प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
शनिबार झापाको भद्रपुर नगरपालिका-५ स्थित भित्री सडकमा गोली प्रहार एक युवकलाई लागुऔषध खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो।
लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार प्रहरी नियन्त्रणमा रहेका ती युवक भारतको किसनगन्जका ३६ वर्षीय महमद इस्लाम हुन्।
शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोज्दै उल्टो प्रहरीमाथि नै आक्रमण गरी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको एसएसपी कोइरालाले जानकारी दिए।
त्यतिबेला प्रहरीले दुई राउन्ड गोली चलाएको थियो। एक राउन्ड गोली उनको बायाँ खुट्टाको घुँडाभन्दा तल लागेको थियो।
हाल प्रादेशिक अस्पताल भद्रपुरमा उनको उपचार भइरहेको एसएसपी कोइरालाले जानकारी दिए।