रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमित शिक्षकलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ।
बिरामीका कुरूवा बसेका ती शिक्षकका सालासँग अस्पताल प्रशासनले बिहीबार बिहान उनलाई भेन्टिलेटरबाट बाहिर निकाल्न अनुमति मागेको हो।
बिहान पौने सात बजेतिर डाक्टरहरूले आफूलाई बोलाएर के गरौं भनेर सोधेको उनले बताए।
‘चिकित्सकले मलाई बोलाएर भेन्टिलेटरमा कुनै सूचक देखिँदैन, निकालौं कि के गरौं भनेर सोध्नुभयो, मैले निकाल्न अनुमति दिएर आएको हुँ,’ उनले भने।
अस्पतालले औपचारिकता पुरा गरेर मृत घोषणा गर्ने तयारी गरिरहेको हुन सक्ने उनले बताए।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर उमाशंकर चौधरीले ती संक्रमितको बिहान ७.१० बजे मृत घोषणा गरिएको बताएका छन्। अस्पताल प्रशासनले भने अहिलेसम्म उनको मृत्युबारे औपचारिक जानकारी दिएको छैन।
कुरूवा बसेका संक्रमितका सालाले बुधबार नै उनको नाडी नरहेको डाक्टरले भनेको बताएका थिए।
‘मृत्यु भएको भन्ने खबर आएपछि बुधबार दिउँसो उहाँहरूले मलाई आइसियूमा हेर्न लानुभएको थियो। डाक्टरहरूले बिरामीको नाडी छैन तै पनि हामी उपचार गरिरहेका छौं भन्नुभयो,’ उनले बुधबार दिउँसो सेतोपाटीसँग कुरा गर्दै भनेका थिए,‘डाक्टरहरूले इन्जेक्सन दिइरहेका छौं भन्नुभयो तर मलाई विश्वास लागेन।’
उनका अनुसार जेठ १ गते अस्पतालले बिरामीको ढाडबाट पानी निकालेको थियो।
‘त्यो दिन बिहानसम्म उहाँले बिस्कुट र चिया खानुभएको थियो, कुरा पनि गर्नुहुन्थ्यो। डाक्टरहरूले के परीक्षण गर्न ढाडबाट पानी निकालेको हो हामीलाई भन्नुभएन,’ उनले भने,‘हामीले त बिल तिर्दामात्र थाहा पायौं। त्यही दिनदेखि उहाँलाई भेन्टिलेटरमा राख्नु परेको हो।’
भेन्टिलेटरमा राखिएका ४१ वर्षीय ती बिरामीलाई जेठ ५ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।
‘कोरोना पुष्टि भएपछि हामीले उहाँलाई भेट्न पाएनौं। मृत्युको खबर आएपछि डाक्टरहरूले मलाई देखाउन लैजाँदा पनि आइसियुमा जाने मुख्य बाटो बन्द थियौ। ह्विलचियर गुडाउने बाटोबाट गयौं,’ उनले भने,‘आइसियूमा एसी हुन्छ। तर म त्यहाँ पुग्दा कोठाको झ्याल खुल्लै थियो। सोफा पनि छड्के पारिएको थियो। मलाई लाग्छ-भिनाजुले उपचार नै पाउनु भएन।’
बुधबार बिहान प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले ती बिरामीको मृत्यु भएको सूचना सेतोपाटीलाई दिएका थिए। मन्त्री बरालको सोही सूचनाका आधारमा सेतोपाटीले उनको मृत्युको समाचार लेखेको थियो।