हनुमानढोका घुम्ने कि स्वयम्भू? बिस्कुट खाने कि पाउरोटी? वा पैसा पो लिने कि? होइन, पत्रपत्रिका पढ्छु भने पनि उपलब्ध छन्।
तर, नझुक्किनू है। यी सामग्री वास्तविक होइनन्, २३ वर्षीय निकेश भण्डारीका 'थ्रिडी' चित्रकला हुन्।
सग्लो क्यानभास खुम्चिएजस्तो, प्वाल परेजस्तो, कतै उठेजस्तो वा कतै बसेजस्तो भ्रम थ्रिडी कलाले सिर्जना गर्छ। अझ फराकिलो क्यानभास पाउने हो भनेर संसारका चित्ताकर्षक ठाउँ उतार्न सकिने र मानिसलाई त्यहीँ पुर्याएको भान दिन सकिने निकेश बताउँछन्।
थ्रिडी कलाको विशेषता नै हो– एउटै क्यानभासमा संसार समेट्नु।
नेपालको चित्रकला क्षेत्रमा भर्खरभर्खर फैलन थालेको थ्रिडी कलामा निकेश अलग्गै पहिचान बनाउँदै छन्। उनका कला ग्यालरीमा प्रस्तुत छैनन्, तर सामाजिक सञ्जालमार्फत उनको पहिचान फैलिँदो छ।
निकेश पेसाले बायोमेडिकल इञ्जिनियर हुन्। चित्रकला भने उनको रहर हो जसलाई 'पार्ट टाइम' कामका रूपमा अघि बढाएका छन्। कालान्तरमा यसैलाई पेसाका रूपमा अघि बढाउने सोच छ। हाल भने भविष्यकै योजनामै थान्को लगाएका छन्।
'अहिलेको जमानामा एउटा मात्रै खुबी भएर मात्रै हुँदैन, एउटा मात्रै काम जानेर हुँदैन, ब्याक-अप पनि सोच्नुपर्छ,' इञ्जिनियरिङबाट समय निकालेर चित्रकलामा रमाउनु र सीप निखार्नुको तात्पर्य खुलाउँदै उनी भन्छन्, 'आफूले सीप जानेका क्षेत्रलाई सँगसँगै लैजाने प्रयास गरिरहेको छु।'
थ्रिडी कलालाई अहिले अधिकांश होटल-रेस्टुरेन्टले सजावटका रुपमा अपनाइरहेका छन्। ग्राहकलाई मोहित तुल्याउन र उनीहरूको कौतुहलता तिखार्न थ्रिडी कला सजावटका रूपमा प्रयोग गरिएको हुनसक्छ। त्यसैले यसको भविष्य राम्रो देख्छन् निकेश।
निकेशलाई सानैदेखि थ्रिडी कलामा विशेष लगाव थियो। प्राकृतिक दृश्य मात्रै होइन घरमा भएका सामग्रीलाई पनि दुरूस्तै चित्रमा उतार्न सक्दो मिहिनेत गर्थे। यो रहर अहिले उनको लत बनेको छ। हेर्दा सामान्य मानिएका, हाम्रै आँखाअघि आइरहने चिजबिज क्यानभासमा उतार्न उनी सधैं तल्लीन हुन्छन्।
'तुलनात्मक रुपमा युरोप-अमेरिकामा जस्तो थ्रिडी कलामा यहाँ भविष्य छैन। तर अघि बढाउन सक्ने ठाउँ छ,' उनी सम्भावना भन्न छुटाउँदैनन्।
उनका अनुसार पछिल्लो समय घर, बाटो, पुल, पार्क, एयरपोर्ट जस्ता साना-ठूला योजना बनाउँदा पहिले थ्रिडी डिजाइन गरिन्छ। आफूले चाहेजस्तै बनाएर हेर्न सकिन्छ जसलाई थ्रिडी मोडलिङ भनिन्छ। यस्ता प्रयोगले थ्रिडी कलाको महत्त्व बढाएको निकेश बताउँछन्।
उदाहरण दिँदै भन्छन्, 'टुँडिखेल पार्क, फास्ट ट्रयाक, रानीपोखरी, धरहरा थ्रिडी डिजाइनकै कारण भनेजस्तै बनिरहेको छ।'
विभिन्न योजना आयोजनामा मात्रै होइन, सामाजिक सञ्जालले थ्रिडीलाई सार्वजनिक प्रतिष्ठाको रूपमा समेत विकास गरिदिएको छ।
'तपाईंको हातमा भएको सीप, कला–कौशल छेउछाउका मान्छेले मन नपराएका हुन सक्छन्, तर कोसौं टाढाको मान्छे आकर्षित भइरहेको हुन सक्छ। भाइरल हुन सक्छ। मैले कलालाई विश्वव्यापी सञ्जालमार्फत फैलाउने योजना बनाएको छु,' उनी सुनाउँछन्।
चित्रकारले आफ्नो दृष्टिकोणबाट बनाएको चित्र दर्शकले पनि सोही कोण प्रयोग गरेर हेर्नुपर्ने निकेश बताउँछन्। यसले मात्रै थ्रिडी कलाको सुन्दरतामा निखार ल्याउँछ। अनि चित्र बनाउन अथक मिहिनेत र दृढ संकल्प जरुरी हुन्छ। निरन्तरताको साधना चाहिन्छ। दुई–चार दिनको दौडधूपले कलालाई थ्रिडीमा ढाल्न नसकिने निकेशको अनुभव छ।
'कुनै चित्र कुन कोणबाट हेर्ने भन्ने निश्चित तकनिकी हुन्छ। जतासुकैबाट हेर्दा चित्रको उद्देश्य पूरा नहुन सक्छ,' निकेश भन्छन्, 'लाइट मिलेन भने चित्र मिल्दैन। बनाउँदै जाँदा मात्रै थाहा हुँदै जान्छ। हातमा बानी बसिसकेपछि पनि कुनै एउटा राम्रो चित्र बनाउन ८–९ घन्टा लाग्छ।'
सामान्य चित्र लम्बाइ र चौडाइ हेर्न सकिने हुन्छ। थ्रिडी कलामा भने उचाइ र गहिराइ पनि महशुस गर्न सकिन्छ। जंगलको थ्रिडी चित्रकला गरिएको कोठामा सही लाइटिङ र ध्वनी मिसाएर जंगलमै बसेजस्तो अनुभूति गर्न सकिन्छ। निकट भविष्यमै निकेशले यसको झल्को पनि दिनेछन्।
'मैले हालै बनाएको क्याल्कुलेटरको चित्र टु-डी मात्रै भएको भए माथिबाट मात्र देखिन्थ्यो,' निकेश आफ्नै चित्रको उदाहरण दिँदै भन्छन्, 'थ्रिडी भएकाले त्यसमा लाइट कताबाट आएको छ, छाया कता छ, थाहा पाउन सकिन्छ। माथि उठेका गोटीको उचाइ अनुमान गर्न सकिन्छ।'
निकेशले चित्र बनाउन स्कुले जीवनबाटै सुरू गरेका हुन्। झापा, बुधबारे स्थायी घर भएका निकेशको टोलमा एकजना पेन्टर थिए। अनेक चित्र कोर्थे, राम्रा अक्षर बनाउँथे। कहिलेकाहीँ तिनै दाइ ठूला कुची समाएर भित्तामा लेखिरहेका भेटिन्थे। उनै पेन्टरले आफूलाई चित्रकलातर्फ डोहोर्याएको उनी बताउँछन्।
'म स्कुल जाँदा-आउँदा उहाँ आफ्नै पसलमा पेन्टिङ गरेर बस्नुहुन्थ्यो। कहिले ठूलो ब्रस समाएर रंगीबिरंगी मसीले ठूलो भित्तामा लेखेको देख्दा चार्ट पेपरसम्म नदेखेको म हेरेको हेर्यैं हुन्थेँ,' उनी चित्रकलाप्रतिको उत्सुकता सुनाउँछन्, 'आफूले स–साना पानामा कलम र पेन्सिलले मात्रै चित्र बनाएको, त्यसरी ठूलो ठाउँमा लेख्न पाए कस्तो होला झैं लाग्थ्यो।'
निकेशको चासो बढिरहेकै बेला स्कुलमा रेडक्रसले चित्रकला प्रतियोगिता गर्ने भयो। रेडक्रसका कुनै एक काम झल्किने चित्र बनाउनु पर्ने थियो। प्रतियोगीले त्यसै गरे। कसैले रक्तदान गरेको, कसैले विपद व्यवस्थापनमा सहयोग पुर्याएको चित्र बनाए।
'मैले रेडक्रसले गर्ने सबैजसो काम एउटै क्यानभासमा उतारेँ, जुन अरूभन्दा फरक भएछ। कन्सेप्ट पनि फरक थियो,' उनी अनुभव सुनाउँदै भन्छन्, 'त्यसैले म प्रथम भएँ। पुरस्कार मात्र होइन, चित्रकलामा थप उत्साह पनि पाएँ।'
स्कुलमा साथीहरूले पनि 'चित्र बनाइदे न' भन्दै कापी दिँदा उनी त्यसै दंग थिए। तर नौ–दस कक्षा पढ्दा जागेको ठूलो भित्तामा राम्रा आकृति कोर्ने उत्सुकता पूरा गर्न नपाउँदै उनी काठमाडौं आए। साथी संगत फेरियो। भित्तामा नाम लेख्ने जमाना पनि फेरियो।
सामान्य तर दुरुस्तै चित्र बनाउँदै आएका निकेशको रूचि पनि फेरिन थाल्यो। टु-डीबाट विस्तारै थ्रिडी कलातिर आकर्षित भए। विज्ञान विषयमा प्लस-टु पढ्दा विभिन्न जीव-जनावरको चित्र बनाउनु पर्छ। निकेशले पनि बनाए। तर सरले छापेर ल्याएको भनेर गाली गरेको निकेश सुनाउँछन्।
'मैले बनाएका चित्र कक्षामा सबभन्दा राम्रो भएछ। छापेर ल्याइस् भनेर सरले गाली गर्नुभयो,' सरको गालीले खुसी बनाएको बताउँदै उनले भने, 'मलाई नराम्रो लागेन। खुसी लाग्यो। म त खत्रा भएछु कि जस्तो लाग्यो।'
कलेजका शिक्षकको जस्तै टिप्पणी अहिले पनि निकेशलाई सामाजिक सञ्जालबाट आउँछन्– आफैंले बनाएको हो वा फोटो लिएको? यस्ता कमेन्टले चित्र बनाउन अझ उत्साहित पार्ने उनी बताउँछन्।
उनका अनुसार उनले बनाएका पैसा चित्रकलामा तीनटा नोट एकआपसमा खप्टिएजस्तो भ्रम हुन्छ। खुम्चिएको-च्यातिएको जस्तो पनि लाग्छ। सामान्य पैसाको चित्र त्यस्तो हुँदैन।
'खासमा चित्रकलाका धेरै क्षेत्र छन्। कोही प्रकृति कोर्न रूचाउँछन्। कोही सारा हिमशृंखला उतार्न खोज्छन्। कसैलाई महिलाको सुन्दरतामा कुची दौडाउन मन पर्छ। कोही आँखाले देख्नै नसक्ने वस्तु देखाउन प्रयासरत छन्,' उनी भन्छन्, 'मलाई भने अब थ्रिडी कला विकास हुन जरुरी छ भन्ने लाग्छ। यसमाछि मात्रै चित्रकलामा नयाँ आयाम भित्रिने छ।'