पछिल्लो समय कोरोनाको ‘हटस्पट’ बनेको नेपालगञ्जमा मंगलबार २ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी दुई हजार ५ सय ५६ जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता शिवबहादुर सिंहले सेतोपाटीलाई जानकारी दिए।
डिएसपी सिंहले लकडाउन सुरू भएदेखि नै नेपाली सेना प्रयोग हुँदै आएको भए पनि मंगलबारदेखि त्यसमा दोब्बरले वृद्धि भएको बताए।
‘यसअघि ४० जना जति सेना परिचालन गरिएकोमा मंगलबारदेखि एक कम्पनी अर्थात् एक सय २० को टोली परिचालन गरिएको छ,’ सिंहले भने।
त्यस्तै, लकडाउन तथा निषेधज्ञा पूर्ण रूपमा कार्यान्वयन गराउन बाँकेमा एक हजार एक सय जना सशस्त्र प्रहरी परिचालन हुँदै आएको सिंहले बताए।
नेपाल प्रहरीको संख्या यसअघि एक हजार एक सय ३६ जना परिचालन गरिएकोमा मंगलबारदेखि त्यसमा थप दुई सयको संख्या थपिएको उनले बताए।
कतिपय क्षेत्रलाई सिल गरेर टोलवासीको स्वाब संकलन गर्ने काम भइरहेको हुँदा सुरक्षाकर्मीको संख्या थप्नु परेको उनले तर्क गरे।
आशंका गरिएका कसैलाई खोज्न, खोजेर ल्याउन तथा संक्रमितलाई आइसोलेनस अस्पतालमा लैजान समेत सुरक्षाकर्मीको आवश्यकता पर्ने उनले बताए ।
मंगलबार फेला परेका सात जना कोरोना संक्रमितलाई खजुरास्थित आइसोलेसन केन्द्रमा लगिएको सिंहले जानकारी दिए।
शुक्रवारयता मात्रै नेपालगन्जमा २३ जना संक्रमित फेला परेपछि चेकजाँचमा निकै कडाइ गरिएको छ।
डिएसपी सिंहले एम्बुलेन्स, स्वास्थ्यकर्मी, विद्युत, इन्टरनेट र प्रेसबाहेक अरू कसैलाई हिँड्डुल गर्न र सवारी चलाउन प्रतिबन्ध लगाइएको जानकारी दिए।
मंगलबार बिहानमात्रै नेपालगन्जको त्रिभुवन मोडभित्रको पुरानो सिनेमा हल नजिकै प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको थियो। व्यापारीले त्यस क्रममा प्रहरीको एउटा भ्यान समेत तोडफोड गरिदिएका थिए ।
नेपालगन्जमा बिहान ११ बजेदेखि स्थानीय प्रशासनले २५ गते मध्यराति सम्म निषेधित क्षेत्र घोषणा गरेको छ।