सुदूरपश्चिममा कोरोना संक्रमणको खतरा पछिल्ला दिनमा बढेको छ। केही सातायता भारत गएका हजारौं नेपाली घर फर्किएको अनुमान गरिएको छ। भारतमा कोरोना संक्रमण नेपालभन्दा धेरै भएकाले घर फर्किएका कतिपय नेपालीलाई पनि संक्रमण भएको आशंका छ।
शनिबार मात्रै भारतबाट फर्किएका दुई जनालाई संक्रमण पुष्टि भएको छ। यसअघि नै संक्रमण पुष्टि भएका धनगढीका युवाकी भाउजूलाई पनि शनिबार कोरोना पोजेटिभ देखिएको छ। नेपालभित्रै एकबाट अर्कोलाई सरेको यो पहिलो घटना हो। यो सँगै स्थानीयस्तरमै कोरोना संक्रमणको खतरा पनि बढेको छ।
कोरोना विरूद्धको हाम्रो लडाइँमा स्वास्थ्यकर्मी अग्रपंक्तिमा छन्। हामीले सुदूरपश्चिमका विभिन्न जिल्लामा काम गर्ने ११ जना डाक्टर र स्वास्थ्यकर्मीहरूलाई त्यहाँको स्थितिका बारेमा सोधेका छौं।
कोरोनाविरूद्ध डटेर काम गरिरहेका स्वास्थ्यकर्मीले आ-आफ्नो जिल्लामा स्रोत र साधनले भ्याएसम्म काम गरेको मात्र बताएनन्, कोरोनाविरूद्ध लड्न सुरक्षा सामग्रीको चरम अभाव र त्यसमाथि सरकारले दिएको लाइसेन्स खारेजीको चेतावनीप्रति तीव्र रोष व्यक्त गरे। उनीहरूसँग कुराकानीको सम्पादित अंश:
साधन स्रोत दिन नसकेको सरकारले कारबाहीको धम्कीमात्र दिएर हुन्न
- जगदीशचन्द्र विष्ट (अस्पताल निर्देशक, डडेल्धुरा)
अहिलेसम्म हामीले शंकास्पद व्यक्तिहरूको स्वाब निकाल्ने र जाँच्न पठाउने गरेका छौं। क्वारेन्टाइन र आइसोलेसन बेड बनाएका छौं। जिल्ला अस्पतालमा ३ वटा 'ग' वर्गको एम्बुलेन्स छन्। कोरोनाको संक्रमण भएको शंका भएका व्यक्तिलाई ल्याउने लैजाने कामसम्म यसले गर्छ। तर सिकिस्त बिरामी ओसार्न भने सकेको छैन। हामीले विशेष खालका थप एम्बुलेन्स खोजी गरिरहेका छौं।
जिल्ला अस्पतालमा १४ र जोगबुढा अस्पतालमा २ गरी जिल्लामा १६ डाक्टर छौं। यही मध्येबाट अरू बिरामी र कोरोनाका बिरामी पनि जाँच्ने हो। अहिले अस्पतालमा फिवर क्लिनिक छ। त्यो भनेको ज्वरो आएका व्यक्तिलाई जाँच्ने ठाउँ हो। ज्वरो जाँच्दा कोरोनाको शंका लागे त्यहाँबाट अर्को ठाँउमा पठाउँछौं। हामीले कोरोना जाँच्न भनेर अहिलेलाई डाक्टरहरूको दुइटा टिम बनाएका छौं।
अहिलेको सबभन्दा ठूलो समस्या भनेकै पालिकास्तरका स्वास्थ्यकर्मी र जिल्ला अस्पतालबीचको समन्वय अभाव हो, पालिकाले के-के गरिराख्नुभएको छ हामीलाई थाहा छैन। विदेशबाट धेरै मानिस आएका छन्, तिनलाई क्वारेन्टाइनमा राख्ने काम नगर र गाउँपालिकाको हो। त्यो एकदम फितलो भएको छ।
भोलि समस्या आयो भने पहिलो स्क्रिनिङ गर्ने र आइसोलेसन पठाउने कि क्वारेन्टाइन भन्ने कुरा पालिकस्तरका स्वास्थ्यकर्मीले गर्ने हो। आइसोलेसन पठाउनुपरे हामीलाई उनीहरूले सम्पर्क गर्नुपर्छ। त्यो भएको छैन।
अहिलेसम्मको तयारी यही हो। भोलि केस बढ्यो भने के गर्ने भन्ने योजना बनाउँदै छौं। बिरामी बढे आइसोलेसन पनि बढाउनुपर्छ भन्ने छ। त्यसका लागि हामीले अहिलेनै देखि ठाउँ हेरिरहेका छौं।
अहिलेसम्म बनाएका आइसोलेसन पनि ठ्याक्कै आइसोलेसन भन्न मिल्ने जस्तो त छैन। छुट्टै ट्वाइलेट बाथरूमसहितको कोठालाई खासमा आइसोलेसन भन्ने हो तर त्यो त हामीकहाँ छैन। जे होस् बेडहरू धेरै टाढा, टाढा राखेका छौं। त्यसैलाई आइसोलेसन भनेको हो।
भोलि बिरामी बढे भने जाँच्नको लागि सबभन्दा पहिले डाक्टरलाई पिपिई चाहिने हो। हामीसँग राम्रो पिपिई सेट ११ थियो २ जनाको स्वाब निकाल्दा २ वटा प्रयोग भैसक्यो अब ९ वटा बाँकी छ।
चीनबाट आएको भनिएको जुन सामान थियो, त्यसमा पूरै आइसियुको सेटनै छैन। गाउन /सुज गरेर २० वटा सेटको सामान भने छ। हामीसँग मास्क १५ सय छन्। बिरामीको संख्या बढ्यो भने एक हप्तामै सकिन्छन्।
पिपिई हामी आफैंले सिलाउने पनि गरेका छौं। मोटो प्लाष्टिकको गाउन बनाउने हो। त्यो कति प्रभावकारी हुन्छ थाहा छैन।
गाउँ/गाउँमा २०/२० पिपिई पुगे रे भन्ने सुन्छु। खास पिपिई चाहिने स्वाब निकाल्ने र उपचार गर्ने डाक्टरलाई हो। पालिकास्तरका स्वास्थ्यकर्मीले ज्वरो जाँच्ने र यता रिफर गर्ने हो। त्यसैले धेरै सेट अस्पतालमै चाहिन्छ। यस्तो कुरा बुझाउने कसले हो थाहा छैन।
जहाँसम्म डाक्टरलाई भत्ता दिने भन्ने कुरा छ, मैले समाचारमा पढेको छु। सबै डाक्टरलाई दिने हो कि कोरोनाका बिरामी जाँच्नेलाईमात्र हो, वा कसलाई कति भत्ता दिने हो भन्ने कुराको कार्यविधिसहितको जानकारी हामीलाई आएको छैन। बीमाको कुरा पनि मलाई थाहा छैन।
पिपिईलगायतका सामग्रीको अभाव छ, हाम्रो स्वास्थ्य सेवासम्बन्धी सिस्टम कमजोर छ। त्यो हामी बुझ्छौं, तर यस्तो महामारीको बेलामा डाक्टरलाई सरकारले मोटिभेसन दिन सकेको छैन।
स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने खालको सम्बोधन गर्ला भनेको त बिरामी नजाँचे कारबाही गर्छु भनेर विज्ञप्ति जारी गर्यो। यस्तो अवस्थामा काम गर्नुपर्छ भन्ने सबै स्वास्थ्यकर्मीलाई थाहा हुन्छ, कसैले काम नगरे कारबाही गर्नु एकदमै स्वभाविक पनि हो।
साधन स्रोत दिन नसकेको सरकारले कारबाहीको धम्कीमात्र दिएर हुन्न। अरू देशका सरकारले कसरी स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने सम्बोधन गरिराखेका छन्। हाम्रोमा त त्यस्तो छैन।
जम्मा १० थान पिपिई र १० थान एन-९५ मास्क छन्
- ज्योति पाण्डे (जिल्ला अस्पताल निर्देशक, डोटी)
अस्पतालभित्र हामीले एउटा सिस्टम बनाएका छौं त्यो हो-फिभर क्लिनिक। जोसुकै बिरामी आए पनि सुरूमा हेर्ने फिभर क्लिनिकले हो। त्यसले स्क्रिनिङ (पहिलो जाँच) गर्छ।
देशबाहिरबाट आएको हो/हैन सोध्छ। त्यस्तो बिरामीलाई आवश्यक परेको सामान्य उपचार र औषधि त्यहीँ दिइन्छ। अरू रोग रहेछ भने जाँच्न सम्बन्धित ठाउँमा रिफर गरिन्छ।
अरू नै रोगले आएका रहेछन् भने पनि कोरोनाबारे जानकारी दिने काम क्लिनिकले गर्छ। यदि कोरोनासँग मिल्दोजुल्दो लक्षण भेटिए क्लिनिकमा काम गरेका डाक्टरले मलगायत अरू डाक्टरलाई खबर गर्नुहुन्छ। अनि हामीले त्यस्तो बिरामीको विस्तृत विवरण लिन्छौं।
कोरोनाको लक्षण हो भन्ने शंका भयो भने हामीले स्वाब निकालेर जाँच गर्न प्रादेशिक अस्पताल पठाउँछौं। बिरामीलाई आइसोलेसनमा राख्छौं। अहिले हामीसँग जम्मा १० वटा आइसोलेसन छ।
छुट्टै भवनमा आइसोलेसन छ तर यहाँ एउटामात्र ट्वाइलेट छ। यसअघि २ जना व्यक्ति आइसोलेसनमा हुनुहुन्थ्यो, उहाँहरूलाई ट्वाइलेट प्रयोग गरेपछि आफैं कसरी सफा गर्ने भनेर हामीले भनेका छौं।
अब पनि त्यसै गर्ने हो। हामीसँग छुट्टै कोठा र ट्वाइलेटसहितको आइसोलेसन छैन। एउटै कोठामा दुई/चार वटा बेड राख्नुपर्ने हुन्छ। हामीले चार फिटको दुरीमा बेड राखेका छौं।
यहाँ कोरोनाको लक्षण देखिए जिल्ला अस्पतालकै डाक्टरहरूलाई फोन गर्न सक्नुहुन्छ भनेर हाम्रो नम्बरहरू पनि बाँडेका भने छौं। त्यसबाहेक स्थानीय तहका वडा अध्यक्षहरू समेतसँग हाम्रो बेला/बेला कुरा हुन्छ। भोलि कोरोना संक्रमण देखिइहाल्यो भने उहाँहरूले हामीलाई खबर गर्ने संयन्त्र छ।
शंकास्पदको स्वाब यहाँको ल्याब हेर्ने साथीले निकालिरहनुभएको छ। अरू रोगको जसरी निकाल्थ्यौं त्यही नै हो। कोरोनाको कसरी निकाल्ने भन्ने तालिम नलिए पनि प्रोटोकलहरू भने फलो गर्नुभएको छ।
स्रोत साधनको अभाव त हामीकहाँ हुन्छ नै। स्वास्थ्यकर्मीलाई दिइने पिपिई सेट जम्मा १० वटा छ। यो डिस्पोजेवल सेट हो। एउटा शंकास्पदको स्वाब निकाल्दा लगाएको पिपिई अर्को पटक काम लाग्दैन।
प्रदेशले माथिबाट पठाएका २० थान गाउन छन्। तर गाउनले मात्र पिपिई बन्दैनन्, गगल्स, जुत्ता, पन्जा र मास्क छैनन्। एन-९५ मास्क जम्मा १० वटा छन्। स्वाब निकाल्ने सामान ३/४ वटा होलान् अरू हामीले माग गरेका छौं।
हामी पाँच जना डाक्टर छौं। हामीलाई के लाग्छ भने मानिसहरू खुलेर बाहिर आउन सकिरहेका छैनन्। बाहिरबाट आउनुभएको जिल्लामा धेरै हुनुहुन्छ। उहाँहरू अस्पतालसम्म आउनु भएको छैन। त्यसैले वडा अध्यक्षहरूलाई क्वारेन्टाइनमा राख्न र निगरानी गर्न भनिरहेका छौं।
अहिलेसम्म यस्तै गरेर चलेको छ, तर भोलि कसैगरी संक्रमण बढ्यो भने के होला भन्ने सोचेरै डर लाग्छ। इटलीमा पिपिई लगाएर उपचार गरेका डाक्टरहरूलाई त कोरोना भयो भने हाम्रो के होला?
शक्तिसम्पन्न स्वास्थ्य व्यवस्था भएको देशमा त डाक्टरहरू संक्रमित भइरहेका छन्। उनीहरूको देशका सरकारले उनीहरूलाई कत्रो सम्मान र मोटिभेसन दिएको हुन्छ। हामी त आफ्नो कर्तव्य सम्झेर मात्र मोटिभेटेड हुने हो। अहिले बिदा पनि नभनेर स्वास्थ्यकर्मी सेवामा खटिएका छन्।
हाम्रो सरकारले स्वास्थ्यकर्मीका लागि अरू देशले दिएजस्तो मनोबल दिने काम गरेको मलाई थाहा छैन।
सरकारले दिन्छु भनेको भत्ता कस्तो हो भन्ने पनि हामीलाई थाहा छैन। कोरोना संक्रमणको शंका लागेकालाई उपचार गर्ने स्वास्थ्यकर्मीले पनि पाउने हुन् वा कोरोनाको संक्रमण भएकालाई उपचार गर्नेले मात्र भत्ता पाउने हुन् स्पष्ट छैन। त्यो पछि आउला।
अहिलेको अवस्थमा मनोबल भत्ताले होइन, पिपिईले बढ्छ। पिपिई ल्याउनदेखि अरू कामका लागि सरकारले अहिले जुन स्पीडमा काम गरेको छ त्यसले पुग्छ भन्ने मलाई लाग्दैन।
यस्तो बेला डाक्टरको मनोबल बढाउने गरी अरू सरकारले के गरेको छ थाहा छैन। हामी यहाँ यसरी काम गरिरहेका छौं, उहाँहरूले भने लाइसेन्स खारेजका कुरा गर्नुभएको छ।
त्यसरी स्वास्थ्यकर्मीको मनोबल बढ्दैन घट्छ। हामीलाई सरकारमात्र होइन बिरामी, बिरामीका आफन्त र समाजले पनि कसरी हेर्छ भन्ने हो। भोलि केही भइहाले डाक्टरनै पहिलो निशानामा पर्ने अवस्था छ अहिलेसम्म। यो सुधारिँदै त जाला। यतिखेर सबैले स्वास्थ्यकर्मीलाई ढाडस दिने काम गरे सजिलो हुन्थ्यो।
महाकालीको ‘हब' तोकिएको अस्पतालमा एउटा भेन्टिलेटर, चारवटा आइसियू बेड
- डा. सरोज आचार्य (मेडिकल अफिसर) र नारायण भट्ट (रिकर्डर, महाकाली जोनल अस्पताल, कञ्चनपुर)
महाकाली अस्पताललाई सरकारले कोरोनाको उपचार हुने हब अस्पतालको सूचीमा राखेको छ। अहिलेसम्म हामीले यो अस्पतालमा ११ जनाको स्वाब निकालेर परीक्षणमा पठायौं। १० जनाको नेगेटिभ आयो। १ जनाको परीक्षणको रिजल्ट आउन बाँकी छ। उहाँ होम क्वारेन्टिनमा हुनुहुन्छ।
अस्पतालमा ८ जना मेडिकल अफिसर, ५ जना स्पेसलिस्ट र २४ जना नर्सको दरबन्दी छ। अस्पतालमा भर्खरमात्रै प्रदेश सरकारले दिएको एउटा एम्बुलेन्स छ।
यो एम्बुलेन्सलाई हामीले कोही व्यक्तिमा कोरोना पोजेटिभ देखियो भने उसका लागि प्रयोग गर्नेगरी तयार पारेका छौं। यो एम्बुलेन्सले कुनै पोजेटिभ केसको बिरामी बोकेको अवस्थामा डिस-इन्फेक्सन गर्नेछौं।
ड्राइभर र बिरामीको कन्ट्याक्ट नहुने खालको एम्बुलेन्स भएकाले केही सहज छ। ड्राइभर छन्। भारतबाट आएकाहरूलाई जाँचका लागि ल्याउन अन्य संघसंस्थाका एम्बुलेन्स र सेनाले पनि एउटा गाडी प्रयोग गरिरहेको छ।
महाकाली अस्पतालमा ४१ पिपिई छन्। हामीले स्वाबको नमूना लिने क्रममा पिपिई प्रयोग गरिरहेका छौं। परीक्षण नेगेटिभ आएपछि त्यही पिपिई सेटलाई पुन: प्रयोग गर्ने गरेका छौं। सावधानी अपनाएका छौं। जिल्लाभरिमा ११८ पिपिई छन्।
यो हब अस्पताल तोकिए पनि यहाँ आवश्यक सुविधा छैन। एउटा भेन्टिलेटर छ जुन प्रयोगमै छैन। चार वटा आइसियु बेड छन्, तर ती सञ्चालनमा छैनन्। अस्पतालमा १० वटा आइसोलेसन बेड तयार छ।
अस्पतालमा आइसियु सेटअप पनि नभएको र कन्सल्ट्यान्ट फिजिसियन पनि नभएकाले कुनै कोरोनाका बिरामी भेटिए कसरी उपचार गर्ने भन्ने प्रश्न छ।
आवश्यक जनशक्ति नभएको अस्पताल र आइसियु नभएको अस्पताल कसरी हब अस्पताल भयो? हामी यहाँ बिरामी पोजेटिभ भेटिए सेती अस्पताल पठाउने तयारीमा छौं। त्यहाँ आइसियु सञ्चालनमा छन्।
स्वास्थ्यकर्मीहरूमा भारतबाट आएका तीन जनामा एकसाथ कोरोना पोजेटिभ देखिएपछि अलिकति ‘अब के गर्ने होला’ भन्ने भएको छ।
स्वास्थ्यकर्मीले अलिकति अप्ठ्यारो महशुस गरेकै छन्। पिपिई लगायतका सामग्री पर्याप्त छैन। तर संकटको बेला कोही पनि उपचारबाट पछि हट्ने पक्षमा हुनुहुन्न।
सरकारले बीमा गरेको छ भन्ने सुनेको हो प्रक्रिया लगायतका विषयमा जानकारी छैन।
स्वास्थ्यकर्मीको बिमा गरेको मिडियाबाट सुनेको हो, जानकारी आएको छैन
- मोहनसिंह ठगुन्ना (रिकर्डर, बैतडी जिल्ला अस्पताल)
बैतडी जिल्ला अस्पतालबाट हामीले पछिल्लोपटक गत चैत १२ गते २ जनाको स्वाब टेस्ट गर्यौं। नेगेटिभ आयो। ल्याबका कर्मचारी खटाएका हौं, त्यतिबेला पिपिई थिएन। अहिले केही पिपिई छन्।
जिल्ला अस्पतालमा २ वटा एम्बुलेन्स छन्। दुवैले काम गर्छन्। एम्बुलेन्सका ड्राइभरलाई बिरामीबाट संक्रमण हुन जोगाउनु पर्नेछ। ड्राइभरका लागि सुरक्षा कवच आवश्यक छ।
हामीसँग भएको अर्को उपकरण भनेको ज्वरो जाँच्ने इन्फ्रारेड थर्मोमिटर छ। एक मिटर परैबाट जाँच्ने गरेका छौं। अन्य आवश्यक सामग्री जुटाउने प्रयास भैरहेको भनेर हामीलाई जानकारी छ।
एक जना श्वासप्रश्वासको बिरामी अस्पतालमा आइसोलेसनमा छन्। तर उनको कोरोना जाँच नेगेटिभ आएको छ। सरकारले बीमा गरेको भनेर टिभीबाट सुनेको हो। यहाँ कुनै प्रक्रियाबारे जानकारी छैन।
साथीहरू भन्नुहुन्छ-पिपिई दिए बाँच्ने थियौं
- डा. वसन्त जोशी (मेडिकल अफिसर, बैतडी)
अहिलेसम्म नेपालमा भेटिएका ९ वटा कोरोना पोजेटिभमध्ये ४ वटा अर्थात् झण्डै पचास प्रतिशत केस सुदूरपश्चिममा भेटिएका छन्। त्यसमाथि अझ भारतबाट आएका व्यक्तिहरूमा कोरोना भेटिएपछि सुदूरपश्चिममा जोखिम बढेको छ। भारतबाट आवतजावत धेरै हुने अनौपचारिक नाका पनि छन्।
पछिल्लोपटक भारतको लोलाघाट बजारमा काम गर्ने व्यक्तिको कोरोना परीक्षण पोजेटिभ देखिएको छ। यो भनेको बैतडी र डडेल्धुराका धेरै मान्छे काम गर्न ठाउँ हो। त्यहाँ जान पञ्चेश्वरको अनौपचारिक नाका पनि छ। त्यसैले त्यहाँबाट कोरोना फैलिएको भए समुदायसम्म पुगेको हुनसक्छ।
कोरोना जाँच एकदमै कममात्र भएकाले अहिले ढुक्क हुने अवस्था छैन। अझ अर्को समस्या के हो भने, जति व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको छ। ती व्यक्तिमा हामीले भन्ने गरेको लक्षणहरू सम्पूर्ण रूपमा थिएनन्। त्यस्ता धेरै बिरामी हुनसक्छन्। यसले जोखिम बढाएको छ।
बैतडी अस्पतालमा जम्मा ८ वटा पिपिई सेट छन्। ५ वटा हामीले खोलेर प्रयोग गरेका छौं। तिनीहरूलाई क्लोरिनले सफा गरेर पुन: प्रयोग गरिरहेका छौं। जम्मा ३ वटा सेट खोल्न बाँकी छ।
अर्को जोखिम भनेको हामीले अब कस्ता बिरामी जाँच्ने बेलामा पिपिई लगाउने भन्ने हो।
पिपिई लगाएर बसौं भने आवश्यक संख्यामा छैन। अहिले हामीले पञ्जा र मास्क प्रयोग गर्छौं। कोही व्यक्तिमा लक्षण देखिए बल्ल पिपिई लगाउने भनेका छौं।
अस्पतालमा दुई जना डाक्टर छौं। आइसियु छैन। भेन्टिलेटरको परिकल्पना नै नगरौं। हामीले अहिले कोही लक्षण भएका बिरामी आए बढीमा दिने भनेको अक्सिजनको सपोर्ट हो। यहाँबाट नजिकै रहेको सेती अञ्चल अस्पताल हो। त्यहाँ पुग्न एम्बुलेन्सलाई नै ७ घण्टा लाग्छ। यस्तोमा श्वासप्रश्वासले गम्भीर अवस्थामा कुनै बिरामी आए कसरी बचाउन सकिएला भन्ने लाग्छ।
भएका दुई एम्बुलेन्समा ड्राइभर र बिरामी बस्ने ठाउँ बार्ने मिल्ने खालका छैनन्। बैतडीमा दुई स्थानीय तहलाई प्रदेश सरकारले राम्रा एम्बुलेन्स दिएका छन्। तिनीहरू स्थानीय तहले नै प्रयोग गरिरहेका छन्।
स्वास्थ्यकर्मीहरू विश्वभर जोखिममा छन्। अहिले नै पनि पिपिई पर्याप्त नहुँदा कतिलाई संक्रमण भैसकेको हुनसक्छ। कतिपय करारका कर्मचारीहरूलाई घर आउनु काम गर्नु पर्दैन भनेर परिवारले भनेका छन्।
सरकारमा बस्नेहरूको बोली पनि मृदुभाषी छैन। बीमा गरेको भन्ने सुनिएको छ। बीमा भनेको त मरेपछि पाउने होला। त्यो त मान्छेको मूल्य तोके जस्तो भयो। बरु बीमाभन्दा हामीलाई अहिले पिपिई दिए बाँच्ने त थियौं भनेर साथीहरू भन्नुहुन्छ। बाँचे उपचार गरौंला नि भन्नुहुन्छ। सरकार त हाम्रो अभिभावक हो, उसले त हाम्रो कुरा झनै बुझ्नुपर्छ।
संकटको बेला काम गर्न हामी तयार छौं, पिपिई भने जुटाइदिनुपर्यो
- गजेन्द्र दुवाल (मेडिकल सुपरिडेन्टेन, दार्चुला जिल्ला अस्पताल)
हाम्रो जिल्लामा २ वटा अस्पताल छ। दार्चुला जिल्ला अस्पताल र गोकुलेश्वर अस्पताल। दुवैमा गरेर ६ वटा आइसोलेसन बेड बनाएका छौं। कसैगरी संक्रमण बढ्दै नै गयो भयो कोरोना अस्पताल बनाउँला भन्ने सोचेको छौं। हाम्रो स्रोतले भ्याएसम्मको राम्रै छ।
सरकारले अत्यावश्यक मात्र उपचार गर्नु भनेपछि अहिले हामीले सामान्य बिरामी परे अस्पतालको हटलाइनमा फोन गर्नु भनेका छौं। फोनबाट हामीले बिरामीका कुरा सुन्छौं सामान्य औषधि वा उपचारका उपाय बताइदिन्छौं। सिरियस बिरामीमात्र आउनुहुन्छ।
अहिलेसम्म त कोरोना भेटिएको छैन। बाहिरबाट आएकालाई स्थानीय तहका क्वारेन्टाइनमा राखेको छ। वडास्तरको संयन्त्रले बाहिरबाट आएकाको निगरानीमा राख्नुभएको छ। लक्षण देखिए त्यही संयन्त्रले वडा अध्यक्षलाई खबर गर्छ। उनीहरूले नै हामीसम्म ल्याउँछन्। हाम्रो अस्पतालमा २ वटा राम्रै एम्बुलेन्स छ। एम्बुलेन्स चलाउन ड्राइभरहरू पनि तयार हुनुहुन्छ।
उहाँहरूलाई पिपिईको व्यवस्था गरेका छौं। यहाँ सिडिओले विभिन्न समिति बनाउनुभएको छ। ती समितिहरूले राम्रै काम गरिनै रहेका छन्।
मुख्य कुरा त हामी स्वास्थ्यकर्मीलाई पर्याप्त पिपिईको अभाव छ। ६ जना डाक्टर छौं। दुइटा अस्पतालको जोडजाड गर्यो भने १५ वटा पिपिई सेट पुग्छन्।
सरकारले पठाएको गाउन त हामीसँग ३०/४० वटै छ तर जुत्ता छैन, मास्क छैन। एन-९५ मास्क हामीसँग ५ वटा छ, अर्को अस्पतालमा पनि त्यस्तै हो। हामी आफैंले यहाँ प्लाष्टिकको पिपिई सिलाउन लगाएका छौं त्यो कत्तिको भरपर्दो हुन्छ थाहा छैन। पिपिईनै नहुनुभन्दा त्यही भए पनि हुन्छ भनेर हो। स्वाब कलेक्सन गर्ने सामान भने हामीसँग पर्याप्त छ अहिलेलाई। त्यो ठूलो कुरा भएन।
स्वास्थ्य मन्त्रालयले गरेको स्वास्थ्यकर्मीलाई भत्ताको व्यवस्था त राम्रो कुरा हो। तर हामीलाई बिरामी जाँच्न जाने सबभन्दा ठूलो हतियार भने पिपिई नै हो।
अहिले पिपिई बाहेक स्वास्थ्यकर्मीले ठूलो माग केही पनि गरेका छैनन्। यति कुरा भने सरकारले बुझिदिनुपर्छ। हामीले पनि संकटका बेला सरकारले जसो भन्छ त्यही गरेकै छौं। अहिलेसम्म कुनै पनि डाक्टरले फिल्डमा जान्नँ, उपचार गर्दिनँ भनेको मैले सुनेको छैन। डाक्टरहरूको स्वभावै संकटमा उपचार गर्ने हुन्छ।
उनीहरूलाई फिल्डमा गएर काम गर्ने वातावरण चाहिँ सबैले मिलाउनुपर्छ।
जे भए पनि हाम्रो अभिभावक भनेको त सरकार नै हो। उसले झन् बढी हाम्रो कुरा बुझ्नुपर्छ। ऊसँग हाम्रो आश हुन्छ। स्वास्थ्यकर्मीलाई यसो भन्नु, उसो भन्नु भनेर सिकाउन त हामीलाई अप्ठ्यारो हुन्छ।
हामी फूल स्पीरिटका साथ काम गर्न यहाँ तयार छौं। पिपिईको व्यवस्था गरोस् सरकारले। हामीले यो कुरा आफ्ना लागिमात्र भनेको होइन। हामी प्रभावित हुने हो भने अरू बिरामीलाई कसले हेर्छ? त्यसैले स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बनाइदिउँ अरू केही गर्न नसके मुखले राम्रो बोलौं। गाली नगरौं।
जिल्लाका ७ स्वास्थ्य चौकीलाई दुई-दुई वटा एन-९५ मास्क
- अशोक सिंह (जनस्वास्थ्य निरीक्षक, स्वास्थ्य कार्यालय बाजुरा)
जिल्ला अस्पतालसहित गरेर जिल्लामा जम्मा ६५ वटा स्वास्थ्य संस्थाहरू छन्। हरेक वडामा एउटा स्वास्थ्य इकाइ छ।
हामीलाई जम्मा तीनटा पिपिई आएको थियो। त्यो हामीले मान्छेको बढी आवागमन हुने तीनटा ठाउँका हेल्थ डेस्कका स्वास्थ्यकर्मीलाई दियौं।
उहाँहरूलाई भित्र पिपिई र बाहिरबाट अर्को प्लास्टिकले सिलाएको पिपिई लगाउन भनेका छौं। त्यो भयो भने भित्रको पिपिई बिग्रिन्न। हामीले सय वटा जति प्लास्टिकको पिपिई सिलाएर स्वास्थ्यकर्मीहरूलाई दिएका छौं। बाँकी पिपिई हामीसँग अब छैन। बजारमा पनि पाउँदैन।
एन-९५ मास्क १८ वटा आएको थियो। त्यो हामीले ९ वटा पालिकालाई दुई-दुई वटाको दरले दियौं। अर्को सर्जिकल मास्क ३ हजार जति थियो। त्यो पनि त्यसरी नै वितरण गरेका छौं। त्यसमा प्रहरी, सशस्त्र प्रहरीलाई पनि दिएका छौं।
स्टोरमा अब प्लास्टिकको पिपिई सय वटा जति छ। बाँकी केही छैन। जिल्लाभर साढे तीन सय स्वास्थ्यकर्मी खटिएका छन्। फ्रन्टलाइनमा खटिने सबैलाई चाहिने हो, तर उनीहरूलाई नै पुगेको छैन।
जिल्लाभर जम्मा १४ वटा आइसोलेसन बेड छन्। जसमा १२ वटा जिल्ला अस्पतालमा र दुइटा कोल्टीमा छ।
क्वारेन्टाइन जिल्लाभर २ सय १९ वटा छन्। क्वारेन्टाइनमा १ सय ११ जना छन्। नौ वटै पालिकाहरूमा क्वारेन्टाइन छ। आइसियु र भेन्टिलेटर जिल्लामा छैन। अक्सिजन दिनको लागि ५ वटा सिलिन्डर छ।
एम्बुलेन्स जिल्लामा ४ वटा छन्। चालक पनि तयारी छन्। बिरामी ल्याउनु पर्यो भने चालक र बिरामीलाई नै प्लास्टिकको पिपिई लगाइदिन्छौं। एम्बुलेन्सलाई डिसइन्फेक्ट पनि गर्छौं। एम्बुलेन्स एउटा रेडक्रसको छ।
दुइटा बुढीगंगा नगरपालिका र एउटा स्वामिकार्तिक गाउँपालिकाको हो। आवश्यकता अनुसार यहीँ एम्बुलेन्सहरू परिचालित हुन्छन्।
कसैलाई शंका लागेमा बिरामी वा आफन्तले हरेक वडामा रहेका स्वास्थ्य इन्चार्जलाई सम्पर्क गर्न सक्छन्। हाम्रो हरेक वडामा कम्तीमा एउटा स्वास्थ्य इकाइ छन्।
अस्पताल ल्याउनुपर्यो भने त्यहाँ रहेका स्वास्थ्यकर्मीले जिल्लामा फोन गर्छन् र हामी एम्बुलेन्स पठाएर अस्पताल ल्याउँछौं। हरेक पालिकामा फोकल पर्सन हुनुहुन्छ। उहाँहरूले पनि वडासँग समन्वय गर्नुहुन्छ।
स्वास्थ्यकर्मीको बीमाको कुरा हामीले पनि समाचारमा सुनेका हौं। कुनै औपचारिक जानकारी वा पत्र आएको छैन।
स्वास्थ्यकर्मीहरूको काम गर्ने मनोबल उच्च छ। तर सबैले सुरक्षा कवचको माग गर्नुहुन्छ। ती सामग्रीको अभाव छ, हामीले पनि प्राप्त भएकोलाई व्यवस्थापन गरेकै छौं।
बिरामीले खबर गरे लिन एम्बुलेन्स नै घर जान्छ
- ललित धामी (जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, कैलाली)
३५ वटा पिपिई थियो त्यो हामीले सबै १३ वटा पालिकालाई दिएका छौं। अब बाँकी छैन। १० हजार पञ्जा र २ हजार सर्जिकल मास्क पनि त्यसरी नै वितरण गरेका छौं। तर सबै स्वास्थ्यकर्मीलाई पुर्याउन सकेको छैन।
एन-९५ मास्क छैन जिल्लामा। सेती प्रादेशिक अस्पताल र टिकापुर अस्पताललाई प्रदेश सरकार आफैंले वितरण गर्छ।
जिल्लाभर एक हजार क्षमताको क्वारेन्टाइन छ। ४ सय ४८ जना क्वारेन्टाइनमा बसेका छन्। हरेक पालिकामा क्वारेन्टाइन छ। टिकापुरमा ११ र सेती प्रादेशिक अस्पतालमा ३० बेडको आइसोलेसन कोठा छ।
त्यस्तै, १३ वटै पालिकाहरूमा पनि पाँच-पाँच वटा आइसोलेसन छन्। प्रदेश सरकारले छुट्टै ५० बेडको आइसोलेसन बनाएको छ।
सेती प्रादेशिक अस्पतालमा एउटा भेन्टिलेटरसहित ६ वटा आइसियु बेड छन्। तीनटा निजी अस्पतालमा दुई-दुई वटा भेन्टिलेर र आइसियु छन्। ती अस्पताल निसर्ग, नवजीवन र मायामेटो हुन्।
सरकारले चीनबाट ल्याएको एउटा पिसिआर मेसिनबाट कोरोनाको संक्रमण परीक्षण भैरहेको छ। दिनमा जम्मा १२ वटा जति परीक्षण हुन्छ। अब र्यापिड टेस्टिङ किट पनि प्रयोग गर्ने कुरा भएको छ। त्यसको लागि ८ जनाको टोली बनाएका छौं। केन्द्रबाट आएर तालिम दिएपछि त्यो सुरू हुन्छ।
एम्बुलेन्स ४६ वटा छ जम्मा। चालक पनि सबैमा छन्। त्यसमा दुइटा एम्बुलेन्स कोरोना बिरामीको लागि बनाएका छौं। बिरामी र चालकको सम्पर्क नहुने हिसाबले सिसाले पार्टेसन गरेका छौं। बाँकी एम्बुलेन्सलाई पनि सिसाले पार्टेसन गर्न पत्राचार गरेका छौं।
अहिलेसम्म बिरामी बोक्ने दुइटा एम्बुलेन्सलाई पिपिई दिन सकिएको छ। बाँकीलाई भने पुगेको छैन। एम्बुलेन्सको पनि डिस-इन्फेक्ट गर्ने गरेका छौं। हरेक पालिकामै एम्बुलेन्स छ।
बिरामीले पालिकालाई फोन गर्छ र पालिकाले जिल्लामा सम्पर्क गरेपछि एम्बुलेन्सबाट बिरामीलाई अस्पताल ल्याउने व्यवस्था छ। पालिकामा एम्बुलेन्स भएन भने जिल्लाबाटै पठाउँछौं। हरेक पालिकामा स्वास्थ्य केन्द्र छन्। उहाँहरूले समन्वय गर्नुहुन्छ।
जिल्लाभर तीन वटा सरकारी अस्पताल र १९ वटा निजी अस्पताल छन्। सहरी स्वास्थ्य केन्द्र २२, सामुदायिक स्वास्थ्य इकाइ १६ र प्राथमिक स्वास्थ्य केन्द्र तीनटा छन्।
स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गर्ने निर्णयले राम्रो भएन
- डा. जगदिश जोशी (सेती प्रादेशिक अस्पताल प्रवक्ता)
अहिले अस्पतालसँग सय वटा पिपिई छन्। त्यसले केही दिन पुग्छ। जनशक्तिको अभाव छ। दरबन्दी अनुसारको विशेषज्ञ छैन। २३ जनाको दरबन्दीमा १२ जना विशेषज्ञ छन्।
सबैलाई पिपिई पुर्याउन सकेको छैन। स्वास्थ्यकर्मीहरूले जोखिम नै महशुस गर्नुहुन्छ। त्यसैले बिरामीलाई जाँच्न, काममा आउन हिजकिच मान्नुहुन्छ। मनोबलको कुरा पिपिईसँग जोडिन्छ।
सरकारले काम नगर्ने स्वास्थ्यकर्मीको लाइसेन्स खारेजी गर्ने निर्णय गरेर राम्रो भएन। यस्तो बेलमा मनोबल बढाउने हो। पिपिई आए सबै उच्च मनोबलले काम गर्न तयार देखिन्छन्। मलाई यहीँ कुरा भन्छन्। स्वास्थ्यकर्मीको मनोबल एकदम कमजोर छ।
तीन गाउँपालिकामा जोखिम देखेका छौं
- भानु जोशी (जिल्ला जनस्वास्थ्य प्रमुख, बझाङ)
हामीलाई सबभन्दा बढी गन थर्मोमिटरको आवश्यकता छ। हामीसँग अहिले एउटा मात्रै छ। किनेर ल्याउन खोज्दा पनि पाएका छैनौं। जिल्लामा क्वारेन्टाइन राखिएका ठाउँहरूबाट गन थर्मोमिटरको माग भइरहेको छ, तर दिन सकेका छैनौं। गाउन, मास्क, ग्लोब्स लगायत भने पठाएका छौं। आठवटा एम्बुलेन्स पनि तयारी अवस्थामा छन्।
लकडाउन सदरमुकाममा सफल भए पनि गाउँमा सफल हुन सकिरहेको छैन। त्यसैले अलि निराशा र त्रास छ। हामी सक्दो कोशिस गरिरहेका छौं। पहिले पनि जिल्लामा २८ वटा हेल्पडेस्क राखेर काम गरेको हो। बिरामी लिन जाने गाडीलाई स्यानिटाइज गर्ने भनिएको छ। काठमाडौंबाट आएका पिपिई पनि गाउँमा पठाएका छौं। यहाँ घरेलु तरिकाले बनाइएका पिपिई पनि छन्।
जिल्लाको अर्को समस्या भनेको यहाँ आइसियू र भेन्टिलेटरको व्यवस्था छैन। स्थानीय तहका प्रतिनिधिले आफूले सकेको गरिरहनुभएको छ। उहाँहरूले क्वारेन्टाइनको व्यवस्था पनि गर्नुभएको छ। धेरै व्यवस्थित छैन होला, तर शंकास्पदहरूलाई अलग्गै राख्न सकिने अवस्था छ।
छबिसपाथिभेरा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका र मष्टा गाउँपालिकमा अलि जोखिम देखेका छौं। ती स्थानीय तहमा धेरै समन्वय हुन सकिरहेको छैन। स्वास्थ्यकर्मी पनि आवश्यक्ताअनुसार पुर्याउन सकिएको छैन। त्यहाँ भारतबाट आएकाहरू धेरै छन्। उनीहरू असुरक्षित तरिकाले बसिरहेको सूचना पाएका छौं। त्यसको व्यवस्थापन गर्ने प्रयास जारी छ।
हामीले हरेक ठाउँमा स्वास्थ्यकर्मीहरूको नम्बर पुर्याएका छौं। जिल्ला एफएममार्फत् स्वास्थ्यकर्मीहरूको नम्बर दिएका छौं। कोही पनि व्यक्तिलाई ज्वरो आयो वा कुनै समस्या पर्यो भने उसलाई अलमल हुँदैन भन्ने हाम्रो विश्वास छ।
हामीसँग जिल्ला अस्पतालमा पाँच जना चिकित्सक छन् भने पाँच जना हेल्थ असिस्टेन्टहरूको एउटा रेस्पोन्स टिम बनाएका छौं।
बिरामी बोकेर ल्याएका एम्बुलेन्समा कपडाको पर्दा लगाउने र चालकहरूलाई पिपिईबिना एम्बुलेन्स चलाउन नलगाउने भनिएको छ। सकेसम्म स्थानीय स्तरमै उसको उपचार हुने व्यवस्था मिलाइएको छ। यो समयमा मौसमी रुघाखोकी लाग्ने भएकाले हामीले सिटामोलसमेत पर्याप्त पठाएका छौं।
स्वास्थ्यकर्मीका लगि थुप्रै समस्या छन्। राज्यले दिने भनेको सेवासुविधा कहिले दिन्छ होला, त्यो प्रक्रियाअनुसार हुने कुरा हो। तर संकटमा खटिनु स्वास्थ्यकर्मीको जिम्मेवारी र कर्तव्य हो भनेर बुझाउने कोशिस गरेका छौं। यसका लागि हामीले प्रत्येक दिन स्वास्थ्यकर्मीका समस्या सुन्ने, उनीहरूसँग छलफल गर्ने र त्यहाँको तथ्यांक लिने काम गरिरहेका छौं।
भारतबाट आएका चार हजारभन्दा बढी गाउँ पसेका छन्
- झनक ढुंगाना (जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, अछाम)
जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक स्थानीय तहमा भइरहेको काम संयोजन गर्ने हो। हामीले स्थानीय, प्रदेश र संघीय तहका सरकारबीच समन्वयको काम गरिरहेका छौं।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कमान्ड पोस्ट स्थापना गरिएको छ। त्यहाँबाट सबै स्थानीय तहको सूचना लिएका छौं। केन्द्र र प्रदेशबाट आएका स्वास्थ्य सामग्री आवश्यक्ताका आधारमा समानुपातिक ढंगले वितरण गरेका छौं। १० वटा स्थानीय तहका लागि १२ वटा एम्बुलेन्स तयारी अवस्थामा छन्।
शंकास्पद बिरामी बोकेका एम्बुलेन्स स्यानिटाइज गर्न क्लोरिन व्यवस्था गरेका छौं। सबै स्थानीय तहले आफ्नै तरिकाले पिपिई व्यवस्था गरेका छन्। कुनै स्थानीय तहले ३० वटासम्म क्वारेन्टाइनको व्यवस्था गरेका छन्। थोरै बनाउनेले पनि १० वटासम्म बनाएका छन्। आइसोलेसन वार्ड ३० वटा छन्।
गाउँका मानिसलाई केही समस्या पर्यो भने जानकारी लिन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि सँगै खटिएका छन्। संक्रमणको शंका भएका बिरामी लिएर जाँदा सुरक्षा अपनाउनु चुनौतीपूर्ण काम हो। त्यस्तो बेला मास्क लगाउनेदेखि अरू व्यवस्था गर्नुपर्छ होला। तर हामीसँग स्रोतसाधन छैन।
स्वास्थ्यकर्मीका लागि भत्ता र बिमा दिने भने पनि कार्यविधि तयार भइसकेको छैन। त्यो कसरी आउँछ, त्यसमै भर पर्छ होला।
हामीसँग स्वास्थ्य सामग्री र उपकरणको अभाव छ। पिपिईको अभाव छ। सबै स्वास्थ्यकर्मीलाई पुर्याउन सकेका छैनौं। गम्भीर खालका केस आए भने हामीसँग आइसियू, भेन्टिलेटर र अक्सिजन अभाव हुनसक्छ। स्वाब जम्मा गर्ने सामग्री २४ वटा थिए, जसमा पाँचवटा धनगढी पठाएका छौं। त्यसको रिपोर्ट आउन बाँकी छ। आज मात्रै ३० वटा धनगढीबाट आउँछन् होला।
स्वाब निकाल्न स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ। स्वास्थ्यकर्मीलाई काम नगरेर पनि सुख छैन, तनाव पनि छ। हामीसँग थर्मोमिटरसमेत पर्याप्त छैन। जम्मा सातवटा गन थर्मामिटर छ। तर जे भए पनि काम गर्दिनँ भन्न मिल्दैन।
यो बेलामा स्थानीय तहले सक्रिय भएर काम गरेका छन्। उनीहरूबीच समन्वय छ। कसैले धेरै गरे होलान्, कसैले अलि कम गरे होलान्, तर अहिले आलोचना गर्ने ठाउँ छैन।
यस्तो महामारी सामना गर्न जिल्ला तहमा विशिष्ट खालका अस्पतालको जरुरी छ। सुदूरपश्चिममै १०\१२ वटा भन्दा बढी आइसियू छैन।
अहिलेको सबभन्दा ठूलो चुनौती भनेको, हामीकहाँ भारतबाट चार हजारभन्दा बढी नेपाली आएका छन्। यो दुई सातायताको संख्या हो। हामीले पहिचान पनि गरेका छौं। क्वारेन्टाइनमा राखिएको छ। तर सबैको तथ्यांक स्थानीय तहसँग छैन।
उनीहरू अहिले गाउँगाउँमा छन्। स्थानीय तहले नाम, ठेगानासहित लगत राख्ने प्रयास गरिरहेका छन्। उनीहरूको ज्वरो नाप्ने र निगरानी गर्ने काम भइरहेको छ। यसो गर्दा पनि कतिपय छुट्न सक्छ भन्ने हो।