काठमाडौं सहरमा वसन्त मगरको परिचय ट्याक्सी ड्राइभरको थियो। उनको पेसामा 'कोरोना संक्रमण' देखापरेको छ। पाँच महिना भयो, उनका हातले स्टेयरिङ समात्न पाएको छैन।
ऋणधन गरेर किनेको ट्याक्सी ग्यारेजमा थन्क्याउनु परेपछि सुरूमा त उनलाई छट्पटी भयो। लकडाउन कहिले खुल्ला भनेर अत्यास पनि लाग्यो। तर, सर्वत्र बन्द भएपछि आफ्नो मन भुलाउन उनले उपाय पहिल्याए– जाने बुझेको सीप उपयोग गर्ने।
अहिले उनको हातमा काठ किला, काँटी, प्लाइ-वुड लगायत सरसामग्रीहरू छन्। कहिले ऐनाको फ्रेम बनाउँछन्, कहिले डाली-ढाकी।
'अब स्टेयरिङमा सल्बलाइरहेका हात यसै राख्नुपर्दा उकुसमुकुस हुने रहेछ,' वसन्त आफ्नो छट्पटि सुनाउँछन्, 'पहिले अलिअलि काठको काम सिकेको थिएँ। अहिले यसैमा आफूलाई भुलाइरहेको छु।'
टोखा निवासी वसन्त ट्याक्सी चलाउनुअघि फर्निचर व्यवसायी थिए। अरूले बनाएका सामान ल्याएर बेच्थे। फर्निचर सोरूमबाट राम्रै आम्दानी भइरहेको थियो। तर, यसमा अल्झिइरहन मन मानेन।
उनलाई ट्याक्सीले तान्यो।
'ट्याक्सी चलाउन पाए, समय सदुपयोग पनि हुने, केही समय किस्ता बुझाएपछि आठ–दस वर्ष ढुक्कले कमाइ खान पाइने सोचेर ट्याक्सीमा हात हालेँ,' उनले भने।
१४ लाख रूपैयाँ नगद जोहो गरे, अरू १४ लाख फाइनान्स गरेर नयाँ ट्याक्सी किने।
यो गत माघको कुरा हो।
नयाँ-नयाँ ट्याक्सीमा यात्रु राखेर सहर सयर गराउँदा मन पुलकित थियो। कमाइले ऋण-ब्याज तिर्ने आँट पनि दिएको थियो।
तर तीन महिना नहुँदै उनको ट्याक्सी कोरोनासँग दुर्घटनामा पर्यो।
'ट्याक्सी निकालेको तीन महिना मात्रै भएको थियो,' उनी पीडा सुनाउँदै भन्छन्, 'कोरोनाले थलाइदियो।'
ट्याक्सी लिएर दिनभर सहर घुम्ने बानी परेका उनलाई कोठामै थुनिनु पर्दा कम्ता सकस परेको छैन। त्योभन्दा ठूलो पिरलो ट्याक्सीको किस्ताको छ। कमाइ नहुँदा पनि खुरुखुरु ब्याज तिर्नुपर्दा काँधमा ठूलो भारी बज्रिएजस्तो भएको उनी बताउँछन्।
'चिन्ताले मनमा नराम्रा कुरा नखेलोस् भनेर हस्तकलाका सामग्री बनाएर दिन बिताइरहेको छु,' उनी भन्छन्।
ऋण कसरी चुक्ता गर्ने, आफ्नो नाममा कसरी गराउने, उनी अलमलमा छन्।
उसो त ट्याक्सी किन्दा आफूले बुझाएको नगद पनि उनको कमाइको थिएन। जग्गा धितो राखेका थिए। अहिले दोहोरो किस्ता बुझाउँदा हैरान छन् उनी।
भन्छन्, 'सामान्य मान्छे सडकमा आउन कति दिन लाग्दो रहेछ र!'
साँवा-ब्याज हिसाब गर्दा उनले मासिक ३७ हजार रुपैयाँ बैंकमा दाखिला गर्नुपर्ने थियो। सुरूमा सरकारले लकडाउन अवधिमा किस्ता सहुलियत दिने आश्वासन दिएको हो। तर, बैंकले ब्याज मात्रै भए पनि तिर्न ताकेता गरिरहेपछि उनी तनावमा छन्।
'घरभाडा नलिने, ब्याज मिनाहा गर्ने, साँवा बुझाउन ताकेता नगर्ने कुरा त सुनेकै हो,' उनी सरकारको गैरजिम्मेवारबारे भन्छन्, 'बैंकले बुझाउन भनेपछि फेरि ऋण काढेर ६० हजार किस्ता बुझाएँ।'
कोरानाले दैनिक कमाइ गरेर खानेलाई कसरी दलदलमा फसाइरहेछ राम्रैसँग अनुभूत गरेका छन् उनले। निराश हुँदै सुनाउँछन्, 'आफ्नै काम गरेर खाऊँ भनेको, उल्टो दसतिर हात फैलाउन पो बाध्य भइयो।'
सरकारले दिने भनेको राहत वसन्तसम्म पुगेको छैन। असार मसान्तसम्मको साँवा-ब्याज बुझाउन बैंकले बारम्बार सूचना पठाएपछि डरले ऋण खोजे। हिसाब किताब मिलान गर्नुपर्ने ट्याक्सीको मात्रै भए त चिन्ता कमै हुन्थ्यो हो। मासिक ११ हजार कोठाभाडा र रासन-पानी खर्चको बोझ पनि छँदैछ।
'मेरो जस्तै चौपट अवस्था साथीभाइको पनि छ। यस्तो आपतका बेला कसलाई सहयोग गर भन्नु? अब त सहयोग माग्ने ठाउँ पनि छैन,' उनी निरीह हुँदै भन्छन्, 'व्यापार–व्यवसायमा लगानी गर्नुपर्यो भन्न पो सजिलो, कोठा भाडा, रासन-पानी खर्चका लागि कोसँग हात फैलाउनु?'
वसन्तको परिवारमा श्रीमती र छोरा छन्। कोठा भाडा तिर्नै धौधौ हुन थालेपछि सस्तो ठाउँमा डेरा सार्ने योजना पनि बनाएका छन्। महामारीले गाँजेका बेला नयाँ मान्छेलाई कसले पो कोठा देला र! आफ्नै कोठामा फिर्न त घरबेटीले कोरोना जाँचको नेगेटिभ रिपोर्ट मागिरहेका छन्।
कोरोना कहर कतिञ्जेल रहने हो? यसले कतिञ्जेल यसरी नै पिरोलिरहने हो, यसै भन्न सकिँदैन। लकडाउन गरेर सरोकारवाला निकायलाई त हाइसन्चो होला। तर आफूजस्ता निम्न आय भएका परिवार सडकमा भोकभोकै मर्नुपर्ने अवस्थामा पुग्ने उनी बताउँछन्।
'यस्तै हो भने हामीजस्ता त ट्याक्सी कुदाउँदै होइन, हात थाप्दै सडकमा आउनेछौं। जायजेथा बेच्नुपर्ने हुनसक्छ,' उनी सरकारलाई लकडाउन खुकुलो बनाउन सुझाउँछन्, 'कुनै पनि व्यापारी-व्यवसायीले लकडाउन चाहेको छैन। अतिरिक्त आम्दानी होइन, कर बुझाउन र परिवारलाई पाल्न पुग्ने जति कमाउन पाए हुन्थ्यो।'
बीचमा लकडाउन खुकुलो भएका बेला उनको केही आम्दानी भएको थियो। किस्ता बुझाउन पनि सहयोग पुगेको थियो। अहिले पनि सुरक्षित तरिकाले, सावधानी अपनाएर ट्याक्सी चलाउन पाउने वातावरण बनाइदिन आग्रह पनि गर्छन्। स्टानिटाइजर, मास्क प्रयोग र सामाजिक दुरी विकल्प हुनसक्छ।
'घरभित्र थुनेर मात्रै समस्या समाधान हुने पनि होइन। बाहिर निस्किएको दिन फेरि उस्तै हालत हुन्छ। त्यसैले मैदानमा उत्रेर लड्नुपर्छ जस्तो लाग्छ,' उनी भन्छन्, 'हामीलाई पनि ज्यानको माया छ, परिवारको माया छ, लापरबाही गर्दैनौं। बरु जोर–बिजोर होस् वा अरू केही मापदण्ड बनोस् तर बाँच्ने वातावरण हुनुपर्यो।'
अहिले सयौं उद्योगी-व्यवसायी उठ्नै नसक्ने गरी घाटामा गइरहेका छन्। आर्थिक मात्र होइन, यो परिस्थितिले निम्त्याएको मनोवैज्ञानिक असर मन्द विष बराबर भएको वसन्तको ठम्याइ छ।
'देशमा बाँच्ने वातावरण नभएपछि हिजो–अस्ति मात्रै नाकाबाट सयौं भारत पस्दै भनेर समाचार आइरहेको छ। कतिले आत्महत्या गरिरहेका छन्। जति बाँचेका छन्, उनीहरूलाई मर्न बाध्य नपारियोस्,' उनी थप्छन्।
(समिक्षा अधिकारीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)