नेपालमै पहिलोपटक मकै पोल्ने मेसिन बनाएर 'ठेट्नो मकैघर' चलाएका इञ्जिनियर विपीन कँडेल लकडाउनको मारमा छन्। उनले छ महिनाअघि मात्र विस्तार गरेको शाखा बन्द गर्नुपर्यो।
विपीनले गत वर्ष बानेश्वरको संगम चोकमा ठेट्नो मकैघर खोलेका थिए। नयाँ स्वाद चाख्न पल्किएका उपभोक्ताको घुइँचो लाग्न थालेपछि उनले शंखमुलमा शाखा थपे। त्यसलगत्तै कोरोना लकडाउन सुरू भयो।
व्यवसाय सुरू गर्दा आकलन गरिएको जोखिम अहिलेको परिस्थितिसँग मेल खाएन। यसले विस्तारित शाखा बन्द गर्नुपरेको उनको भनाइ छ।
'हामी कसैले पनि यस किसिमको जोखिम अनुमान गरेका थिएनौं,' उनले सेतोपाटीसँग भने, 'जोखिम अनुमान नभएपछि वहन गर्ने क्षमताबारे सोचिएन। अब एकले अर्कोलाई सहयोग नगर्ने हो भने एक जना पनि टिक्न सकिँदैन।'
ग्राहक नआउँदा धेरै व्यवसायीलाई भाडा तिर्न समस्या छ। कतिपय व्यवसायी पलायन नजिक छन्। कतिपय अर्को पेसा रोज्ने तरखरमा होलान्। विपीनले भने हार मानेका छैनन्। शाखा बन्द गर्नुपरे पनि व्यवसाय मर्न नदिन विभिन्न योजना बुनिरहेका छन्।
त्यस्तै योजनामध्ये एक हो, अनलाइन बुकिङ लिएर ग्राहककहाँ डेलिभरी गर्ने। अर्थात्, उनी अनलाइनबाटै पोलेका मकै र मकैका अरू परिकार ग्राहकसम्म पुर्याउने तरखरमा छन्।
'यी दिनमा मैले ग्राहकको मनस्थिति विचार गरिरहेको छु। रूचिबारे अध्ययन गरिरहेको छु,' उनले भने, 'जति नै कोशिस गरे पनि छिट्टै ग्राहकको भीड त यहाँ लाग्दैन। त्यसैले अबका दिनमा हामी नै ग्राहकसम्म पुग्नुपर्छ। आजको आवश्यकता यही हो।'
अनलाइन सेवालाई प्राथमिकता दिँदै उनले हप्ताको सातै दिन व्यापार चलाउने योजना बनाएका छन्। कम्तिमा सातवटा कार्यालय खोज्ने, अर्डर लिने र डेलिभरी गर्ने उनको योजना छ।
कुनै एउटा कार्यालयले साताको एक दिन खाजाका रूपमा ठेट्नोबाट मकै अर्डर गरे भने राहत हुने उनी बताउँछन्। सातवटा कार्यालयलाई ग्राहक बनाउन सके सात दिनलाई ढुक्क।
'२५-३० जना कर्मचारी भएको कार्यालयबाट एक व्यक्ति दुइटा मकै अर्डर आए पनि ५०-६० वटा हुन्छ। यसले हामीलाई मेहनतले सिर्जना गरेको व्यवसाय धानिरहन र चलायमान राख्न सहज हुन्छ,' उनी आशावादी सुनिन्छन्, 'निश्चित ग्राहक खोज्न चुनौती त हुन्छ नै। तर सफल भइयो भने यो कठिन समय पनि पार लाग्छ।'
विषम परिस्थितिमा पनि व्यवसाय स्थिर राख्न सबैले मनोबल बलियो पार्नुपर्ने उनी बताउँछन्।
विपीनका अनुसार यो व्यापारी-व्यवसायी निम्ति परीक्षाको घडी हो। यो परीक्षामा खरो उत्रिन आगामी ६ महिना व्यवसाय बन्द गर्नुपरे पनि ब्रान्ड बचाउन हरसम्भव प्रयास गर्ने सोचमा उनी छन्।
२८ वर्षीय विपीन पेसाले मेकानिकल इञ्जिनियर हुन्। नयाँ-नयाँ मेसिन आविष्कार गर्ने ज्ञान उनले मकैका परिकार बनाउन र सहरमा नयाँ पारखी जन्माउन पनि बाँडेका छन्।
आफ्नै पेसामा अब्बल सावित हुने बाटामा हिँडेका विपीन कसरी मकैका परिकार बनाउन थाले त?
उनको 'टर्निङ प्वाइन्ट' रोचक छ।
पाल्पाका विपीनलाई मकै असाध्यै मनपर्ने, विशेषतः पोलेको–उसिनेको। काठमाडौंमा उनको तलतल बाटामा मकै पोल्ने आमाहरूले पूरा गर्थे। फुर्सद हुनेबित्तिकै उनी धुवैँधुवाँ भएर घामझरी नभनी मकै पोलिरहेका आमैछेउ जान्थे र मकै खान्थे। आगोमा हात पोल्दै, खोक्दै मकै पोलेको देख्दा उनी आफ्नो पेसा सम्झन्थे।
परार साउनतिर मैतिदेवीमा उनले यस्तै सास्ती देखे।
'सडकपेटीमा एक जना आमैले मकै पोलिरहनुभएको थियो। छाता ओढ्नुभएको थियो तर झरी ओतिएको थिएन। कोइला बल्न नसकेको, धुवाँ आइरहेको। छाता ओढेर मकै किन्न आउने पनि थिए,' केही सम्झिएझैं गरी उनले भने।
उनी र उनका मेकानिकल इञ्जिनियर साथी पर बसेर यो दृश्यको साक्षी भइरहेका थिए।
मकै किन्ने ग्राहक गएपछि उनीहरूले आपसमा कुरा गरे– मान्छेलाई यस्तो झरीमा पनि खान परेको छ। यसको मतलब मकैको बजार छ। तर बनाउन दुःख छ। यही काम व्यवस्थित रूपमा गर्न सकिँदैन?
आगोको कोइला हम्किएर मकै पोल्ने पुरानो तरिकालाई मेसिनमा ढाल्ने उपाय सोचिरहेका थिए उनीहरू।
'सबै बनाउने, पकाउने मेसिन हुन्छ, मकै पोल्ने किन हुँदैन। कि हामीले देखेकै छैन,' यही सोचेर मेसिन खोज्दै उनीहरूले बजार चहारे।
'सुखद संयोग, मेसिन बनेकै रहेनछ। साथीहरूबीचको कुराकानी नै मकै पोल्ने मेसिन बनाउने वातावरण बन्यो,' मेसिन आविष्कारको पाटो सुनाउँछन् उनी। इञ्जिनियरिङ पढ्दाको ज्ञान, सीप यता प्रयोगमा आयो। अध्ययन र कामसँगै ६ महिनामै उनीहरूले मकै पोल्ने मेसिन बनाए।
टिन र फलामको पाताबाट बनेको मेसिनमा एकैपटक दसवटा मकै पोल्न सकिन्छ। मेसिनको पुछारको भागमा हावा खेल्ने प्वाल छ। त्यसको माथिपट्टि कोइला (गोल) राखिन्छ। गोल राख्ने पातामाथि मकै राख्ने फलामे जाली छ। स्वीच अन गर्नेबित्तिकै हावा हम्कने र जाली घुम्ने काम एकैपटक हुन्छ र तापले मकै पोलिन्छ।
मकैमा धुँवा लाग्दैन, तीतो हुँदैन। स्वाद पनि मीठो हुने दाबी विपीनको छ।
'बनाएपछि बेच्नुपर्ला भनेको सोचेको थिएँ। तर बेचिनँ,' उनले भने।
मेसिन बने पनि त्यो बाटामा बसेर मकै पोल्नेका लागि काम नलाग्ने भयो। मेसिनले धेरै ठाउँ ओगट्थ्यो। सडक पेटी वा कुनामा नगर प्रहरीको आँखा छल्दै मकै पोल्नुपर्नेहरूले त्यत्रो ठूलो मेसिन कहाँ राखून्?
फेरि बनाउनै लाखमाथि लागत लागेको मेसिन किन्ने सामर्थ्य उनीहरूसँग हुँदैन। जसका लागि लक्षित गरेर बनाइयो, उनीहरूलाई नै काम नलाग्ने भएपछि के त?
त्यही मेसिन प्रयोग गरेर व्यवसायमा हात हाल्ने निधो गरे विपीनले।
'डेढ लाख लगानीको मेसिन कसैले किन्दैन थियो। आफैंले बनाएपछि प्रयोग किन नगर्ने भनेर ठेट्नो मकैघर खोलेँ,' उनले भने।
खुलेको छ महिनामै ठेट्नोले भुटेको–पोलेकोदेखि मकैको चटपटे, खीर लगायत १५ थरि परिकार पस्कियो। मकै भने स्थानीय नै प्रयोग गरे।
'कतिपय किसानले हरियो मकै मात्र बेच्ने हिसाबले रोप्ने थाहा भयो,' उनले भने 'अफ सिजनमा नपाइएला भन्ने चिन्ता पनि रहेन। त्यसैले स्थानीय मकैमै जोड दियौं।'
विपीनको कार्यानुभवले अबका युवाले अलि फरक ढंगले सोच्नुपर्ने संकेत गर्छ। त्यस्तै अप्ठ्यारा परिस्थिति र जोखिम आउँदैमा निराश भएर हार खान नहुने उनको भनाइ छ।
'एउटा शाखा बन्द गरे पनि संगमचोकको मकैघरमा खर्च कम छ। छ महिना बन्द गर्नुपरे पनि ऋणधन गरेर ब्रान्ड बचाउने मनसायमा छु,' उनले सेतोपाटीसँग भने।
दुवैतिर व्यवसाय सञ्चालन गर्दा उनले मासिक ६० हजार भाडा तिर्थे। दस-दस लाख रूपैयाँ लगानीमा खोलिएका दुइटा मकैघरको ऋण पनि तिरिसकेका छैनन्। छ जना कर्मचारी चार महिनायता कामकाज बिहिन छन्।
'केही कर्मचारी साथी गाउँ जानुभएको छ। यहाँ भएकाहरूसँग आपसी समझदारीमा कम्पनीले सहयोग गरेको छ,' विपीन भन्छन्, 'कर्मचारीले कम्पनीलाई सहयोग गर्नुभएको छ, कम्पनीले पनि गर्छ।'
त्यसो त दुवैतिरका घरबेटीले तीन महिनाको भाडामा आधा छुट दिएका थिए।
'धेरथोर व्यापार भएको भए छुटको अर्थ हुन्थ्यो। कति महिना बन्द गर्नुपर्ने हो अनुमान नभएपछि काम लागेन,' उनी शाखा बन्द गर्नुको कारण सुनाउँछन्, 'व्यवसायीले व्यापार पूर्ण बन्द गर्ने अवस्था आउनु भयावह स्थिति हो। सकेसम्म यो परिस्थिति नआओस्।'
विपीन कोरोना कहर झेल्ने प्रतिनिधि मात्रै हुन्। उनीजस्ता साना, मझौला उद्योगी-व्यवसायी थुप्रै छन्। भाडा तिरेर घरबेटी पाल्ने, ब्याज तिरेर बैंक पाल्ने, कर तिरेर राज्य पाल्ने, रोजगारी सिर्जना गरेर जनता पाल्ने उद्योगी-व्यवसायी पलायन हुनु भनेको बाह्रैमास फल दिने रूख ढल्नु भएको उनको भनाइ छ।
'व्यवसायी बाँचे भने कोरोनापछि पनि हाम्रो अर्थतन्त्र सजिलै उठ्न सक्छ,' उनी भन्छन्, 'लकडाउनमै कर तिर्न उर्दी दिने सरकारसँग ठूलो आस त छैन, तै पनि छुट सहुलियत दिन अनुरोध छ। हामी सकेसम्म उठ्ने प्रयास गर्छौं नै।'