बर्दिया जिल्लाकी पहिलो कोरोना संक्रमित ११ वर्षीया बालिकालाई मंगलबार बेलुका बाँकेतर्फ ल्याइएको छ।
बर्दियामा कोरोना विशेष अस्पताल नभएको हुँदा ती बालिकालाई बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सेतोपाटीलाई बताए।
‘हामीले करिव पौने ६ बजेतिर संक्रमित बालिकालाई बाँकेको कोरोना विशेष अस्पतालका लागि राजापुरवाट पठाएका छौं,’ प्रजिअ लामिछानेले भने।’
बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा जम्मा २५ आइसोलेसन बेड छन्। यसअघि नै त्यहाँ २४ जना संक्रमितलाई राखिएको छ। बर्दियाकी बालिका लगिएपछि सबै बेड भरिने छ।
संक्रमित बालिका गत चैत ५ गते हजुरआमासँगै हजुरआमाको माइती घर कैलालीको धनगढी उपहानगरपालिका मझगाउँमा झन्डै महिना दिन बसेकी थिइन।
वैशाख १६ गते मात्रै उनीहरु बर्दियास्थित आफ्नो घर फर्किएका हुन्। तर उनीहरुलाई घरमा जान नदिएर सोझै राजापुरस्थित किसान माविको क्वारेन्टिनमा लगेर राखिएको थियो। ३ दिन अगाडि स्वाब संकलन गरिएकोमा हजुरआमाको रिपोर्ट नेगेटिभ आएपनि उनकी ११ बर्षीया नातिनीको रिपोर्ट भने सोमबार पोजिटिभ आएको थियो।
प्रजिअ लामिछानेले १६ गते बर्दिया फर्किँदा उनीहरु एउटा अटो रिक्सा चढेर आएको जानकारी दिए। अटोसम्म बालिकाकी आमा लिन गएको तथा त्यो अटोमा थप अरु दुईजना महिला पनि रहेको भन्ने खुलेको हुँदा ती सबैको पिसिआर परीक्षण गर्न लागिएको प्रजिअ लामिछानेले बताए।
ती महिलाको घर लगायत कैलालीकै भजनीस्थित हजुरआमा र नातिनी बसेको घर समेत सिल गरिएको प्रअिज रिजालले बताए। ‘नतिजा नआएसम्म उनीहरु सबैका घर सिल गरिएको छ, उनीहरुलाई आफ्नो प्राङ्गढ भन्दा बाहिर ननिस्कने गरी सिल गरेका छौं।’
ती बालिका बसेको किसान माविको क्वारेन्टिनमा ३६ जना सँगै थिए। तीन जना पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्काइएका थिए भने थप ३३ जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो। यद्यपी उनीहरु बसेको घरपनि सिल गरिएको छ।
पिसिआर रिपोर्ट नआउँदासम्म उनीहरु सबैको घर सिल गरिएको हो। सबैको सहमतिमा राजापुर पूर्णरुपमा लकडाउन गर्ने निर्णय भएको प्रजिअ लामिछानेले बताए।
पुरै राजापुर नगरपालिकाबासीलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन हाई अलर्टमा राखिएको लामिछानेले जानकारी दिए।