण तीव्र फैलिएको बताए।
पछिल्लो १० दिनजस्तै संक्रमण यसैगरी तीव्ररुपमा फैलियो भने रुपन्देहीसँगै लुम्बिनी प्रदेशका सबै अस्पतालहरूमा कोरोना संक्रमित भरिने उनको भनाई छ।
तर प्रदेश सरकार र स्थानीय तहहरुले पनि भएका आईसोलेसनहरुको क्षमतावृद्धि, जनशक्ति व्यवस्थापन तथा नयाँ आईसोलेसन थप गर्ने तर्फ चासो देखाएका छैनन्।
स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक चौधरीले कुनैपनि अस्पतालमा दरबन्दी अनुसार जनशक्ति नभएको र अस्थायी दरबन्दी कायम गरि काम चलाउने गरिएको बताए।
भारतबाट आउने नेपालीहरुलाई होल्ड गर्नको लागि सम्बन्धित स्थानीय तहहरुलाई बजेट पठाएपनि होल्डिङ सेन्टर बनाउने स्थान नभएका कारण ढिलाई भएको बताए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भने कोरोना संक्रमित थपिदै गएपछि सरकारी अस्पतालहरुमा अक्सिजनसहितको बेड संख्या थप्ने, होटलहरुलाई आइसोलेन सेन्टर बनाउने र निजी अस्पतालहरुमा कोभिड उपचारसहितको आईसीयू र भेन्टिलेटर बनाउने तयारी सुरु गरिएको दावी गरे।
सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थले यसअघि संचालन भएका कतिपय कोरोना अस्पतालहरुमा अक्सिजन सहितका बेड संचालन नभएकोले ति बेडहरुमा पनि संक्रमित भर्ना गर्ने तयारी गरिएको बताए। बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजन सहितका ३६ वटा बेड रहेको र अहिले संचालन नभएकोले एकदुईदिन भित्रै संचालन गर्ने तयारी गरिएको उनले बताए।
त्यस्तै दाङको बेलझुण्डी अस्पतालमा पनि थप बेडहरु संचालन गर्ने तयारी गरिएको उनको भनाई छ। ‘प्रदेशका कोरोना अस्पतालहरुमा आईसियू र अक्सिजन सहितका बेड प्रदेश सरकार आफैले थप्छ, मेडिकल कलेजहरुमा रहेको आईसियू र भेन्टिलेटरमा संक्रमित भर्ना गरी उपचार गर्न संघिय सरकार आफैले सम्झौता गर्ने तयारी गरेकोले तत्कालको लागि आईसियू र भेन्टिलेटरको अभाव नहोला,’ पन्थले भने।
रुपन्देहीमा संक्रमितहरुको लागि आईसियू र भेन्टिलेटरसंगै अक्सिजनको समेत अभाव हुनसक्ने देखिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना विशेष अस्पतालमा गरि दैनिक एकसय देखि डेढसय सिलिण्डर सम्म अक्सिजन खपत भईरहेको छ। ‘अक्सिजन सहितका ३६ वटा बेड संचालनमा आएपछि र संक्रमित थपिएपछि अक्सिजनको खपत पनि थपिदै जान्छ।’ उनले भने।