धेरै मान्छेको ध्यान कोरोना महामारी साम्य पार्ने खोप कहिले बन्ला भन्नेमा खिचिएको छ। कोरोनाभन्दा अझै भयानक रोग तथा समस्या समाधान गर्ने अरू खोप भने यो बेला प्रभावित भएका छन्- मुख्यगरी केटाकेटीलाई लगाइने खोप।
कोरोनाका कारण संसारभर बालबच्चालाई लगाइने खोप छुटेका छन्। तत्कालै व्यवस्थापन नहुने हो भने धेरै केटाकेटीले ज्यान गुमाउने आकलन छ। युनिसेफद्वारा जारी विज्ञप्तिअनुसार आगामी छ महिनासम्म पनि नियमित खोप व्यवस्थापन नहुने हो भने दक्षिण एसियामा मात्र प्रतिदिन २४०० केटाकेटीको मृत्यु हुनेछ। नेपाल लगायत ३७ विपन्न देशका ११ करोड ७० लाख बालबालिकाले दादुरा, रूबेलाविरूद्धको र अन्य केही खोप लगाउन छुटेकाले युनिसेफले डरलाग्दो संकेत गरेको हो।
खोप छुटाएकै कारण नेपालमा मात्र हरेक महिना ६७० केटाकेटीको ज्यान जानसक्ने अनुमान युनिसेफको छ।
लकडाउनको पहिलो महिना नेपालका अधिकांश खोप केन्द्रमा सेवा प्रभावित भएको स्वास्थ्य विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले पनि पुष्टि गरेको छ। सामान्य अवस्थामा पनि क्षयरोगविरूद्ध लगाइने बिसिजी खोप ९५ प्रतिशत बालबच्चाको मात्र पहुँचमा छ। पछिल्ला दुई महिनामा ५० प्रतिशत पनि पुगेन।
'लकडाउनको पहिलो महिना देशभरका ६० प्रतिशत खोप केन्द्र चल्न सकेनन्,' शाखा प्रमुख झलक शर्मा गौतमले सेतोपाटीलाई जानकारी दिए, 'पछि पनि राम्ररी सञ्चालन नभएकाले साविकको तुलनामा खोप लगाउने आधा भएका छन्।'
बाल स्वास्थ्य तथा खोप शाखाको तथ्यांक अनुसार देशभर जन्मनेबित्तिकै दिइने बिसिजी खोप फागुनमा ३५ हजार ३ सय शिशुलाई दिइएको थियो। तर चैतमा १३ हजार १ सयलाई मात्रै दिइयो। वैशाखमा भने अलि बढेको छ।
'बिसिजी खोप जन्मनेबित्तिकै दिनु सबभन्दा राम्रो हो,' गौतमले भने, 'एक महिनापछि पनि दिन सकिन्छ। तर त्यो पनि ढिला भइसक्यो। खोप जति समयमा लगाउन सकियो, उति प्रभावकारी हुन्छ।'
बिसिजी मात्र होइन, दादुरा, रूबेलाविरूद्ध, डिपिटी लगायत अन्य खोप पनि फागुनको तुलनामा चैत र वैशाखमा आधाभन्दा कम भएको छ।
शाखाका अनुसार देशभर प्रतिवर्ष ६ लाख ३० हजार (जन्मिएदेखि १५ महिनासम्मका) केटाकेटीलाई १२ प्रकारका खोप लगाइन्छ। स्वास्थ्य स्वयंसेविका, मातृशिशु कार्यकर्ता र ग्रामीण स्वास्थ्य कार्यकर्ता यो काममा खटिन्छन्।
लकडाउनको मारमा खोप परेसँगै केटाकेटीको स्वास्थ्य पनि जोखिममा पर्ने देखिएको छ। दुर्गमका केटाकेटीमा पोषण अपुगको अवस्था छँदैछ, रोगप्रतिरोधी खोप अभाव हुँदा शिशु मृत्युदर बढ्ने युनिसेफले बताएको छ।
बाल स्वास्थ्य तथा खोप शाखाले पनि यो संकेत गरेको छ।
'कोरोना र लकडाउनका कारण खोप केन्द्र सञ्चालनमा ल्याउन कठिनाइ भयो,' गौतम कारण प्रष्ट्याउँदै भन्छन्, 'अघिल्लो महिना छुटेका खोप पछिल्लो महिनामा लगाउन त सकिन्छ, तर अझै लम्बिएको लकडाउनले समस्या पारिरहेको छ।'
वैशाख १० गतेपछि भने ९० प्रतिशत खोप सेवा केन्द्र सञ्चालनमा आएको दाबी गौतमको छ। यसका बाबजुद महिनाभर ३६ प्रतिशत शिशुमा मात्र बिसिजी खोप पुगेको तथ्यांक छ।
बयालपाटा अस्पताल, अछामका स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचन खोप केन्द्र खुले पनि त्यहाँसम्म शिशु आउने अवस्था नरहेको बताउँछन्।
'यहाँ खोप केन्द्र प्रायः सञ्चालनमा छन्। तर सञ्चालन हुँदैमा खोप लगाउन आउँछन् भन्ने छैन,' अछामको उदाहरण दिँदै उनी भन्छन्, 'एक त कोरोनाका कारण बन्द भएको सेवा सञ्चालनमा आउला भनेर सेवाग्राहीलाई थाहा छैन। अर्को, पश्चिम क्षेत्रमा कोरोना व्यापक भइरहेकाले मान्छे बाहिरतिर निस्केका छैनन्। बालबच्चालाई खोप लगाउन लैजाने-नलैजाने दुबिधा व्याप्त छ।'
उनका अनुसार ग्रामीण भेगका खोप केन्द्र भनेका स्कुल, चौतारी वा रूखका छहारी हुन्। कतैकतैमात्र स्वास्थ्य–उपस्वास्थ्य चौकी र स्वास्थ्य इकाइ छन्। चिसो बाकसमा राखिएको खोप एकपटक बाहिर निकालेपछि फेरि राख्न सम्भव हुँदैन। खपत गर्नैपर्छ।
डा. गौचन थप्छन्, 'एकातिर बच्चाले खोप नपाउने, अर्कोतिर औषधि खेर जाने सम्भावना छ। त्यसले सन्तुलन बिगार्छ र पछिसम्म समस्या निम्त्याउने खतरा छ।'
यो समस्या ग्रामीण भेगमा मात्र भने होइन। सहरी भेगमा वडा-वडामा स्वास्थ्य केन्द्र भए पनि धेरै जान सकेका छैनन्। कतिलाई खुला छ भन्ने थाहा छैन, कति कोरोनाका कारण तर्सेका छन् त कति हिँडेर पुग्ने अवस्था नहोला।
खोप छुटाउँदा तत्काल केही असर नदेखिएला। यसको दीर्घकालीन प्रभाव भने भयानक हुने डा. गौचन बताउँछन्।
पहिलो, सबै केटाकेटीको पहुँचमा खोप पुर्याउने लक्ष्य पूरा हुँदैन। विभिन्न रोग उन्मूलन गर्ने रणनीतिक उद्देश्यमा धक्का लाग्छ।
'सुदूर पश्चिमका अधिकांश जिल्लाका बालबालिकामा भोकमरी समस्या यथावत् छ,' डा. गौचन भन्छन्, 'एकातिर भोकमरी र कुपोषण, अर्कातिर कोरोना महामारी, त्यसमाथि खोपको असुविधा हुनु भनेको मृत्युदर बढ्ने नै हो।'
यसले अनेकौं सूचकांक प्रभावित पार्ने निश्चित भएको र अहिलेसम्मको योजना बिगार्ने उनी बताउँछन्। अहिले सरकारले निःशुल्क १२ थरी खोप उपलब्ध गराएको छ। यो मात्रा नपुगेको अवस्थामा केटाकेटीमा रोग लाग्ने सक्ने सम्भावना बढ्ने उनको भनाइ छ।
'आज खोपको मात्रा नपुर्याउँदा १० वर्षपछि हुनसक्ने जोखिम विचार गर्नुपर्छ। आगामी एक पुस्ता कुनै न कुनै रोगको जोखिममा रहन्छन्,' उनी भविष्यमा पर्नसक्ने असरतिर संकेत गर्छन्।
सुदूर पश्चिमका विभिन्न भेगमा अहिले नै दादुरा प्रकोप देखिन थालिसकेको उनी बताउँछन्। खोपबाट बालबालिका विमुख भए भने अर्को भयावह स्थिति पैदा हुने उनको अड्कल छ।
'फेरि शून्यबाट सुरू गर्नुपर्ने हुन्छ, जुन गाह्रो छ। भोलिका लागि बनाइने योजनामा अप्ठ्यारो हुन्छ। त्यसकारण अहिले नै कसरी अघि बढ्ने विचार पुर्याउनुपर्छ,' उनले भने।
युनिसेफले पनि कोरोना संकट समयमा सुत्केरी, बाल स्वास्थ्य तथा पोषण सेवा उपलब्धता सुनिश्चित गर्नमा ध्यान पुर्याउन आग्रह गरेको छ।
'भाइरसका कारण होइन, नियमित स्वास्थ्य सेवा अवरुद्ध भएर बालबालिकाको मृत्यु हुने अवस्था अत्यन्तै पीडादायक र भयावह हुनेछ,' युनिसेफ दक्षिण एसियाका क्षेत्रीय स्वास्थ्य सल्लाहकार डा. पल रटरले भनेका छन्।
बाल स्वास्थ्य तथा खोप शाखाले खोप लगाउन आवश्यक सबै बालबच्चालाई नजिकैका स्वास्थ्य केन्द्र लैजान आग्रह गरेको छ।