त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभाग प्रमुख डम्बर चेम्जोङलाई हामीले अघिल्लो वर्ष भेटेका थियौं। छ महिनाअघि मात्रै विभाग प्रमुख भएका उनले त्यतिबेलै विभागको मुहार फेरेका थिए।
खण्डहर भइसकेको विभाग भवनलाई उनले आकर्षक बनाए। कक्षाकोठा रंगरोगन, आरामदायी डेस्क-बेन्च, व्यवस्थित पुस्तकालय र पठन सामग्री, सफा र सुविधायुक्त शौचालय, बगैंचा सिँगार्नेदेखि विभाग परिसर सरसफाइको नेतृत्व लिए। र, इच्छा भए काम गर्न सकिने प्रमाणित गरेर देखाए।
बाहिरी आवरणसँगै पठनपाठनमा समेत आएको १८० डिग्री परिवर्तनले हामी निकै प्रभावित भएको थियौं। उनले भनेका थिए, 'हाम्रा कक्षाकोठा र पुस्तकालय घरभन्दा न्यानो, आरामदायी, सुविधाजनक र आकर्षक बनाउने छौं।'
चेम्जोङका अनुसार त्रिवि देशकै जेठो र ठूलो विश्वविद्यालय मात्र होइन, हाम्रो प्राज्ञिक क्षेत्र कस्तो छ भनेर हेर्न आउनेलाई देखाउने थलो पनि हो। पठनपाठनसँगै यसको भौतिक सुधारको जिम्मा स्वयं विश्वविद्यालय र मातहतका विभागको हो। त्यसैले प्राध्यापक चेम्जोङ विभाग सुधारका विभिन्न उपाय लगाइरहेका थिए।
यहाँका पूर्वाधार समयअनुसार परिमार्जन र परिस्कृत हुन जरूरी भएको उनको बुझाइ छ। यही बुझाइले त्रिविको यो विभाग 'हेरूँ हेरूँ' लाग्ने भएको छ।
विद्या आर्जन गर्ने ठाउँको वातावरण सुन्दर बनाउँदै जाने प्रयासमा उनले अर्को इँटा थपे, चराघर बनाएर। उनीसँग हाम्रो दोस्रो भेट त्यही बेला भएको थियो।
त्रिवि परिसर त्यसै पनि हरियाली छ। यहाँ थरिथरिका चरा पाइन्छन्। त्यस बेला चराघरमा चराहरू बस्न आएका त थिएनन्। तर १३ वटा रातो छानो भएका सेता चराघरले विभाग परिसर थप सुन्दर बनाएको थियो।
त्यो भेटमा उनले भने, 'झलक्क हेर्दा रूखमा चराघर बनाएर त्रिवि परिसरलाई थप सुन्दर बनाउन खोजिएको हो। अर्को अर्थमा विश्वविद्यालय परिसर चराचुरूंगीको पनि हो। उसलाई पनि स्थान दिनुपर्यो नि।'
चेम्जोङ त्यतिले पनि चुपचाप बस्नेवालामा परेनन्। हाम्रो तेस्रो भेटको पनि बहाना जुरायो, सयपत्री फूलले।
विभागको बगैंचामा अहिले सयपत्री ढकमक्कै फूलेका छन्। पहेँलपुर बगैंचाको तस्बिरले नै हामीलाई तान्यो। केही दिनअघि बगैंचा हेर्न र यी फूल फुलाउन पहल गर्ने चेम्जोङसँग भेट्न हामी फेरि विभाग पुग्यौं।
जसरी हामी घरका बगैंचा सिँगार्छौं, स्याहार्छौं, चेम्जोङ त्यसरी नै विभागको बगैंचा स्याहारिरहेका भेटिए। उनी आफैं बगैंचामा पसेर फूलमा पानी हालिरहेका थिए।
उनले सयपत्री मात्र रोपेका रहेनछन्। भुइँमा दुबो लगाएका छन्। अम्बा, सुन्तला, ओखर, कटुसका रूख छन्। बीचबीचमा तोरी र हरिया साग हलक्क भएका छन्। मकै उम्रेको छ। खुर्सानी फलेको छ। यो सबै देखेर जोकोहीको मन भुल्छ। विद्यार्थीलाई पनि सुन्दर पार्कमा आएझैं अनुभूति हुने रहेछ।
‘पहिले छाडा चौपायाले रूखबिरुवा खान्थे। फोहोर पनि गर्थे। अहिले दुवैतिर गेट लगाएका छौं। अनावश्यक मान्छे पनि पस्न पाउँदैनन्। बगैंचाको सुरक्षा पनि हुने भयो,’ उनले सन्तुष्ट हुँदै भने, ‘अब बल्ल मानवशास्त्र–समाजशास्त्र विभाग भनेजस्तै भएको छ।’
उसो त चेम्जोङले सुरूमै यो सबै गर्ने योजना बनाएका थिएनन्। योजनाअनुसार त मानवशास्त्र–समाजशास्त्र चोक वरपर मात्रै सुधार गर्ने भनिएको थियो। तर विभागको चोकसम्म आइपुग्ने बाटो तथा कक्षाकोठामा पुग्ने बाटो साह्रै फोहोरी देखियो।
राम्रो ठाउँमा पुग्ने बाटो पनि राम्रो भइदिए!
यही सोचलाई साकार पार्न चेम्जोङ अहिले सरसफाइमा जुटेका हुन्।
‘यहाँ प्रवेश गरेपछि विद्यार्थीको मानसिकता फेरियोस्। मलाई लाग्छ अब पक्कै फेरिन्छ,’ उनी भन्छन्, ‘नयाँ कामसहित यहाँ वरपरको क्षेत्र अर्कै भएको छ। समग्र त्रिविको नमूना बन्दै छ यो विभाग।’
परिसरको नियमित स्याहारमा छ जना कामदार खट्छन्। चेम्जोङका अनुसार ती कर्मचारी यहाँ पहिले घाँस मात्र काट्थे। अहिले त्यति नै कामदारको कामले परिसरको रूप फेरिएको छ।
‘घाँस काट्न लाग्ने जनशक्तिले काम गरिरहेका छन्। पहिले झाडी हटेर खुला मात्र हुन्थ्यो, अहिले तरकारी, फलफूल फलाएर खान पाएका छन्,’ उनले भने, ‘काम गर्ने तरिका जानियो भने धेरै कुरा फेरिने रहेछ।'
'गर्ने चाहना चाहिँ हुनुपर्यो,' उनले आफ्नो पुरानै सिद्धान्त दोहोर्याए।
आफू बसेको घरआँगन आफैं सफा र सुन्दर बनाउनुपर्ने प्राध्यापक चेम्जोङ बताउँछन्। कसरी सफा–सुन्दर बनाऔं भनेर कसैलाई सोध्न उनी आवश्यक ठान्दैनन्।
विश्वविद्यालयको शैक्षिक अवस्था बुझ्न बाह्य आवरणको भूमिका उल्लेख्य हुन्छ। ज्ञान निर्माण, वितरण र सिक्ने, सिकाउने थलो स्वच्छ, सफा, रमणीय, हराभरा हुनु अत्यावश्यक छ। जबसम्म बाहिरी परिवेश आकर्षक हुँदैन, तबसम्म ज्ञान निर्माण, उत्पादन र वितरण अपूरो हुन्छ। दिनेले दिए पनि लिनेले लिन नसक्ने उनको भनाइ छ।
चेम्जोङझैं सबैले आफ्नो विभाग आफैं व्यवस्थित गरे राम्रो सन्देश पनि जान्छ। उनको इच्छा पनि यही हो, 'समग्र त्रिवि सुधारिएको हेर्न मन छ।'