आइतबार साँझदेखि संचालन भएको भैरहवास्थित कोरोना प्रयोगशालामा परीक्षणका लागि २८ वटा नमुना आएका छन्।
नेपालगञ्जबाट २६ र लुम्बिनी प्रादेशिक अस्पतालबाट दुई वटा नमुना परीक्षणको लागि लगिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिए।
प्रयोगशाला संचालनमा आएपनि प्राविधिक जनशक्ति अभावका कारण क्षमताअनुसार परीक्षण गर्न नसकिएको उनले बताए। डा. गिरीका अनुसार उक्त प्रयोगशालाबाट प्रति घण्टा एउटा नमुना परीक्षण गर्न सकिन्छ।
‘एकातर्फ नयाँ ठाउँ, त्यसैमाथि दुई जना प्राविधिक कर्मचारीले मात्रै काम गर्नुपरेको छ, प्रयोगशालाको क्षमता अनुसार परीक्षण हुन जनशक्ति व्यवस्थापन हुनुपर्छ’ उनले सेतोपाटीसँग भने।
सोमबार साँझसम्म १० देखि १२ जनाको कोरोना परीक्षण गर्न सकिने उनले बताए। अहिलेसम्म संकलित नमुना परीक्षणका लागि मात्रै तीन दिन लाग्ने उनको भनाइ छ।
बाहिरबाट फर्किएका, कोरोनाको संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका वा मिल्दोजुल्दो लक्षण देखापरे परीक्षणका लागि नमुना पठाउन आग्रह गरिएको छ।
प्रदेश ५ का भैरहवा, नेपालगञ्ज र दाङ गरी तीन स्थानमा कोरोना परीक्षणको लागि प्रयोगशाला निर्माण गर्ने बताइए पनि हाल भैरहवामा मात्र संचालन भएको छ।
भैरहवामा संचालन भएको प्रयोगशालामा संघीय सरकारको सहयोग छ। नेपालगञ्ज र दाङका लागि प्रदेश सरकारको सहयोगमा प्रयोगशाला संचालन हुनेछ।