बाँकेको नरैनापुर गाउँपालिका-५ नयाँ बस्तीका २५ वर्षीय युवक गत वैशाख ३० गते नेपाल छिरेका थिए।
सयौं किलोमिटर टाढाको मुम्बईबाट अनेकौं हण्डरठक्कर खाएर मातृभूमि आएका उनी घर जान पाएनन्। पाऊन् पनि कसरी! उनी काम गर्न गएको भारतमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। आएकै दिन उनलाई गाउँकै क्वारेन्टिनमा लगियो।
उनी क्वारेन्टिनमा गए। दीपेन्द्र प्रावि भगवानपुरको क्वारेन्टिनमा उनीजस्तै अरू ३८ जना पनि बसेका थिए।
ती युवकमा शनिबारसम्म कोरोनाभाइरसको कुनै लक्षण देखिएको थिएन। उनी सामान्य हिसाबले नै बसिरहेका थिए।
शनिबार मध्यरातमा भने उनलाई ज्वरो आयो। झाडा-बान्ताले ओठमुख सुके।
गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार राति तीन बजेदेखि उनलाई समस्या बल्झिन थालेको हो।
क्वारेन्टिनभित्र युवक छटपटाएपछि अस्पताल लैजान एम्बुलेन्स पनि बोलाइयो। तर बाटो कुर्दाकुर्दै एम्बुलेन्स आएन। साढे ६ बजेतिर ती युवकले अन्तिम सास फेरे।
उनको मृत्युको केही मिनेटपछिमात्र क्वारेन्टिन बनाइएको विद्यालयको गेटमा साइरनजडित एम्बुलेन्स आइपुग्यो।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले ती युवालाई बिहान ३ बजेदेखि नै झाडापखाला र बान्ता सुरू भएको जानकारी दिए।
बिहान ६:४० तिर उनलाई राखिएको क्वारेन्टिनमा एम्बुलेन्स पुग्नुपूर्व नै मृत्यु भइसकेको भन्ने खबर आफूले पाएको डाक्टर थापाले बताए।
मृत्यु भइसकेको हुँदा एम्बुलेन्स मृतकको शव नलगेरै फर्कियो।
शनिबार संकलन गरिएको उनको स्वाबको रिपोर्ट नआएकाले शव दिउँसो अबेरसम्म क्वारिन्टनमै रह्यो।
कोरोनाका कारण मृत्यु भएकाको पोष्टमार्टम पनि गरिँदैन। त्यसैले ती युवाको मृत्युको हृदयघात वा अन्य के कारण भयो? भन्ने स्पष्ट छैन।
नरैनापुर गाउँपालिका-५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले लगाउने पिपिई नभएको हुँदा एम्बुलेन्स चालकले आउन नमानेको जानकारी दिए।
गाउँपालिकाको एउटा र वडा नम्बर ६ को गरी दुइटा एम्बुलेन्स छन्। वडा नम्बर-६ को एम्बुलेन्स बढीमा २ किलोमिटरको दूरीमा र गाउँपालिकाको एम्बुलेन्स बढीमा ३ किलोमिटरको दूरीमा थिए।
‘मृत्यु भएका युवालाई झाडा-बान्ता भएको खबर गर्दा पनि लगाउने पिपिई नभएको भन्दै चालक आउनै मानेनछन्,’ वडाध्यक्ष मौर्यले भने ‘मलाई पनि मृत्यु भएको खबर बिहान ८ बजेतिर मात्रै दिइएको हो।’
वडाध्यक्ष मौर्यका अनुसार बिरामी छटपटाएर पानी र औषधी माग्दा समेत क्वारेन्टिनमा राति पानी दिने मान्छे कोही थिएन।
‘उहाँले पानी र औषधी भनेर कराउँदा दिने मान्छे कोही थिएनन् भन्ने जानकारी मैले पाएको छु,’ मौर्यले थपे ‘यहाँ अत्यन्तै लापरवाही छ, गाउँपालिकाका प्रमुख इस्तियाक अहमद साहले आफ्ना मान्छेमात्रै राखेर गोप्य तरिकाले क्वारेन्टिन व्यवस्थापन गर्दै आउनुभएको छ।’
उनले आफूलाई समेत हालसम्म क्वारेन्टिन भित्र नगएको तथा सबै खालको व्यवस्थापनको जिम्मा गाउँपालिकाको अध्यक्षले एक्लै गर्दै आएको बताए।
‘लगाउने पिपिई छैन तपाईंभित्र जान पाउनु हुन्न भन्छन्, त्यसैले म भित्र गएर हेर्न पाएको छैन,’ वडाध्यक्ष मौर्यले भने।
समयमै अस्पताल लगेर उपचार गरेको भए ती युवक बाँच्न सक्ने उनको भनाइ छ।
गाउँपालिकाका अध्यक्षले आफूहरूसँग कुनै सरसल्लाह र छलफल नगर्ने वडाध्यक्ष मौर्यको गुनासो छ।
शव गाड्ने जिम्मा दुई जनालाई
कोरानो भाइरसबाट मृत्यु भएका २५ वर्षीय युवालाई गाडिने भएको छ। त्यसको लागि दुई जनालाई जिम्मा लगाइको छ। शव गाड्ने व्यक्ति पनि १४ दिन सम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने सल्लाह भएको वडाध्यक्ष मौर्यले जानकारी दिए।
गाउँमै शव गाड्ने तयारी भइरहेको छ।
‘मुस्लिम समुदायको युवा भएको हुँदा गाउँकै कब्रिस्तानमा लगेर शव गाड्ने तयारी गरिएको छ,’ अध्यक्ष मौर्यले भने।