कात्तिकदेखि - माघसम्म रूपन्देहीका टंकबहादुर खत्री जता जता तोरी फुलेको छ उतै उतै आफ्ना मौरी लिएर पुगे।
वर्षयाम नजिक आउन लागेपछि उनको मन तिनै मौरीको चिन्ताले वर्खाको बादलझैं भारी हुँदै जान्छ।
‘सिजनमा त आम्दानी दिएर मौरीले हामीलाई हेर्छन्, हप्ता दश दिनमा गएर घार हेरेपुग्छ,' उनले भने, 'वर्षा र सुख्खा याममा मौरी बचाउन मुस्किल छ। समय समयमा हेरिरहनुपर्छ।’
यो समयमा उनले मात्र होइन मौरीपालक सबै किसानले पानीमा चिनी घोलेर खुवाउँदै मौरीलाई बचाएर राख्ने गर्छन्।
हिउँदभरि टंक मौरी चराउन घार बोकेरै दाङसम्म गएका थिए। फागुनदेखि यहीँ रूपन्देही ल्याएका छन्।
पर्याप्त तोरी खेती गरिने भएकोले दाङ मौरी चरनको लागि उपयुक्त क्षेत्र मानिन्छ।
‘तोरी फुल्ने सिजनमा जहाँ किसानले धेरै तोरी लगाएका छन् त्यतै घार सार्दै हिँड्ने गर्छु, हिउँदमा त आधा दिन घरमा आधा दिन घार सार्दै हिँड्दै बित्छ,’ उनी भन्छन्।
सैनामैना नगरपालिका -३ पर्सल लगायत विभिन्न ठाउँमा उनका पाँच सय मौरी घार छन्।
१० वर्ष अघि गुल्मीको सिमलटारीबाट रूपन्देही झरेका उनले ५ वटा घारबाट मौरी पाल्न सुरू गरेका थिए।
सैनामैनाको बुद्धनगरमा रहेको आठ नम्बरी जग्गा थियो। त्यही उनले मौरी पालन सुरू गरे।
मौरी पालनलाई आफ्नो व्यवसायिक पेसा बनाउँछु भन्ने अठोट उतिखेरै थियो। तर मौरीका घार किन्ने पैसा भने थिएन। आठनम्बरी जग्गा राखेर बैंकले ऋण दिँदैनथ्यो।
५ वर्षसम्म उनी जसोतसो बुद्धनगरमै बसे।
मौरीसहितको एउटा घारलाई १४ हजार रूपैयाँ पर्थ्यो। प्रत्येक वर्ष दुईतीन वटा घार थप्दै उनले ५० वटा घार पुर्याए।
तर उनलाई चार पाँच सयभन्दा बढी घारमा मौरी पाल्नु थियो।
५ वर्षअघि उनले बुद्धनगरको जग्गा विक्री गरेर सैनामैनाको पर्सलमा बसाइ सरे।
पर्सलमा आएपछि भने उनले बैंकबाट ४ लाख रूपैयाँ ऋण लिएर मौरीका २ सय घार थपे। त्यसपछि पनि उनले हरेक वर्ष मौरीका घार थप्दै गए।
अहिले उनले दुईसय घारलाई पाँचसय पुर्याएका छन्।
अबको दुई वर्षभित्र अन्यत्रबाट मौरी नकिनी आफ्नै घार फुटाएर एक हजार घार पुर्याउने उनको योजना छ।
एउटा घारमा मौरी बढ्दै गएर नअट्ने भएपछि दुईभन्दा बढी घारमा बाँड्ने कामलाई घार फुटाउने भनिन्छ।
‘अहिले त सबै मौरी आफैंले घार फुटालेर थप्ने गरेको छु, घार किन्न पैसा चाहिए पनि मौरी आफैंले उत्पादन गर्छु,’ उनले भने।
रूपन्देही आउँदा डेढ लाख रूपैयाँ लिएर आएका टंकले लगानी गर्ने प्रशस्त पैसा भएको भए अहिलेसम्म १ हजार घार पुर्याइसक्ने बताउँछन्।
‘१० वर्षमा ५ घारबाट पाँच सय पुग्यो भने अबको दुई तीन वर्षमा १ हजार त कसरी नपुर्याइएला र!’
एउटा घार मौरीलाई फुटालेर धेरै घार बनाउन सकिने टंक बताउँछन्।
उनले डेढ सयभन्दा बढी घार बुटवल- १२ नयाँगाउँमा राखेका छन्। त्यस्तै अरू घारहरू अमुवा, गुरौली, दोबारा र घर रहेको पर्सलमा पनि केही घार राखेका छन्।
वैशाख-जेठमा मकै र सूर्यमुखीको खेती हुने स्थानमा मौरीको लागि चरन हुन सक्छ।
पहाडी क्षेत्रमा चिलाउने, धयेंरो जस्ता बोटविरूवा भएको जंगल क्षेत्रमा चरन हुने भए पनि तराई क्षेत्रमा भने खासै चरन पुग्दैन। त्यसैले यो सिजन अफ सिजन मानिन्छ।
अहिले उनले मौरीलाई बचाउनको लागि चिनीपानी खुवाउने गरेका छन्।
चरनको लागि ५ सय घार चारपाँच स्थानमा राख्दा त्यसको हेरविचार र स्याहार गर्न समस्या भएको उनले बताए।
विभिन्न स्थानमा अरू व्यक्तिका जग्गामा घार राख्दा उनले सम्बन्धित जग्गाधनीलाई भाडा बुझाउने गर्छन्।
‘सिजनमा चरनको लागि अन्यत्र लैजाँदा पनि सम्बन्धित जग्गाधनी, वन कार्यालय लगायत विभिन्न कार्यालयहरूलाई चरनबापत शुल्क बुझाउनुपर्छ,’ उनले भने।
गत कात्तिकदेखि माघसम्म उनले दाङ र प्युठानका विभिन्न स्थानमा चरनका लागि मौरीका घार बोकेर गएका थिए।
मौरी चराउँदा प्रतिघार ५० रूपैयाँ दिनुपर्छ। स्थानीय टोललाई प्रतिघार १ सय ५०, जग्गाधनीलाई १ सय २५ रूपैयाँ र मौरीपालक जिल्ला महासंघलाई समेत प्रतिघार २५ रूपैयाँ दिँदै आएको उनले बताए।
मेहनत र लगनशील बन्न सके मौरी पालनबाट राम्रै आम्दानी हुने उनको अनुभव छ।
यस वर्ष भने मह उत्पादन राम्रो नभएकोले ४० क्विन्टल मात्रै मह उत्पादन भएको उनले बताए।
‘यो वर्ष हिउँदमा पानी परेन, चिउरी सिसौ, रूदिलो जस्ता रूखहरूले रस छोडेन, तोरी फुल्ने समयमा पनि तराईमा कुहिरो लागेर मौरी चर्न जान समस्या भयो,’ उनले भने।
मह उत्पादन हुने भनेको कात्तिकदेखि चैतमहिनासम्म हो। त्यही सिजनमा ६/७ पटकसम्म मह काड्न सकिन्छ। सिजनमा तोरी, सूर्यमुखी, चिउरी तथा वनजंगलका अरू वनस्पतिहरू रूदिलो, धयेँरो, चिलाउनी लगायतका बोटबिरूवामा राम्रो फूल लागेर रस भरियो भने मह धेरै उत्पादन हुन्छ।
टंकको अनुभवमा धेरै मह उत्पादनका लागि वनस्पतिमा फूल धेरै फुलेरमात्र हुन्न हावा धेरै चल्न नि हुँदैन।
‘हावाहुरी धेरै चल्यो भने फूलमा भएको रस उडेर जान्छ मौरीले भेट्न पाउँदैन, अहिले पनि मकैको फूलबाट मह निकाल्न सकिन्छ कि भन्ने थियो हावाले दिएन,’ उनले भने।
वैशाख-जेठमा तराईमा कुनै पनि चरन नहुने भएपछि मौरीलाई उनले गत वर्ष नै चिलाउनेको बोटविरूवा प्रशस्त हुने पहाडी क्षेत्रमा लैजाने योजना बनाएका थिए।
चैत्र महिनादेखि नै कोरोना महामारीका कारण लकडाउन गरिएपछि उनको योजना त्यतिकै रह्यो।
यसवर्ष अवस्था सामान्य रहे एक महिना भए पनि पहाडी जिल्लामा लैजाने उनको योजना छ।
‘यसपटक कोरोना फैलिएन र लकडाउन भएन भने चिलाउनेको रूख हुने जंगल क्षेत्रमा लैजाने सोच बनाएको छु,’ टंकले भने ।
अहिले उनले मौरीलाई चरनमा लैजानेभन्दा पनि अर्को सिजनसम्म कसरी जोगाउने भन्ने चिन्ता छ।
‘हिउँदभरि मह दिने मौरीलाई सुख्खायाम र वर्षामा जोगाउनुपर्छ, अहिले त अलिअलि फूल भेट्न सक्छन्, तर वर्षामा त चरन पनि हुँदैन उल्टै अरिङ्गाल र चराले समेत खाइदिन्छन्,’ उनले भने।
टंकले मौरीका घार बोक्दै विभिन्न जिल्ला चहार्दै हिँड्दा घरमा रहेका मौरीको रेखदेख, छोराछोरीको स्याहार सुसारसँगै मह विक्री गर्ने काममा श्रीमती गीताले सघाउँदै आएकी छन्। गीताले घरभित्रका कामसँगै लोकल कुखुरा पनि पालेकी छन्।
मह विक्री गर्न भने उनलाई कतै जानुपर्दैन।
ग्राहक र थोक व्यापारीहरू उनको घरसम्मै पुग्ने गर्छन्।
‘मह उत्पादन हुनुपर्यो विक्री गर्न कुनै समस्या हुँदैन, ग्राहकहररू घरमै आउनुहुन्छ,’गीताले भनिन्।
यसरी मौरीको मह पालेर उनीहरूले गएको वर्ष झण्डै २४ लाख कमाए। यो वर्ष ४० क्विन्टल उत्पादन भए पनि आउने वर्ष १०० क्विन्टल उत्पादन हुने आश उनीहरूले राखेका छन्।
थोकमा ६ सय रूपैयाँ प्रतिकिलो विक्री गर्ने महलाई एक दुई किलो किन्न जानेहरूलाई भने ७ सय रूपैयाँ प्रतिकिलो लिने गर्छन्।
‘थोरै विक्री गर्दा घाटा हुन्छ, डिब्बा किन्नुपर्यो, जोख्दा, डिब्बामा भर्दा पोखिन्छ, थोरै तौल बढी जान्छ, तर थोकमा एक दुई क्विन्टल लैजानेहरुले भने ड्रममै लैजाने गर्छन्, अलगअलग भाँडा पनि चाँहिदैन,’ उनले भनिन् ।