सुनसरीको इनरुवा नगरपालिका-९, बबियाकी अलबिना १९ वर्ष पुगिन्। यो उमेरमै उनी धेरैका लागि सहयोगी र केहीका लागि आँखाको कसिंगर बनेकी छन्।
बबियामा मुस्लिम समुदायको बाक्लो बसोबास छ। यहाँ छोरी मान्छेहरू विरलै घरबाट बाहिर निस्कन्छन्। अलबिनालाई भने उनको परिवारले समाजमा जनचेतना जगाउन हौसला दिइरहेको छ।
आफ्नी आमा सहजादीको प्रेरणाले अलबिना सामाजिक कार्यमा सक्रिय छन्। उनीहरू आमाछोरी नै बालविवाहविरूद्धका अभियन्ता हुन्। त्यसैले पनि कतिपय परम्परागत सोच राख्नेहरूले उनीहरूलाई 'राम्रो' मान्दैनन्। तर आफ्ना उमेर समूहका किशोरीका लागि अलबिना सबभन्दा नजिककी साथी हुन्।
बालविवाह रोक्न स्वयम् किशोरीहरू नै सक्रिय हुनुपर्ने विश्वास अलबिना राख्छिन्।
'पहिलेका मान्छेले कुरा बुझेनन्। गलत कुरालाई पनि परम्परा भनेर स्वीकारे। तर अबको बुझ्ने पुस्ताले पनि त्यही कुरा त्याग्न सकेको छैन,' अलबिना भन्छिन्, 'मेरो समुदायका हरेक किशोरीले बालविवाहलाई 'नो' भन्नु पर्छ। हामीले 'नो' भनेपछि कसैले कर गर्न सक्दैन।'
बालविवाहविरुद्ध सचेतना फैलाउन उनी अधिकांश समय परामर्श र भेटघाटमा हुन्छिन्। आफ्नो समुदायका कतिपय हानिकारक मूल्य-मान्यतालाई चुनौती दिँदै सानो उमेरमै अलबिना अभियन्ता बन्नुका पछाडि उनकी आमा सहजादीकै भूमिका छ। अनि सहजादीको सामाजिक अभियानप्रतिको लगावमा उनकी आमा फातिमा खातुनको जीवन।
बालविवाह महिलाहरूका लागि कति जोखिमपूर्ण छ भन्ने कुरा अलबिनाले आफ्नै हजुरआमा फातिमको घटनाबाट सिकेकी हुन्। त्यसैले त उनी आफ्ना समूहका किशोरीलाई सम्झाउँदा आफ्नै हजुरआमाको उदाहरण दिन्छिन्। उदाहरण सुनेपछि प्रायः सबै उनको कुरामा आश्वस्त हुन्छन् रे।
अलबिनाकी आमा सहजादी अहिले ३५ वर्ष भइन्। तर नागरिकतामा उमेर ४६ वर्ष पुगिसकेको छ। सहजादीका अनुसार सानैमा बिहे भएका कारण नागरिकता सहजै पाउन उमेर बढाइएको हो।
विराटनगरको सम्पन्न परिवारमा दोस्रो सन्तानका रूपमा जन्मिएकी थिइन् सहजादी। उनीपछि आमा फातिमाले ८ सन्तान जन्माइन्।
'बन्ध्याकरण गर्दा पाप लाग्छ भन्ने मान्यता थियो,' सहजादी त्यो बेलाको सामाजिक सोच सुनाउँछिन्। त्यसैले आमा फातिमाले बर्सेनि बच्चा जन्माउँदै गइन्।
'हाम्रो परिवारमा केही कमी थिएन। घरबाहिर निस्कन भने बन्देज थियो। त्यसैले होला, आमालाई गर्भनिरोधका बारे थाहा थिएन,' सहजादी भन्छिन्, 'सुत्केरी हुँदा अस्पताल भने लगिन्थ्यो। नवौं सन्तान जन्माउँदा उहाँको अपरेसन गर्नु पर्यो। बहिनी जन्मिइन् तर आमा बित्नु भयो।'
आमाको मृत्युपछि भाइबहिनीको रेखदेख र स्याहारसुसार जिम्मा १२ वर्षे सहजादीको काँधमा आइपुग्यो। आमाको मृत्युले थपिएको जिम्मेवारीले उनको पढाइ ८ कक्षामै रोकियो। उद्योगपति बुवाले सबैलाई निजी विद्यालयमा पढाएका थिए। तर परिवारको जिम्मेवारीले पढ्न नपाएको सहजादी बताउँछिन्।
सहजादीका छिमेकी नेवार समुदायका थिए। उनीहरूका छोरी बाहिर घुम्थे, रमाउँथे, सिक्थे। तर सहजादीहरू सबै घरभित्रैबाट हरिरहन्थे।
'बाहिर संसार बुझ्न नपाउँदै बुवाले बिहे गरिदिएर नयाँ जिम्मेवारी थपिदिनु भयो,' १७ वर्षकै उमेरमा आफ्नो बालविवाह भएको सहजादी बताउँछिन्, 'बुवाको निर्णय मान्नु पर्ने सामाजिक बाध्यता थियो।'
बिहेपछि सहजादी इनरुवा श्रीमानको घर आइन्। उनी आफ्नी आमालाई निकै सम्झिन्थिन्।
'आमाले पनि सायद बुवाको निर्णय मानेर सानैमा बिहे गरी परम्परा भन्दै बर्सेनि बच्चा जन्माउनु भयो होला,' सहजादी भन्छिन्, 'मेरो पनि आमाको जस्तै अवस्था होला कि भनेर मलाई चिन्ता पनि लाग्थ्यो।'
यही चिन्ताले हो, बालविवाहविरुद्ध अभियानमा लाग्ने विचारले उनको मनमा बीउ रोपेको। तर त्यो बेला यो बीउको टुसो उमार्नु असम्भव जस्तै थियो।
'मैले श्रीमानलाई आफ्नो चिन्ता सुनाएँ। उहाँले केही वर्ष बच्चा नपाउनेमा सहमति जनाउनु भयो। तर अन्य कुरामा समाज छोड्न नसकिने भन्नु भयो। उहाँलाई समाजको डर थियो,' सहजादी सम्झिन्छन्, 'तर मलाई एसएलसी परीक्षा दिन र पढ्नमा सघाउनु भएका उहाँले अन्य कुरामा मद्दत गर्नुहुन्छ भन्ने महशुस गरेँ।'
उनीहरूले बिहे भएको ४ वर्षसम्म सन्तान जन्माएनन्। समाजमा सहजादीका कुरा काट्न सुरू भइसकेको थियो। तर उनी आफ्नो अध्ययनमा केन्द्रित भइन् र भारतबाट परीक्षा दिएर एसएलसी पास गरिन्।
लगावले बाटो आफैं देखाउँछ भनेझैं त्यही बेला गाँउमा मुस्लिम समुदायबाट महिला स्वास्थ्य स्वयंसेविका बनाउने कुरा चल्यो। सहजादीले इच्छा देखाइन्। गाउँगाउँ डुल्ने काम, समाजमा कुरा काट्छन भनेर श्रीमान राजी भएनन्। तर स्वयंसेविका बन्ने प्रस्ताव ल्याउने जेठाजु नाता पर्नेले श्रीमानलाई सम्झाए।
अनि सहजादी महिला स्वास्थ्य स्वयंसेविका बनिन्।
स्वयंसेविका बनेपछि त सहजादीका बाँधिएका पखेटा फुके। घरबाहिर निस्कन पाइन्। गाउँघरका महिलाका समस्या बुझ्न थालिन्। यही क्रममा ओरेक नेपालको 'बालविवाह न्यूनीकरणमा हाम्रो भूमिका' तालिममा सहभागी हुने मौका मिल्यो।
तालिममा सहभागी भएपछि उनले बुझिन्- गाउँमा यतिका समस्या छन्। कसैले त यसको समाधानका लागि भूमिका खेल्नु पर्छ।
उनलाई खाँचै यही हौसलाको थियो। उनी प्रत्यक्षरूपमा कुरितिविरुद्ध उभिन थालिन्। अनि एकदिनको घटनाले उनका श्रीमानलाई पनि सहजादीप्रति गर्व अनुभव भयो।
'छिमेकमा एक महिलालाई बोक्सी भनेर कुटपिट भएको रहेछ। सबै समुदाय चुप भएका बेला सहजादीले त्यो मुद्दा प्रहरीसम्म पुर्याइन्। पिडकलाई कारबाही र प्रभावितलाई घरमा पुनर्स्थापित गरियो,' सहजादीका श्रीमान बसिरुद्दिन आलमले भने, 'उनको यो कामले मलाई समाजमा आफ्नो प्रतिष्ठा बढेको महशुस भयो।'
'त्यति बेला समाजले के भन्ला भन्ने डरले मैले उनलाई खुलेर साथ दिन सकिनँ। अहिले उनले समाजका लागि राम्रो काम गरेकामा गर्व लाग्छ,' हर्षित हुँदै आलमले थपे।
महिला स्वास्थ्य स्वयंसेविका रूपमा काम गर्दा घरेलुहिंसाका घटनामा समेत सहजादीले धेरै प्रभावितलाई सहयोग गरिन्।
उसो त उनको समुदायमा घरेलुहिंसाको एउटा मुख्य कारण बालविवाह पनि थियो।
'त्यही बालविवाह, जुन मेरी आमाको मृत्युको कारण बनेको थियो,' सहजादी भन्छिन्, 'त्यसैले पनि म बालविवाह सम्बन्धी सचेतनामा सक्रिय भएँ।'
समाजमा जरा गाडेर बसेको कुरा उखेल्न त्यति सजिलो कहाँ छ र! सहजादीले अभिभावकहरूलाई निक्कै सम्झाइन्, बुझाइन्। उमेर नपुग्दै हुने बिहे रोकिएन।
परिवारका अग्रजलाई नै बुझाउँदा पनि बालविवाह किन कम भएन? सहजादीले धेरै सोचेपछि निष्कर्ष निकालिन्- बालविवाह रोक्न स्वयं युवाहरू नै लाग्नु पर्छ।
अनि उनले आफ्नै किशोरी छोरी अलबिनालाई यसको जिम्मा दिइन्। फलस्वरुप अहिले आमाछोरी बालविवाहविरुद्ध अभियन्ताका रूपमा चिनिए।
यी आमाछोरीको कामबाट अहिले जनप्रतिनिधि पनि खुसी छन्।
वडाध्यक्ष बसिरुद्दिन मंसुरी भन्छन्, 'हाम्रो धर्ममा महिलालाई अघि नबढ भनेको छैन। तर व्यवहारमा त्यो देखिँदैन। कुरानले महिलालाई सर्वोच्च स्थान दिएको छ। सहजादी र अलबिनाले त्यो सावित गरिदिएका छन्।'
उनले एउटा घटना पनि सुनाए, 'एक दिन अलबिनाले यहीँका दुई किशोरीको बिहे हुन लागेको छ भनेर सुनाइन्। म गएर यी बालख छोरीको बिहे गर्दिए तिमीहरू जेल जानुपर्ला भनेर खबरदारी गरेँ। त्यसपछि बिहेको कुरा अघि बढेन।'
यहाँको मुस्लिम समुदायमा अन्य समुदायको पहुँच खासै हुँदैन। यस्तो अवस्थामा त्यहाँभित्र हुने घटनाबारे अरूलाई थाहा पाउन अप्ठ्यारै छ। सहजादी र अलबिनाको प्रयासले भने मुस्लिम समुदायमा मानवअधिकार, महिला अधिकारका कुराले विस्तारै प्रवेश पाएको सामाजिक अभियन्ता रमेश भट्टराई बताउँछन्।
'सहजादी र अलबिना उनीहरूको समुदायका मसिहा (भगवानका दूत) हुन्। सुनसरीको दक्षिणी भेगका महिला तथा बालबालिकाका सवालमा सहजादी जानकार मात्रै छैनन्, केही परिहाले खबर नै उनैलाई आउँछ,' भट्टराई भन्छन्, 'अनि उनीहरू एकदमै सक्रिय पनि छन्।'
उनले पनि यी आमाछोरीको कामको उदाहरण सुनाए- एकपटक दाइजो निहुँमा एउटी महिलालाई सासू र नन्द मिलेर धेरै कुटे। पीडित महिलाले सहजादीलाई सुनाइन्। हल्लाखल्ला भयो। भोलिपल्ट गाउँमै पञ्चायती गरेर कुरा ढाकछोप गर्ने खोजे। तर सहजादीले पञ्चायतकैविरुद्ध प्रहरीमा उजुरी दिइन् र ती महिलालाई न्याय दिलाउन सहयोग गरिन्।
'यस्ता थुप्रै घटना बाहिर आउनुमा उनीहरूको देन छ,' भट्टराईले भने।
उनले भने झैं सहजादी र अलबिना आफ्नो समुदायका लागि निकै महत्वपूर्ण काम गरिरहेका छन्। अलबिनालाई एउटा तालिममा चिनेकी इनरुवाकी २० वर्षीया पूजा काफ्ले उनीसँगै निकै प्रभावित छन्।
पूजा भन्छिन्, 'अलबिनाको प्रयासले मुस्लिम समुदायमा साँच्चै बालविवाहविरुद्ध सचेतना बढेको छ। बुर्कामा बाँधिएको समुदायलाई अलबिनाले आफ्नो संस्कृति जोगाएरै गलत कुरा त्याग्न सकिने उदाहरण देखाएकी छन्। उनी कहिल्यै चुनौतीसँग डराउँदिनन्, पछि हट्दिनन्।'
अलबिना अभियानमा सक्रिय भएपछि गाउँमा ७ वटा बालविवाह रोकिसकेकी छन्। आमा सहजादीको साथ र उनको आँटले उनलाई आफ्नो वडाबाट अन्तर्राष्ट्रिय मन्चसम्म पुर्याइसकेको छ। उनी सन् २०१७ मा बैंककमा आयोजित 'एसियाली मुलुकमा बालविवाह' सम्बन्धी गोष्ठीमा नेपालको प्रतिनिधित्व गर्दै पुगेकी थिइन्।
त्यसयता उनको सक्रियताले अझै गति पाएको छ।
भन्छिन्, 'हाम्रो धर्मलाई कतिपयले कट्टर पनि भन्छन्। तर कुरानले महिलालाई सर्वोच्च स्थानमा राखेको छ। निकाह पनि हामीले कबुल नगर्दासम्म सफल हुँदैन। धर्मले नै हामीलाई आत्मनिर्णयको अधिकार दिएको छ। यही सामान्य र सत्य कुरा बुझाउन लागि परेकी छु।'