बुटवलको धागो कारखानामा रहेको अस्थायी कोरोना आइसोलेसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको शव ६ दिन पुग्दा पनि उठेको छैन।
चैत ६ गते दुबईबाट रूपन्देहीको सैनौमैना ४ सिसौडाँडास्थित डेरामा पुगेका उनी ज्वरो बढ्न थालेपछि कोरोना आशंकामा चैत १३ गते अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए।
आइसोलेसनमै उपचार भइरहेका बेला चैत १६ गते उनको मृत्यु भयो।
१६ गते बिहानमात्रै परीक्षणको लागि उनको स्वाब काठमाडौं पठाइएको थियो। अर्को दिन आएको रिपोर्टमा उनलाई कोरोना देखिएन।
स्वाबको रिपोर्ट नआउँदासम्म लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको बाबुरामको शव शुक्रबार पनि मर्चरीमै राखिएको छ।
उनकी श्रीमती रीता थापा क्षेत्रीले कोरोना रिपोर्ट नेगेटिभ आए पनि श्रीमानको मृत्युको कारण छानबिन गर्न र क्षतिपूर्ति माग गर्दै शव नउठाएको बताइन्।
उनले सामान्य ज्वरो र रूघाखोकी लागेकै अवस्थामा भर्ना भएका श्रीमानको मृत्यु कसरी भयो? छानबिन गर्न माग गरेकी छन्।
‘घरबाट जाँदा अलिअलि ज्वरो आउने र रूघाखोकी लागेको थियो, रिपोर्ट पनि कोरोना नभएको आएपछि के कारणले मृत्यु भएको हो त्यो त चाहियो नि,’ उनले सेतोपाटीसँग भनिन्।
उनले आफू र दुई छोरा श्रीमानकै भरमा रहेकोले छोराको पढाइ तथा किरिया खर्चसमेत सरकारले उपलब्ध गराउनु पर्ने माग गरिन्।
‘सरकारी अस्पतालमा भर्ना भएको बिरामी अस्पतालकै लापरबाहीले गर्दा मृत्यु भयो, छोराहरूलाई पढाइदिने र राहतको व्यवस्था नगर्दासम्म शव उठाउँदैनौं,’ उनले भनिन्।
पाल्पाको रिब्दीकोट ५ कुसुमखोला घर भएका बाबुराम र रीता केही वर्षदेखि रूपन्देहीको सैनामैनामा भाडामा बस्दै आएका थिए। आइसोलेसनमा उपचाररत बाबुरामको मृत्यु भएपछि रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी सैनामैना आएर रीतालाई भेटेर फर्किएका थिए।
अध्यक्ष जिसीले भने आफूसँग रीताले त्यस्तो कुनै माग नराखेको बताए।
अहिले देश नै संकटमा परेको बेला उपचारको क्रममा मृत्यु भएका मानिसको शव नउठाएर बार्गेनिङ गर्न खोज्नु गलत भएको उनले बताए।
जिसीले मृतकका परिवार आफ्नै गाउँपालिकाका रहेकोले उनीहरूको व्यवस्थापन गर्ने दायित्व गाउँपालिकाको भएको भन्दै अहिले शव उठाएर दाहसंस्कार गर्न पनि आग्रह गरे।
‘उहाँहरू यही गाउँपालिकाको हुनुहुन्छ, बाबुरामको परिवारमात्र होइन सबै गाउँपालिकाका बासिन्दाको जिम्मेवारी गाउँपालिकाको रहन्छ तर अहिले विभिन्न माग राखेर शव उठाउन नखोजेको हो भने त्यो गलत हो,’ उनले भने।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले पनि बाबुरामको मृत्युपछि परिवारले माग राखेर शव नउठाएको भन्ने आफूले थाहा नपाएको बताए।
‘बाबुरामको मृत्यु भएको भोलिपल्ट बल्ल काठमाडौं पठाएको स्वाबको रिपोर्ट आएको हो त्यतिन्जेललाई लुम्बिनी प्रादेशिक अस्पतालको मर्चरीमा शव राख्न लगाएको हो,’ प्रमुख पन्तले बताए।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष सूर्यबहादुर भट्टराईले शव लिन अहिलेसम्म कोही नआएको र मर्चरीमै राखिएको बताए।
उनले पहिचान भएको र परिवार यहीँ भएकाको शव अस्पतालमा लामो समय राख्दा अरू पहिचान हुन नसकेका तथा अनुसन्धान गर्नु पर्ने अवस्थाका शव राख्न समस्या हुने भएकोले शव बुझाउन प्रशासनले समन्वय गर्नुपर्ने बताए।
सम्बन्धित समाचार:
उनका लागि श्रीमानको ‘अह, अह, अह’ नै अन्तिम बोली बन्यो
बुटवलको आइसोलेसन अस्पतालमा मृत्यु भएका बाबुरामको कोरोना रिपोर्ट नेगेटिभ
न श्रीमानको शव हेर्न पाइन्, न आँशु पुछ्न आए आफन्त